अपडेट 
२०७९ फाल्गुन १६, मंगलवार ०७:५२

इसाको सत्रौँ र अठारौँ शताब्दीको उल्लेखनीय घटनाहरुमा दसनामी सन्यासी र वैष्णवीहरु बीचको वर्चस्वको संघर्षपनि हो । दसनामी सन्यासीहरु आदिगुरु शंकराचार्यबाट पुनस्र्थापित वैदिक परम्परा तथा अद्वैत वेदान्तको अनुयायीहरु हुन् । आठौँ शताब्दीमा बौद्ध धर्मका विरुद्ध वैदिक धर्मको पुनरोद्धारक मानिने आदिगुरु शंकराचार्यले शस्त्र र शास्त्र दुबै सहित दक्षिण एसिया (प्राचीन शब्दावलीमा भारतवर्ष)मा धर्म दिग्विजय अभियान चलाएका थिए । यसको निम्ती उनले त्रिशूलधारी नागा सन्यासीको सशस्त्र जत्था तयार गरेका थिए । यसै क्रममा शस्त्रबलमा होस वा स्वेच्छाले शरणागति स्वीकार गर्ने राज्यहरुमा शिवमन्दिर स्थापित गरिएको चर्चा इतिहासमा पाइन्छ । दक्षिण एसियाका अधिकांश शिवमन्दिरहरु यसै कालमा बनेका हुन् ।नागा सन्यासीहरु पछि गएर दसवटा शाखामा विभाजित भएपछि यिनीहरुलाई दसनामी सन्यासी भनिए । रामकथा त धेरै पुरानो हो । तर रामलाई हिन्दु परम्पराको त्रिदेव (ब्रह्मा, विष्णु, महेश) मध्ये विष्णुको अवतारको मान्यतापन्द्रौँ–सोह्रौँ शताब्दीमा रामानन्दीय वैष्णवी सम्प्रदायको विकास भएपछि प्राप्त भएको हो ।

रामलाई इष्ट मान्ने यस सम्प्रदायका प्रवत्र्तक स्वामी रामानन्द थिए ।सोह्रौँ शताब्दीमा गोस्वामी तुलसी दासले अवधी भाषामा ‘राम चरित् मानस’ महाकाव्यको रचना गरेपछि रामकथाको लोकप्रियताले व्यापक विस्तार पायो । आदिगुरु शंकरले शिवलाई आराध्यदेव मानेर आफ्नो अद्वैत वेदान्तको मत प्रतिपादन गरे जस्तै इसाको चौधौँ शताब्दीमा आचार्य रामानुज (वा रामानुजाचार्य)ले शंकराचार्यको मतको खण्डन गर्दै विष्णुलाई आराध्य मानेर विशिष्टाद्वैत मतको विकास गरे ।स्वामी रामानन्दको राम प्रधान सम्प्रदाय यसै वैष्णवी मतबाट भएको हो ।यसले शैवमतका सन्यासीहरु र वैष्णवीहरुको बीचको द्वन्द सिर्जना ग¥यो । विष्णुको अवतारको रुपमा रामलाई मानेर स्वामी रामानन्दले आफ्नो सम्प्रदायको विकास गरेपछि सन्यासीहरुसंगको द्वन्द रामानन्दीहरु सम्मपनि विस्तार भयो । अठारौँ शताब्दीमा त यो द्वन्द्व भयावह झडपहरुमा समेत विकसित भैसकेको थियो । त्यतिबेला प्रयागमा कुम्भको मेलामा गंगानदीमा शाहीस्नान कस्ले पहिले गर्ने भन्ने विवादमा शैव नागा र वैष्णवी साधु बीचको हिंसक झडपमा अनेकौँ मारिने गरिन्थे । यस क्रममा हुने भगदडमा कयौँ किचिन्थे, हजारौँ घाइते हुन्थे, हजारौँ हराउने गर्थे । पछि तत्कालीन ब्रिटिस भारतीय सरकारले कडाईपूर्वक हस्तक्षेप गरेर दुबैको शाहीस्नानको फरक फरक समय निर्धारण गरेपछि मात्र यसमा कमी आएको हो । यद्यपि यी दुई सम्प्रदायबीचको द्वन्द्व बीसौँ शताब्दीको मध्यसम्म हुँदैआएको हो । सैद्धान्तिक मतभेद, श्रेष्ठताको द्वन्द्व र उदासीन व्यवहार त अझैपनि बेला बेलामा देखिने गरिन्छ । शुरुमा त्रिशुलधारी सन्यासीसंगको द्वन्द्वमा रामानन्दी वैष्णवी साधुहरुको प्राय पराजित हुने गर्थे । यस्को कारण उनिहरुको अहिंसक चरित्र र नरम स्वाभाव थियो ।

