अपडेट 
२०७९ चैत्र ३, शुक्रबार ०८:४३

राजनीतिलाई दुई पाटामा हेर्ने गर्छन् । राजनीतिको शाब्दिक अर्थ राज्यको शासन सम्बन्धी नीति वा व्यवस्थालाई जनाउँदछ । कतिपयले यसलाई फोहरी खेलको रूपमा लिएका हुन्छन् । वास्तवमा राजनीति फोहरी खेल होइन । राजनीति शब्द राज्यसँग जोडिएको हुनाले यो फोहरी खेल कसरी हुन सक्छ । तर हाम्रो देशमा राजनीतिलाई फोहरी खेल नै बनाएका छन् । अहिले नेतृत्ववर्गमा नैतिकताको अभाव देखिन्छ । देशमा भ्रष्टाचार बढेको छ । नैतिकवान कार्यकर्ताहरूलाई साइड लगाइएका छन् । जसको लाठी उसकै भैंसीको भनाइ चरिनार्थ देखिएको छ । त्यसैले होला चुनावमा जनता पनि आफ्ना मत कसलाई दिने अलमलमा परेका छन् । भर्खर २ महिना अघि प्रतिनिधि सभाको निर्वाचन सकिएको छ । यसको परिणाम अनुसार कसैको पनि बहुमत पुगेन, फलस्वरूप अहिले गठबन्धनको सरकार छ । एक अर्का पार्टीको बीचमा मन्त्री पद पाउन तानातान देखिन्छ । सिद्धान्त र नैतिकताका कुरालाई सबै पार्टीले बिर्सेका छन् । विगतमा देशले पाएका इमान्दार राजनीतिज्ञ अहिले हराएका छन् । उदाहरणको रूपमा हामी आफ्नै देशभित्र बीपी कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह, मनमोहन अधिकारी, विष्णुबहादुर मानन्धर, मदन भण्डारी, सुशील कोइराला जस्ता नेताको नाम बडो आदरसाथ लिन्छौं ।

यी नेताहरू राष्ट्रका लागि केही सोच्थे र त्यसलाई व्यवहारमा उतार्न चाहन्थे । तर अहिलेका नेताहरू देशको सम्पत्तिलाई निजी रूपमा प्रयोग गरेका छन् । अहिलेको पहिलो पुस्ताका नेताहरूमध्ये रामचन्द्र पौडेलका नाम पनि माथि उल्लेख भएका नेताहरूका पक्तिमा राख्दा केही अन्याय हुँदैन होला । वहाँको जीवनमा पनि कुनै किसिमको दाग लागेको देखिँदैन अर्थात वहाँको जीवनलाई बेदागी राजनीतिज्ञको रूपमा लिने गरिन्छ । वहाँ सधै ‘सादा जीवन उच्च विचार’ लाई आफ्नो जीवनको आदर्श बनाएका छन् । वहाँको विगतको जीवनतिर फर्केर हेर्दा, वहाँले २०१६ साल देखिनै विद्यार्थी जीवनबाटै आफ्ना राजनीति शुरू गरेका छन् । प्रजातान्त्रिक लडाइको सिलासिलामा १४ वर्ष जेल जीवन बिताएको इतिहास छ । जति सजाय पाएपनि वहाँ आफ्नो आदर्शबाट कहिले पनि बिचलित हुनु भएन । २०१७ सालमा राजाले संसद भंग गरी विपीलाई जेल हालेको विरोधमा नेपाली कांग्रेसको निर्देशनमा प्रजातान्त्रिक आन्दोलनमा सहभागी भएका थिए । २०२० सालमा संस्कृत विद्यार्थी संघको सचिव हुँदा उपत्यकामा भएको आन्दोलनबाट वहाँ पक्राउ परेका थिए । त्यसपछि २०२३ सालमा सरस्वती क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा जितेका थिए । २०२७ सालमा नेपाल विद्यार्थी संघको संस्थापक सदस्य भएका थिए । २०३४ सालमा नेकांपाको तनहुँ जिल्ला सदस्य तथा २०४० सालमा तनहुँको जिल्ला उपसभापतिको पदमा विजयी भएका थिए । यस्तै २०४८ सालमा तनहुँबाटै सांसद पदमा निर्वाचित भएर नेपाल सरकारको स्थानीय विकास मन्त्रीको पदभार सम्हालेका थिए ।

