अपडेट 
२०७९ चैत्र १, बुधबार ०७:५९

मधेश प्रदेशका शिक्षा,विज्ञान,प्रविधि तथा वाणिज्य मन्त्री महेशप्रसाद यादवले सामुदायिक विद्यालयहरु राजनीति प्रतिस्पर्धाको केन्द्र बन्दै गएको टिप्पणी गरेका छन् ।

सकल भवन कन्या उच्च माध्यमिक विद्यालयमा आयोजित सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ९ का छात्र–छात्राहरुलाई ज्योमेट्री बक्स र स्कुल ब्याग वितरण समारोहमा उनले सो टिप्पणी गरेका छन् । विद्यालय व्यवस्थापन समितिको मुख्य काम नै विद्यालय र गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने भए पनि समितिका पदाधिकारीहरुले अनावश्यक राजनीतिक प्रतिस्पर्धा गरी व्यक्तिगत स्वार्थ सिद्धिमा लागेको कारण मधेश प्रदेशमा शिक्षाको स्तर दिनानुदिन खस्किंदै गएको मन्त्री यादवले बताए । मधेश प्रदेशको एउटा गाउँपालिकासमेत अहिलेसम्म पूर्ण साक्षर भएको घोषणा हुन नसक्नु दुर्भाग्यपूर्ण रहेको बताउँदै मन्त्री यादवले भने,‘विगतमा सबैले बुझैकै कुरो हो यही मधेशका व्यक्तिहरु पहाडको कुना कान्द्रामा गएर मास्टरी गरे र थुप्रैलाई शिक्षित बनाए तर अहिले मधेशकै शिक्षाको हालत यस्तो छ के यो दुर्भाग्यपूर्ण होइन।’ स्थानीय तहको हिसाबले होस कि प्रदेशको हिसाबले पहाड क्षेत्रको साक्षरता दर र मधेशको साक्षरता दरको तुलना गर्ने हो भने मधेश एकदमै पछाडि परेको बताउँदै उनले यस अवस्थामा परिवर्तनका लागि प्रदेश सरकार कटिबद्ध रहेको बताए ।

आफू पदस्थापन भएकै दिन मधेश प्रदेशलाई पूर्ण साक्षर बनाउने पहिलो निर्णय गरेको भन्दै यसका लागि मन्त्रालयले प्रदेशको विभिन्न जिल्लामा प्रधानाध्यापकलगायतका सरोकारवालाहरुसंग अन्तरक्रिया छलफलको तयारीसमेत गरिसकेको बताए । व्यापक छलफल र अन्तरक्रियापछि समस्याको समाधान र गुणस्तरीय शिक्षाको लागि विशेष योजना तयारी गरी अगाडि बढ्ने मन्त्री यादवको कथन थियो । उनले अबको शिक्षा मातृभाषामा नारा दिँदै आगामी दिनमा मन्त्रालयले मातृभाषामा शिक्षा दिनुपर्ने व्यवस्थाको लागि समेत पहल थाल्ने जानकारी दिए । मातृभाषामा बालबालिकाहरुको सिकाइ सहज हुने बताउँदै मातृभाषामै कम्तीमा प्राथमिक शिक्षा दिनुपर्ने आवश्यकतामा उनले जोड दिए । कार्यक्रममा जिल्ला समन्वय समिति धनुषाका सभापति राजनन्दन मण्डलले सामुदायिक विद्यालयको गुणस्तरमा कमी आएकै कारणले गाउँ गाउँमा आवासीय विद्यालयहरु खुल्न थालेको दुखेसो व्यक्त गरे ।

सामुदायिक विद्यालयकै शिक्षकहरुको छोरा–छोरी बोर्डिंग स्कुलमा अध्ययन गर्नुले नै शिक्षकहरुको नियतमा खोंट रहेको उनले आरोप लगाए । सभापति मण्डलले सामुदायिक विद्यालयको शिक्षाको स्तर खस्किंदै जानुमा शिक्षक तथा विद्यालय व्यवस्थापन समिति नै दोषी रहेको बताए । कार्यक्रममा कन्या उच्च माविका प्रधानाध्यापक मोदनारायण राउतले शिक्षासम्म पहुँच नरहेका विद्यार्थीहरुलाई विद्यालयमा ल्याउनका लागि प्रोत्साहन गर्ने कार्यक्रमहरु ल्याउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय ईकाइ प्रमुख युक्त प्रसाद शर्माले शिक्षामा चाहेको जस्तो सुधार नभएको स्विकार गर्दै शिक्षा क्षेत्रको विकासका लागि शिक्षा ईकाई प्रतिबद्ध रहेको बताए । वितरण कार्यक्रममा धनुषा जिल्लाका ९४ वटा विद्यालयका प्रधानाध्यापकहरुले विद्यार्थीहरुलाई वितरण गरिने ब्याग र ज्योमेट्री बक्सलगायतका सामग्री बुझेका छन् । वितरण गरिएको सो सामग्रीहरु सात दिन भित्रै विद्यार्थीहरुको हात हातमा पुर् याउनुपर्ने बताइएको छ ।

Comment


Related News

Latest News

Trending News