रामानन्दी साधुहरु वैराग्य भावबाट रामचर्चामा लीन हुने शास्त्रप्रीय थिए र उनिहरुमा लडाईँको भाव थिएन । यसै कारण एक समय यस्तोपनि भयो, जब शैव नागाहरुले हमलागरेर रामको जन्मभुमि भनिने अयोध्यामा कब्जा गरेर रामानन्दी साधुहरुलाई त्यहाँबाट धपाई दिएका थिए । त्यसपछि रामानन्दी साधुहरु भारत, राजस्थानमा पर्ने जयपुरको गलतामठमा जम्माभएर विचार विमर्श गरे । उनिहरुले अयोध्यालाई पुनः प्राप्त गर्न शास्त्रले नपुग्ने, शस्त्रपनि आवश्यकपर्ने निष्कर्षमा पुगे, र सन् १७६०मा एकजुट भएर अयोध्यामा आक्रमण गरेर शैवहरुलाई धपाएर पुनः आफ्नो नियन्त्रण कायमगर्न सफल भए । यसपछि रामानन्दी साधुहरुले आफ्नो सुरक्षाको निम्ती सैन्यभावका साधु निर्माणगर्न विभिन्न अखाडाहरुको निर्माण गरे । अयोध्यामा निरञ्जन अखाडा आदि यसैका परिणाम हुन् । जनकपुरमा पनि लक्षमण अखाडा यस्तै ठाउँ हो । प्रसिद्ध अनुसन्धाता रिचर्ड बर्घार्टले जनकपुर बारे आफ्नो प्रसिद्ध कृति ‘द हिस्ट्री अफ जनकपुरधाम’मा शैव सन्यासी र रामानन्दी साधुबीच हिंसक झडप जनकपुरमापनि भएको उल्लेख गरेका छन् । हुन त राममन्दिर परिसरमा हनुमान मन्दिरको उत्तरपट्टी रहेका समाधिहरुलाई महन्थहरुको समाधि भनिन्छ । तर वर्घार्टले ती मध्ये अठारवटा समाधिहरु उन्नाइसौँ शताब्दीमा रामानन्दी साधुहरुसगको झडपमा मारिएका सन्यासीहरुको रहेको भनेका छन् । उल्लेखनीय छ, राममन्दिरमा दसनामी सन्यासी महन्थ हुने र जानकीमन्दिरमा रामानन्दी साधु महन्थ हुने परम्परा छ । समयसंगै यो द्वन्द्व सामञ्जस्य हुँदैगएको हो र जनकपुरमा त अहिले विवाहपञ्चमीमा राममन्दिर र जानकीमन्दिरका महन्थहरु सम्धी मिलानको साँस्कृतिक हार्दिकताको दशरथ र जनकको रुपमा रोचक पात्रको रुपमा प्रस्तुत हुने गर्छन् ।

