२०७९ फाल्गुन १२, शुक्रबार ०८:३८

मिथिला माध्यमिकी परिक्रमा शुक्रबार (आज) महोत्तरीको जलेश्वर पुग्ने भएको छ ।

यस अघि बिहीबार डोलासहित परिक्रमाका यात्रीहरु मटिहानीमा रात्रि विश्राम गरेका थिए । शुक्रबार परिक्रमा जलेश्वर पुग्ने भएकोले जलेश्वर नगरपालिकाले सूचना जारी गरी एक दिने सार्वजनिक विदा दिएको छ । नगरक्षेत्रमा रहेका विद्यालयलगायतको संस्थामा विदा रहने जनाइएको छ । सो अवसरमा जलेश्वरस्थित जलेश्वरनाथ महादेव मन्दिर परिसरमा विशेष सरसफाइको साथै मन्दिरलाई बेहुली झैं सजाइएको छ । सो अवसरमा परिक्रमा यात्रीहरुको सुविधाका लागि नगर क्षेत्रमा विभिन्न संघ संस्थाहरुले निःशुल्क स्वास्थ्य शिविरलगायतको व्यवस्थापन समेत गरेको छ । धनुषाको ठेरा कचुरी स्थित मिथिलाबिहारी स्थानबाट सोमबारदेखि सुरु भएको परिक्रमा यात्रा हनुमानगर (हनुमानगढी)मा रात्रि विश्राम गर्दै मंगलबार बिहानै कल्याणेश्वरको लागि प्रस्थान गरेको थियो । मंगलबार यात्रीहरुले कल्याणेश्वर स्थान (कलना)मा विश्राम गरेर बुधबार बिहान गिरिजास्थानको लागि प्रस्थान गरेको थियो ।

मिथिलाञ्चलको ऐतिहासिक धार्मिक महत्व बोकेको १५ दिने मिथिला माध्यमिकी परिक्रमा फागुनको औंशीदेखि सुरु भइ पूर्णिमासम्म नेपाल र भारतको गरी १ सय २८ किलोमिटरको दूरी तय गर्दै पुनः जनकपुरधाम पुगेर समापन हुने गरेको छ । अन्य वर्ष झैं यस वर्ष पनि मिथिला बिहारी र किशोरीजीको डोलाको साथ–साथ परम्परागत बाजागाजा, झाँकी किर्तनसहितका मौलिक पहिरनमा हजारौं यात्रीहरु सहभागी छन्। हजारौं श्रद्धालु भक्तजनको भीडले १५ दिनसम्मको एउटा धार्मिक अभियानमा हिंडिरहेको यो १५ दिने परिक्रमाले जनकपुरधामलाई धार्मिक पर्यटनस्थलको रूपमा अलग पहिचान दिएको छ । नेपाल– भारत मुलुकको धार्मिक सांस्कृतिक एवं पारम्परिक सामाजिक तथा सद्भावको प्रतीक बनेको माध्यमिकी परिक्रमा यात्रा नेपालको धनुषा र महोत्तरीमा १३ तथा भारतमा २ गरी १५ विश्रामस्थल रहेको छ ।

Comment


Related News

Latest News

Trending News