अपडेट 
२०७९ फाल्गुन १८, बिहीबार ०७:५६

यस शिर्षकको उत्तर खोज्नु भन्दा पहिले रावण तथा लक्ष्मणको बारेमा जान्नु आवश्यक छ । रावण लङ्काका एउटा कुशल राजा थिए । उनका लङ्का सुनले बनाइएको थियो । रावणको जन्मतिर लाग्दा यहाँको जन्म बारे रामायणै पिच्छे फरक–फरक विचार रहेको पाइन्छ । यहाँ बाल्मीकि रामायणलाई आधार बनाइ यस लेखलाई पूर्णता दिने काम भएको छ । रावण जन्मको सम्बन्धमा वाल्मीकि रामायणमा सविस्तार वर्णन गरिएको पाइन्छ । बुद्धिमान राक्षस सुमालीको कैकसी नाम गरेकी कन्या थिइन् । कन्या लक्ष्मी समान सुन्दर थिइन् । ती कन्याको विवाहयोग्य उमेर देखेर सुमालीले पुलस्त्यका पुत्र विश्रवा ऋषिलाई सेवा गर्ने आज्ञा दिए । त्यसेला विश्रवा तपमा लीन भएको देखेर त्यही स्थानमा ऋषि सन्मुख उभिइ रहिन् । विश्रवाको आँखा खुलेपछि सोधेछन् कि हे !

सुन्दरी यस्तो साँझपख तिमी के कारणले यहाँ आएर उभेका छौं ? सुन्दरीले जबाब फर्काई, हे ! ब्रह्मर्षे म मेरो पिताजीको आज्ञा अनुसार हजुरको सेवामा उपस्थित भएकी हुँ । मेरो नाम कैकसी हो । अरू सबै मेरो मनोमाव स्वयं जान्न समर्थ हुनुहुन्छ भनी ऋषिलाई हात जोडी बिन्ती गरिन् । तब ऋषिले भन्नुभयो हे ! शोभने यस्तो बेलामा अभिष्ट राखी मेरो समीप आयौ । तिम्रो चाहना अनुरूप तिम्रो बलवान तथा भयंकर डरलाग्दा शरीर भएका, क्रूर कर्म गर्ने राक्षसलाई जन्म दिनेछौ भनी आज्ञा भयो । यसरी ऋषि विश्रवाको पुत्रको रूपमा दश टाउकोबाला रावण, भयङ्कर कुम्म जस्तो कर्ण भएको कुम्भकर्ण, डरलाग्दो अनुहार भएकी नाङ्गलो जस्तो कान भएकी सुर्पणखा नाम भएकी एक पुत्री र सबभन्दा कान्छो अति धर्मात्मा बिभीषण नाम भएको पुत्रको जन्म भयो । ऋषि विश्रवाले पुत्रहरू जन्मेपछि सबैको नामाकरण गर्नुभयो । दश शिर लिएर जन्मेको हुँदा जेठाको नाम दशग्रीव र घैटो जस्तो कान तथा महाभयङ्कर शरीर लिएर जन्मिएकोले कुम्भकर्ण भनी नामाकरण गरिदिनुभयो । तीनै भाइ शिवका भक्त भए । आफ्ना तपस्याद्वारा भगवानलाई खुशी पारी भगवानसँग वरदान पाएका थिए । तीनै भाइमध्ये रावण कुशल राजा निस्किए भने कुम्भकर्ण सुताहा भए । कान्छो भाइ बिभीषण भगवान भक्त भए । रावणले सौतेनी भाइ कुवेरलाई जिती काञ्चनपुरी लङ्का तथा पुष्पक विमान अपहरण गरी उक्त पुष्पक विमानमा विचरण गर्दै थिए । एउटा पर्वतमा गएर पुष्पक विमान रोकियो । पुष्पक रोकिएपछि रावणादि राक्षसहरू चिन्ता गर्न लागे । त्यसैबेला भगवान शंकरको पार्षद नन्दी रावण समीप गएर भने हे ! दशग्रीव फर्क यस पर्वतमा भगवान शङ्कर क्रीडा गर्नुहुन्छ त्यसैले तिम्रो विमान रोकिएको हो ।