प्रयागको कुम्भमा भने अहिलेपनि गंगाामा शाहीस्नानको बेला नागा सन्यासीको भयले सामान्य तनाव सृजना हुने गर्छ । सहज भक्ति, सोह्रौँ शताब्दीमा तुलसी दासको राम चरित् मानसको व्यापक लोकप्रियता तथा दसनामी सन्यासी विरुद्धको एकजुटताले रामानन्दीय सम्प्रदायमा पुनर्जागरणको भूमिका खेल्यो । सोह्रौँ शताब्दीसम्म रामकथासंग सम्बन्धित स्थलहरुमा रामको जन्मभूमि अयोध्या हो विश्वास मात्र स्थापित थियो । त्यसपछि रामानन्दी साधुहरुले रामकथासंग जोडिएका चित्रकुट, किष्किन्धा, दण्डकारण्य आदि स्थानपनि निश्चित गरे । यसै क्रममा रामानन्दीय सम्प्रदायभित्र सीतालाई प्रधानमान्ने रसिक सम्प्रदायका साधुहरु मिथिलाको खोजीमा निस्केका हुन् र विशाल वन्यक्षेत्रभित्र तीर्थक्षेत्रको रुपमा सामान्य परिचित जनकपुर प्रकाशमा आएको हो ।

आधुनिक जनकपुर

रामानन्दीय सम्प्रदाय भित्र सीतालाई प्रधान मान्ने वैरागीहरुको रसिक सम्प्रदायको विकास भएपछि मिथिलाको खोजी गर्दै आएका सुरकिशोर दास जानकी मन्दिर र चतुभुज गिरी (राम मन्दिर) सोह्रौँ शताब्दीको अन्ततिर वा सत्रौँ शताब्दीको पहिलो दशकभित्र नै जनकपुरमा कुटी बनाएर बसीसकेका थिए । सत्रौँ शताब्दीको तेस्रो शताब्दीसम्म मकवानपुर र मोरङ्गका सेन राजाहरुले दुबै मन्दिरलाई सयौँबिघा जग्गा दान दिएका दस्तावेजहरु पनि छन् । तरपनि सन् १८०० सम्म जनकपुरमा बस्ती विकास भएको देखिँदैन । त्यतिबेला ठूलो वन्यक्षेत्रको बीचमा जनकपुर तीर्थक्षेत्रको रुपमा प्रसिद्ध भने अवश्य थियो ।

आधुनिक जनकपुरका संस्थापक द्वय मानिने सुरकिशोर दास र चतुर्भुज गिरीको जनकपुर आगमनको पछाडीपनि मिथिला वा जानकी जन्मभूमि वा जनकपुर (जनकपुरी)को रुपमा तीर्थक्षेत्रको प्रसिद्धि नै हो । यद्यपि सन् १८००मा सुरकिशोर दास, चतुर्भुज गिरी, प्रीतम दास, राम दास, रधुनाथ दास आदि साधुहरुले जानकी मठ, रामचन्द्र मठ, रत्नसागर मठ, हनुमान गढी मठ आदि मठ र कुटीहरुको निर्माण गरिसकेका थिए । सेनवंश र पछि शाहवंशीय राजाहरुको नियन्त्रणमा रहेको जनकपुरको वरिपरी खेतीगर्ने किसानहरुले साधुहरुका कुटीहरु निर्माण गरिदिएका थिए, भने शुरुमा पुजाआजाका लागी अन्न लगायतका दानहरुपनि दिने गर्थे । भन्नु परेन रामकथाकी नायिका सीताको माइती मिथिला हुनाले साँस्कृतिक भावनाको कारण यहाँ रामानन्दीय सम्प्रदाय छिटै विकसित भयो । मिथिला वा जनकपुरको खोजी गर्न प्रेरित रामानन्दी साधुहरु अयोध्याका साधुहरुसंग निकट थिए । त्यसैले जसरी रामायण वा रामचरित् मानसमा वर्णित स्थलहरु तथा रामप्रधान धार्मिक साँस्कृतिक उत्सवहरुको विकास भयो, त्यसरी नै जनकपुरमापनि सीता र राम प्रधान साँस्कृतिक उत्सव र परम्पराहरुको विकास भयो । विवाहपञ्चमी, रामनवमी, जानकी नवमी जस्ता धार्मिक उत्सवहरु त साझा नै भए । यसरी नै पद्मपुराण र वृहत विष्णु पुराणबाट अयोध्या महात्म्य र मिथिला महात्मय खोजिए । समर्पित साधुहरुले रामको जीवनसंग सम्बन्धित अयोध्या वरिपरीका स्थलहरुको परिक्रमा शुरु गरे जस्तै जनकपुरमा पनि सीताको जीवनसंग सम्बन्धित विश्वास गरिएको स्थलहरुको परिक्रमा शुरु भयो । धेरैको निम्ती रोचक जानकारी हुनसक्छ कि, जनकपुरमा हुने तीन खाले परिक्रमा जस्तै अयोध्यामा पनि परिक्रमा हुँदो रहेछ ।