२०४९ सालमा वहाँले कृषि मन्त्रीको पदभार ग्रहण गरेका थिए । पुनः तनहुँबाटै दोस्रो पटक २०५१ सालमा सांसद पदमा विजय भई प्रतिनिधिसभाका सभामुख समेत भएका थिए । २०५६ सालमा पुनः तनहुँबाटै तेस्रो पटक सांसद, उपप्रधान र सूचना तथा सञ्चार मन्त्री, स्थानीय विकासमन्त्री, उपप्रधान र गृहमन्त्री भएका थिए । २०६२ सालमा नेपाली कांग्रेस पार्टीको महामन्त्री भए । यस्तै २०६३ सालमा शान्ति तथा पुनर्निमाणमन्त्री भएर सफलतापूर्वक आफ्नो जिम्मेवारी बहन गरेका थिए । २०६४ सालमा उहाँ नेपाली कांग्रेसका उपसभापति, चौथो पटक तनहुँबाटै सांसद, संसदीय दल तथा विपक्षी दलका नेता भएर समेत आफ्ना जिम्मेवारी पूरा गरेका थिए । २०७० सालमा पाँचौ पटक सांसद भएका थिए । २०७२ सालमा आएर कांग्रेसका कार्यवाहक सभापतिको उच्च पदमा बसी काम गरेका थिए । अन्तमा २०७९ सालमा तनहुँबाट छैठौं पटक सांसद बनेका छन् । अहिले उनी येहि फागुन २५ गतेको निर्वाचनबाट नेपालको श ी षर्् ा प द राष्ट्रपतिमा विजय हासिल गरेका छन् । वहाँ अहिले नेपालको तेस्रो राष्ट्रपति बन्नु भएको छ । यहाँ उनको बारेमा जे जति उल्लेख छन् । त्यसमा उनी सादा तथा इमान्दार व्यक्तित्वको रूपमा आफूलाई उभ्याउन सफल भएका छन् । उनी नेपाली कांग्रेसको नेताहरूमध्ये एउटा बेदागी नेताको रूपमा आफ्नो पहिचान बनाउन सफल भएका छन् । विगतमा जे जस्तो पाए पनि अहिले देशको शीर्षपदमा आसीन भएकाले भविष्य कम जोखिमपूर्ण रहेको देखिँदैन । राष्ट्रपति जस्तो पद एउटा अभिभावकीय पद भएको देशवासीको आकांक्षा यहाँमाथि बढी अडेको देखिन्छ । यहाँभन्दा अघि नेपालमा दुईवटा राष्ट्रपति भइसकेका छन् ।

पहिलो राष्ट्रपति डा. रामवरण यादव र दोस्रो राष्ट्रपति विद्यादेवी भण्डारी थिए । डा. रामवरण यादवका कार्यकाल त्यति विवादित देखिएन । रुक्मांगत कटुवाललाई लिएर केही विवादित बनेका डा. रामवरण यादव आफ्ना सफाइ दिइसकेका छन् । उहाँको भनाइ अनुसार त्यसबेलाको संक्रमणकालीन अवस्थालाई हेरेर त्यस्तो गर्नु परेको थियो । त्यसबेला बेग्ला बेग्लै दुईवटा सैनिक निकाय भएकाले त्यस्तो गर्नु परेको थियो । यसलाई देशका अधिकांश राजनैतिक विश्लेषकहरूले सकारात्मक रूपमा लिएका छन् । दोस्रो राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल विवादभन्दा माथि उठ्न सकेन । उनी दलगत रूपमा तटस्त भूमिकामा बसेर काम गर्न सकिनन् । विभिन्न समयमा भिन्न भिन्न आरोपमा मुछिँदै आए । प्रष्ट रूपमा उनी नेकपा (एमाले) का एउटा नेताको रूपमा आफ्नो जिम्मेवारी वहन गरेकी थिए । यसले गर्दा ज न त ा माझ उनको बारेमा पूर्ण अवधिभर नकारात्मक टिकाटिप्पणी भइ रह् यो । निवर्तमान राष्ट्रपति भण्डारी २२ महिने पहिलो कार्यकाल भन्दा दोस्रो कार्यकाल बढी विवादित रह्यो । राष्ट्रपति कार्यालय हाता मै हेलिप्याड बनाउन प्रयास गरेको तथा सवारी हुँदा सडक घण्टौं सुनसान गराएकामा उनको आलोचना भइरह् यो । अति विशिष्ट व्यक्तिहरूको औपचारिक सवारीमा नागरिकले सास्ती पाउँदै आएका छन् । संवैधानिक निकायका पदाधिकारीले समेत दसैंमा राष्ट्रपति भण्डारी अगाडि घुंडा टेकेर टीका थापेको विषय पनि विवादित बन्यो ।