रावणले देवाधिदेव शङ्कर तथा नन्दीश्वरलाई अनादर गरी हास्न लागे । हाँसो देखेर नन्दीश्वर कुपित भइ हे ! दशानन तिमीले वानर रूप देखेर अवहेलना ग¥यौ । त्यस कारण तिम्रो कुलको विनाश गर्नका लागि मेरो समान नै पराक्रमी रूप तथा तेजले सम्पन्न वानर उत्पन्न भइ सन्तान सहित तिम्रो गर्वको चुर–चुर गर्नेछन् भनी श्राप दिए । यस श्रापको पर्वाह नगरी रावण त्यो पर्वतलाई उखालेर फाल्न उद्धत भए । पर्वतलाई उखालेर फाल्न लाग्दा पर्वत हल्लिन लाग्यो । त्यसै बखत भगवान शङ्करले आफ्नो पाउको बुढी औंलाले थिचिदिनुभयो । औंलाले थिचेपछि दशग्रीव राक्षसको हात किचिन पुग्यो र वेदनाले आर्तनाद गर्न लाग्यो । दुःखाइबाट विक्षिप्त भएपछि मन्त्रीहरूको सम्मतिले रावण भगवानको स्तुति गर्न लागे तब भगवान प्रसन्न भइ दशग्रीवलाई सङ्कटबाट मुक्त गरिदिनुभयो । हे दशग्रीव ! तिम्रो अत्यन्त भयानक राव (आर्तनाद) बाट भएभीत भै तीनै लोकका प्राणीहरूको रुवावासी चलेका कारणले तिम्रो आवाजदेखि दशग्रीव दशाननवाट रा,ब,अ,ण (आर्तना) अणु–अणु कम्पित भइ रुवाबासी भएकोले रावण नाम दिनुभयो भनी रावण उत्पतिको विषयमा बाल्मीकि रामायणमा सविस्तार उल्लेख रहेको देखिन्छ । अब लक्ष्मणको बारे संक्षिप्तमा वर्णन गर्नुपर्ने सान्दर्भिक देखिएकोले उहाँको बारेमा यहाँ बर्णन गरिन्छ । राजा दशरथले ऋष्यश्रृङ्ग नाम गरेको ऋषिद्वारा पुत्रेष्टि यज्ञ गर्दा स्वयं अग्निदेवबाट जुन दिव्य पायस प्राप्त भएको थियो, त्यो पायस गुरु वशिष्ठको आज्ञाले राजा दशरथले आफ्ना तीन वटै रानीहरूलाई खान दिए । जब रानीहरूले त्यो पायस हातमा लिते बितिकै एउटा बाज आएर सुमित्राको हातबाट त्यो पायस लुटेर लगिन् । रानी कौशल्या र कैकेयीले उनलाई आ–आफ्ना हिस्साबाट आधा आधा खान दिए । तब तीनै महारानीहरू गर्भवती भए । महिना पुगेपछि कौशल्याको गर्भबाट राम सुमित्राको गर्भबाट साक्षात शेष लक्ष्मण र शत्रुघ्न र कैकेयीको गर्भबाट भरत जन्मिएका थिए ।