जनकपुरमा मिथिलाको सीमा भनिएका गन्डकी, कोशी, गंगा र हिमालय पर्वत्त (चुरे श्रृंखला)को परिधिको कष्ट साध्य वृहत्त मिथिला परिक्रमा, राजा जनकको राजधानी जनकपुर (मिथिला)को सीमा मानिने जनकपुर वरीपरी १३३ किलोमिटरको पन्द्र दिने परिक्रमा र जनकपुर नगरको भित्री पाँचकोसी परिक्रमा गरी तीनवटा परिक्रमा हुने गर्छ । यस मध्ये वृहत्त परिक्रमा हाल लुप्त प्रायःको स्थितिमा छ । पहिलेपनि यो समर्पित साधुहरुले नै गर्थे । यसरी नै अयोध्यामा पनि तीनवटा परिक्रमा हुने गर्छ । चैत्र पुर्णिमाबाट शुरु हुने २५२ किलोमीटरको अयोध्याको पुरानो सीमा मानिने क्षेत्रहरुको वृहत्त चौरासी कोसी अयोध्या परिक्रमा, कार्तिक अक्षय नवमीको दिन आधुनिक अयोध्या वरिपरी गरिने ४५ किलोमीटरको चौधकोसी परिक्रमा र कार्तिक देवउठान एकादशीको दिन रामजन्मभूमि क्षेत्र भनिने मूल अयोध्याको वरिपरी १५ किलोमीटरको पाँचकोसी परिक्रमा गरिने परम्परा छ । अयोध्याको यस प्रसङ्गको चर्चा आवश्यक थिएन, तर मिथिला क्षेत्रमा आम धर्मभीडू जनजीवनमा रामानन्दीय सम्प्रदायको विकास तथा राम र सीता प्रधान धार्मिक साँस्कृतिक उत्सव र परम्पराको प्रभाव बुझ्नलाई यो सान्दर्भिक हुनसक्छ । होइन भने प्राचीन समयदेखी र परम्परागतरुपमा समेत मिथिलामा शैव, शाक्त, बौद्धको बज्रयानभित्रको सहजयान र लौकमतको प्रभाव थियो । रामकथाको मिथसंग जोडिएका कयौँ स्थानीय कथाहरु यसै क्रममा विकसित भएका हुन्, जस्तै : रामले धनुभंग गर्दा तनि टुक्रा भएर एउटा अकाशमा, अर्को पातालमा र तेस्रो धनुषाधाम गएर खस्नुको कथा आदि । रामानन्दीय सम्प्रदायको यस्तै बढदो लोकप्रियताबाट प्रभावित भएर उन्नाइसौँ शताब्दीको प्रारम्भ तिर सीतामढीका सीता प्रसाद र पिपरा मठ (हाल सीतामढी जिल्ला) सुर दासले जनकपुरको परिक्रमा शुरु गरेका थिए ।

