अपडेट 
२०७९ फाल्गुन २०, शनिबार ०७:३९

रामसागर रामस्वरुप बहुमुखी क्यामप्स (राराब)मा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनका लागि संगठन तथा समूह दर्ता भएको छ ।

शुक्रबार १२ वटा संगठन र तीन वटा स्वतन्त्र समूहले आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनको लागि संगठन तथा समूह दर्ता गराएका छन् । सबै संगठन तथा समूहले सभापतिको नामसहित दर्ता गराएको निर्वाचन अधिकृत रेमन्त मोरवैताले जानकारी दिए ।

नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन पहिलो नम्बरमा दर्ता भएको छ । सो संगठनले क्याम्पस ईकाई प्रमुखमा अजय सिंह कुशवाहालाई दिएको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) निकट लोकतान्त्रिक विद्यार्थी संगठनले अजयकुमार पण्डितलाई ईकाईकोको नेतृत्व प्रदान गरेको छ ।

यस्तै, नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले मनिष कुमार यादव, जनमत पार्टीका विद्यार्थी जनमत संघले अजय कुमार दास, जनता समाजवादी पार्टी (जसपा) निकट समाजवादी विद्यार्थी युनियनले गौतम यादव चोरवार र राष्ट्रिय प्रजातन्त्र विद्यार्थी संगठनले दयानन्द झालाई संगठन प्रमुखको रुपमा राखेर संगठन दर्ता गराएका छन् ।

राष्ट्रिय विद्यार्थी परिषद्ले रवि कुमार साह, नेपाल समाजवादी विद्यार्थी युनियनले सुरेन्द्र कुमार यादव, अखिल क्रान्तिकारीले वृकेश अधिकारी र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले शंकर प्रसाद साहलाई जिम्मेवारी दिएको छ ।

यस्तै, तीन वटा समूहले स्वतन्त्र पनि दर्ता गराएका छन् । स्वतन्त्र विद्यार्थी समूह भनेर अभिषेक कुमार सिंह, इजाज मोमिम समूह र आशुतोष झा समूहले स्वतन्त्रबाट दर्ता गराएका छन् । समूह तथा संगठन दर्ता भएसंगै विद्यार्थी नेताहरु धमाधम प्रचारप्रसारमा जुटेका छन् । उनीहरु विभिन्न माध्यमले मत पनि मागिरहेका छन् । लामो समयपछि विद्यार्थी युनियनको निर्वाचन भएपछि विद्यार्थीहरुमा उत्साह देखिएको छ । तर पछिल्लो समय विद्यार्थी नेताहरुले हक अधिकारभन्दा दलको संगठनभन्दा माथि उठ्न नसकेपछि केही विद्यार्थी निराश पनि देखिएका छन् ।

Comment


Related News

Latest News

Trending News