यसरी धर्म राम, अर्थ लक्ष्मण, मोक्ष शत्रुघ्न, काम भरत र मोह रावण हुन् । यसरी रामायणमा राम नायक, लक्ष्मण उपनायक तथा रावण खलनायकको भूमिकामा रहेका थिए । लक्ष्मणले एउटा आज्ञाकारी तथा आदर्श भूमिकामा सदैव देखिन्थे । रामको आज्ञालाई सदैव शिरोधार्य गरी अगाडि बढ्थे । त्रेतामा मात्रै होइन्, कलयुगसम्म आउँदा पनि सर्वसाधारणले आदरसाथ लक्ष्मणको नाम लिने गर्छन । जहाँ राम हुन्छ त्यहाँ लक्ष्मण पनि देखिन्छ । लक्ष्मणलाई मेघनाथले आफ्नो वाणले मुर्छा पार्दा रामले गरेका विलाषलाई हेर्दा राम र लक्ष्मणको शरीर दुई भए पनि आत्मा एउटै थियो भने अनुमान गर्न सकिन्छ । राम वनवासका लागि दरबारबाट तयारी भएर जान लाग्दा लक्ष्मणले पनि रामलाई छोडेनन् र लक्ष्मण हरेक पगमा रामसीतालाई साथ दिएका थिए । अहिले पनि हाम्रो समाजमा दुई भाइ बिचको प्रेम देखेर फट भनि दिन्छ कि यी भाइहरूको जोडी त राम लक्ष्मण जस्तो देखिन्छ । अब प्रसङ्ग बदलौं । राम–रावण युद्धमा जब रावण मूर्छित भएर पृथ्वीमा गिरेका थिए । अब केही बेरमा रावणको प्राण छुट्नेछ भने देखेर त्यसैबेला रामले लक्ष्मणलाई रावणसँग केही राजनीति सम्बन्धी ज्ञान सिक्न आज्ञा भयो । लक्ष्मण सोही आज्ञा अनुसार रावण नजिक मुन्टोतिर उभिएर रावणलाई सम्बोधन गरी म लक्ष्मण तपाईसँग केही राजनीति सम्बन्धी ज्ञान सिक्न आएको छु, कृपया तपाई मलाई राजनीतिका केही प्रमुख ज्ञान सिकाइ दिनुस् । रावण आँखा खोलेर हेरे र पुनः आँखा बन्द गरेर केही जबाव दिएनन् । एक चोटी, दुई चोटी भन्दा पनि रावणले नसुने जस्तो गरी आँखा खोलेनन् ।

केही छिनपछि लक्ष्मण फर्केर रामकहाँ आइपुगे । रामले लक्ष्मणसँग सोध्नी गर्दा लक्ष्मणले भन्नुभयो दाइ रावण त केही बोलेनन् । तपाई त भन्नु भएको थियो कि रावण एउटा राजनीतिको ज्ञाता हुनुहुन्छ तर मेरोतिर हेरेर पुनः आँखा बन्द गरिहाले । तब रामले लक्ष्मणको कुरा सुनेर लक्ष्मणसँग सोधनी गरे र सोधे लक्ष्मण तिमी राजनीति सिक्न जाँदा कहाँ उभिएर सोधेका थियौ । त्यसपछि लक्ष्मणले भन्नुभयो म त टाउकोतिर उभिएर सोधेका थिए । त्यसपछि रामले लक्ष्मणलाई जबाब दिनुभयो कि रावणले आफूलाई अपमानित सम्झेर जबाव नफर्काएको हो । तिमी पुनः जाउ र खुट्टातिरबाट उभिएर सोध त, अवश्य उनले जबाव फर्काउने छन् । रामले बताए अनुसार लक्ष्मण पुनः रावण नजिक गएर पहिले कै कुरालाई राख्दा रावण आँखा खोलेर भनेका रहेछन्, कि लक्ष्मण सोध के सोध्ने हो ? लक्ष्मणले रावणलाई भने कि मलाइ तपाईले अनुभव गरेका केही राजनीतिका कुराहरू सिकाइ दिनुस् । त्यसपछि रावणले तीनवटा कुरा सिकाएका थिए । पहिलो कुरो “शुभकाम गर्न कहिले पनि ढिलो गर्नु हुँदैन ।” मैले अशुभ काममा शिघ्रता देखाएँ । सीता हरणमा शीघ्रता नगरेको भए मेरो यस्तो अवस्था हुने थिएन । मलाइ थाहा थियो कि म रामसँगको लडाइमा मेरो हार निश्चित छ तर पनि रामको चरणमा जाने कुरालाई आजभोली गर्दै ढिलो गर्दै गए । यो त एउटा शुभ काम थियो । मैले यस्ता शुभकाममा शिघ्रता देखाउन नसकेर यस्तो दशा भएको कुरा महसूस गरिरहेको छु । दोस्रो कुरा “आफ्नो शत्रुलाई कहिले पनि कमजोर ठान्नु हुँदैन” ।