उत्तरमा क्षीरेश्वरनाथ, पूर्व दक्षिणमा कल्याणेश्वर नाथ, दक्षिण पश्चिममा जलेश्वर नाथ, उत्तरपूर्वको मिथिलेश्वरनाथ (जनक सरोवरको डिलमा) महादेवका मन्दिरहरुलाई राजा जनकको राजधानीको मूल क्षेत्रको सीमा मानेर शुरु गरिएको यो परिक्रमा शुरुमा पाँच दिनको थियो र पछि यस्मा परिमार्जन गरि पन्द्र दिने बनाइयो । मिथिलाको यस्तै बढदो प्रसिद्धिबाट प्रभावित भएर अयोध्याबाट एकजना साधु रघुनाथप्रसाद अठारौँ शताब्दीको अन्ततिर जनकपुर आएको हुनुपर्छ । रघुनाथप्रसाद अयोध्यामा बारा स्थानका साधु थिए । उनले सन् १८०५मा लेखेको श्री महाराजा चरित् नामक पुस्तकमा तत्कालीन जनकपुर, यहाँका कुटीहरु, साधुहरु, आँपका बगैचाहरु, फुलवारीहरु, मैदानहरु, तलाउहरु र यहाँ डुल्ने बाघ र भालु जस्ता हिंसक जनावरहरु तथा यी स्थल र पोखरीहरुसंग जोडिएका प्रचलित कथाहरु बारे लेखेका छन् । यस पुस्तकमा गंगासागर, धनुष सागर, रत्न सागर, अरगजा कुन्ड, सीता कुन्ड, बिसौल, गिरिजास्थान, फुलहर, मटिहानी, जलेश्वर, मिथिलेश्वर आदि वर्तमानमा पनि परिचत अनेकौँ स्थलहरुको चर्चा छ । यस पुस्तकका अनुसार, जनक दरबार (हालको जानकीमन्दिरको स्थल, जहाँ त्यतिबेला मठ थियो)का अगाडी एउटा ठूलो मैदान थियो । पुस्तक अनुसार त्यो मैदान हालको जानकीमन्दिर देखी जनकमन्दिरसम्मको क्षेत्र थियो । पुस्तकमा भनिए अनुसार धनुष सागरमा राखिएको शिव धनुष ल्याएर यसै स्थलमा राखियो, जसलाई रामले भङ्ग गरे । तत्कालीन जनकपुर बारे विविध जानकारी दिने यस पुस्तकको प्रकाशन पहिलो वा दोस्रो संस्करण सन् १९३०मा अयोध्या बारा स्थानका श्री चिन्तामणि दासले प्रकाशित गराएको उल्लेख अनुसन्धाता बर्घार्टले गरेका छन् ।

अन्तिममा,

जनकपुरको विकासका कयौँ आयामहरु छन् । शासन व्यवस्थामा परिवर्तन, समयसंगै विकसित उत्पादन सम्बन्ध तथा आर्थिक विकास, विविध दक्षिणी र उत्तरी क्षेत्रबाट भएका आप्रवासनहरु तथा देशी–विदेशी राजनीतिक र कूटनीतिक सम्बन्धहरुले पनि जनकपुरको साँस्कृतिक मनोविज्ञान र सामाजिक संरचनाहरुलाई प्रभावित गरेको छ । आलोचनाका विविध पाटो हुँदाहुँदैपनि, रामानन्दीय सम्प्रदाय कर्मकाण्डको कठोरता तथा वर्णाश्रमको विरुद्ध जात पात र छुवाछूत मुक्त तथा सहज भक्तिको कारण आम जनमानसमा लोकप्रिय भएको हो । जातपात पूछे ना कोइ, हरिको भजे सो हरिका होइ, यस्तै एउटा सूत्र वाक्य हो । तर समयसंगै यस सम्प्रदायभित्रपनि छूवाछूत, जातपात र कर्मकाण्डीय कठोरता बढदै गएको छ । यससंगै राजनीतिक साँस्कृतिक प्रभावमा यस सहिष्णु सम्प्रदायमा पनि संकीर्णता बढदै गएको छ । यस मानवीय सहिष्णु सौन्दर्यलाई बचाउनु आवश्यक छ । जनकपुर यसै सहिष्णुका निम्ती त प्रसिद्ध छ ।

Comment


Related News

Latest News

Trending News