अपडेट 
२०७९ फाल्गुन ३०, मंगलवार ०८:००

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत रहेका प्रादेशिक अस्पतालमा मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले सोमबार छड्के निरीक्षण गरेका छन् ।

मुख्यमन्त्री यादवको छड्के निरीक्षणको क्रममा अनुपस्थित रहेका अस्पतालका प्रमुख डा.प्रमोद कुमार यादवलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हाजिर हुन निर्देशन दिइएको छ । तर अस्पतालको स्वास्थ्य प्रयोगशालामा कार्यरत कर्मचारीलाई कारबाही गर्न मुख्यमन्त्री यादवले विभागीय प्रमुखलाई निर्देशन दिएका छन् । सोमबार बिहान साढे १० बजे नै मुख्यमन्त्री यादवले छड्के गरेका थिए । प्रयोगशाला(ल्याब) का प्रमुख रहेका परमेश्वर यादवलाई रिर्पोटमा लापरवाही गर्ने कर्मचारीहरुलाई कारबाही गर्न निर्देशन दिएका मुख्यमन्त्री यादवले सर्वसाधारणलाई विश्वसनीय रिर्पाेट र उपचार गर्न निर्देशन दिए । स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत रहेको प्रादेशिक अस्पतालमा १ सय शैय्यामा १ जना मात्र ल्याब टेक्निसियन रहेका छन् ।

पछिल्लो समयमा अस्पतालको ल्याबमा गरिने परीक्षणमा भारी लापरवाही हुने गरेको तथ्यहरु फेला परेका छन् । सञ्चार माध्यमहरुमा व्यापक गुनासा आउन थालेपछि मुख्यमन्त्री यादवले छड्के गरेका छन् । अस्पतालको ल्याबमा स्वचालित अत्याधुनिक मेसिनहरु रहेकाले जाँच भरपर्दो हुनुपर्ने हो । तर टेक्निसियनहरुको लापरवाहीले अस्पतालको ल्याबको विश्वसनीयता नै समाप्त हुन थालेको चिकित्सकहरु बताउँछन् । अस्पताल प्रमुख अधिकार विहीन रहेकाले विभिन्न विभागहरुमा चरम गडबडी भइरहेको जनगुनासो छ ।

अस्पतालको प्रशासनिक जिम्मेवारी दिइएको डा.केडी दास थुप्रै चिकित्सकहरुको भन्दा कनिष्ट रहेकाले वरिष्ठ चिकित्सकहरुलाई उनको मातहतमा काम गर्न समस्या भएको बताइन्छ । अस्पताललाई प्रतिष्ठान मातहतबाट अलग राख्न कर्मचारीहरुले माग गर्दै आएका छन् ।तर सरकारले प्रतिष्ठानबाट अस्पताललाई हटाउन चाहेको छैन् । अस्पतालको प्रयोगशालाको रिर्पोटमा चिकित्सकले विश्वास गरी औषधोपचार गरे रोगीहरुको स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्ने स्वास्थ्यकर्मीहरुको चिन्ता छ ।प्याथोलोजीको रिर्पोटलाई नै आधार मानेर चिकित्सकले औषधिको ‘डोज’ निर्धारण गर्ने गरेको डा.रामपरीक्षण यादव बताउँछन् । अस्पतालका पूर्व प्रमुख समेत रहेका डा.यादवले सर्वाधिक रोगीको चाप हुने अस्पतालको प्याथोलोजी लगायतका सबै विभाग दुरुस्त रहनुपर्नेमा जोड दिए ।

स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरुले विशेषज्ञ सहितको उपचार सेवा प्रदान गरिरहेको दाबी गरिरहेका छन् । उपचारको प्रमुख अंग मानिएको ल्याबको प्रतिवेदनमा देखिएको लापरवाहीले बिरामीको ज्यान लिन सक्ने उच्च जोखिम रहेको छ । ‘सर्वसाधारणका लागि स्थापित अस्पतालमा भरपर्दो सेवा दिन नसक्नु दुखद हो’ उनले भने, मधेश प्रदेश सरकार आमनागरिकलाई विश्वासिलो, सुरक्षित र सहज सेवा प्रदान गर्न प्रतिबद्ध रहेको छ ।उपचारमा लापरवाही गर्ने कुनै पनि चिकित्सक, स्वास्थ्यकर्मी कारबाहीमा पर्ने चेतावनी उनले दिए । अस्पतालको सेवालाई सुधार तथा विश्वासिलो बनाउन सम्बन्धित मन्त्रीलाई निर्देशन दिएको मुख्यमन्त्री यादवले जनाएका छन् ।

Comment


Related News

Latest News

Trending News