म बानर तथा मानवलाई तुच्छ सम्झेर बास्ता नगरेका कारण त्यही तुच्छ बाँदर र मानवले मेरो आज यस्तो अवस्थामा पु¥याएका छन् । यदि म तपस्याको बेला यदि म अन्य माँगको साथसाथै बाँदर र मानवको नाम समेत लिएको भए मेरो आज यस्तो पराजय हुने थिएन । त्यसैले शत्रु जस्तो भए पनि आफू सतर्क भएर लर्नु नै बेश हो । युद्धमा जहिले पनि सतर्क तथा सावधान भएर जानु पर्दछ । तेस्रो कुरा “व्यक्तिगत रहस्य र निर्वलता कसैलाई पनि बताउनु हुँदैन” । मेरो नाइटोमा अमृत थियो । यसबारे मैले आफ्नो भाइ विभीषणलाई नबताएको भए आज मेरो मृत्यु हुने थिएन । अरू कसैलाई यो कुरा थाहा थिएन । रामले मलाई पटक–पटक आफ्नो वाणले छेद्न गरेपनि म मरेको थिइन र घाउहरू तुरून्तै निको हुन्थे । भाइ भाइमा फूटको कारणले आज मेरो यस्तो अवस्था भएको छ । लक्ष्मण तपाई असल भाइको भूमिकामा रहेको हुनाले राम पराजित भएनन् । अर्को रामायणमा बाल्मीकि रामायणभन्दा केही फरक विचार पाइन्छ । यसमा लक्ष्मणलाई १० वटा नीतिका उपदेश दिएको देखिन्छ जो निम्न अनुसार छन् ः पहिलो शुभकामलाई जति चाँडो र अशुभ कामलाई टाल्दै जानु पर्छ । दोस्रो दुश्मन र शत्रुलाई कहिले पनि कमजोर ठान्नु हुँदैन । तेस्रो कुनै व्यक्तिलाई तुच्छ बुझ्नु हुँदैन । चौथो आफ्नो शक्तिलाई अर्जित गर्दै रहनु पर्छ । पाँचो तपस्याबाट सबै कुरा अर्जित गर्न सकिन्छ । छैठौं नयाँ नयाँ खोजमा लागि रहनु पर्छ । सातौं एउटै इष्टदेवलाई पुज्नु सबैभन्दा उत्तम हुन्छ । आठौं आयुर्वेदको ज्ञान हुनुपर्छ । नबौं मानिस लगनमा पक्का हुनुपर्छ । दशम् मानिसले शास्त्र निरन्तर पढ्नु पर्छ । यसरी यी सन्देश दिएर रावणले मृत्यु वरण गरे । यी उपदेश अहिले पनि मानिसका लागि जीवनोपयोगी मानिन्छन् ।

मानिसलाई जहिले पनि आफ्नो विचारलाई धर्मभन्दा बाहिर जानुदिनु हुँदैन । जो मानिसले सत्य र धर्मलाई अंगालेर काम गरेका छन् जीवनमा सदैव सफलता पाएका छन् । रावणले यही सत्य र धर्मलाई छोडेका हुनाले उनको अकाल मृत्यु भयो । रावण एक प्रसिद्ध पंडित तथा कुशल नीतिज्ञ थिए । उनलाई उनको भित्रमा रहेको राक्षसी प्रवृति र घमण्डले यस्तो दुर्गतिमा पुरे । मानिस जे जस्तो बलशाली तथा विद्वान भए पनि यदि उसले धर्म तथा सत्यको बाटोबाट विचलित हुन्छ भने रावणकै जस्तो गति हुनेमा कुनै शंका छैन । इतिश्री ।

Comment


Related News

Latest News

Trending News