पर्वतिहारमा राष्ट्रपतिको सबारीलाई राजाको सवारी जस्तै तामझाम बनाएको देखियो । उनी जनताका प्रतिनिधि हुँ भने कुरा बिर्सिए । यस पटक सरकारभन्दा राष्ट्रपतिको निर्वाचन बढी रोचक भयो । यसको कारण मिलिजुली सरकारका पार्टीहरू कहिले यता त कहिले उता ढल्केका कारणले गर्दा यकिन गर्न सजिलो भएन । यसको अर्को कारण निवर्तमान राष्ट्रपतिले संविधानको सीमाभन्दा बाहिर गएर गरेका राजनीतिक गतिविधि नै हुन् । मूलतः तीनवटा विषयमा निवर्तमान राष्ट्रपति अत्यन्त आलोचित रहनुभयो । तत्कालिन प्रधानमन्त्री ओलीले दुई–दुई चोटी गरेको विघटनलाई आँखा चिम्लेर प्रमाणित गर्नु भयो । पहिलो पटकको विघटनलाई अदालतले ब्यँुझाए पनि पुनः दोस्रो पटक त्यही गल्ति दोहोराउनु भयो । अर्कोतिर राष्ट्रपति आफैले रतिभर नसोची जारी गरेको नागरिकता अध्यादेश संसदले पारीत गरेर विधेयकको रूपमा आउँदा आपतिजनक देख्नु राष्ट्रिय स्वार्थभन्दा राजनीतिक बढी देखियो । जसलाई सामान्य नागरिकलाई पनि अनुमान गर्न कठिन भएन । उहाँको यो अक्षम्य गल्ति थियो । नेपालको संविधानले कल्पना गरेका भावनालाई आत्मसात गरि सबै नेपाली नागरिकले यसका मातहतमा बसी नियम कानुनको पालना गर्नु सबैको कर्तव्य हुन आउँछ । राष्ट्रपतिको मर्यादामा बस्छु र संविधानको रक्षक र मुलुकको अभिभावक भएर रहन्छु भन्ने मान्यताको आधारमा रहँदा राष्ट्रपतिको गरिमा अझै उँचाइमा जाने थियो र आज भइरहेका टिकाटिप्पणी हुने थिएन ।

कुनै राष्ट्रपति पनि म कुन जगमा उभिएर यहाँसम्म आइपुगेको हुँ भनेर आफूलाई पछाडि फर्केर हेर्ने हो भने स्वतः आफूले गरेका कामकारबाही प्रति लज्जित हुनु पर्ने होइन र ! हालै निर्वाचित रामचन्द्र पौडेलका विगतका इतिहासलाई पल्टाएर हेर्दा एउटा निष्पक्ष, तरस्थ र विधिको पालनामा प्रतिबद्ध व्यक्ति भएकोमा कुनै शंकाको ठाउँ रहेको देखिँदैन । राष्ट्रपतिको शपथ पश्चात एउटा लिखित बक्तव्य नै जारी गरेर राष्ट्रपति संस्थाले निर्वाह गर्ने भूमिकाले संविधान र शासन व्यवस्थाको अभ्यास प्रभावित हुनेमा सचेत रहेर निर्दिष्ट कार्य सम्पादन गर्दा निष्पक्ष, तटस्थ र विधिको पालनामा प्रतिबद्ध रहने बताउनु भएको हो । उहाँले प्रष्ट रूपमा भन्नु भएको छ । ‘नेपालको राष्ट्रिय एकताको प्रवद्र्धन, स्वाधीनताको रक्षा, संविधानको पालना र संरक्षण गर्ने संवैधानिक जिम्मेवारी नै मेरा मार्गनिर्देशक सिद्धान्त रहने छन् । राष्ट्रपतिका काम कर्तव्य तथा जिम्मेवारी बहन गर्दा संविधान प्रदत्त मर्यादा तथा शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने राष्ट्रिय अभियानमा सरिक हुन सदैव तत्पर रहने छु ।’ यस भनाइले जनतालाई के विश्वास दिलाउन खोजेका छन् भने हिजो राष्ट्रपतिले गर्ने काम मबाट कदापि हुनेछैन । नागरिकको हैसियतमा प्राप्त गरेको पद नागरिक सरह देखिनका लागि हुनुपर्छ । व्यवहारमा भड्किलो स्वभाव देखाएर बरू उनको व्यक्तित्वको उँचाइ तल खस्ने नै हो । यस पिढीका नेपाली कांग्रेसमा दुई नेताका नाम सबैले उतिकै आदरसाथ लिएका छन् ।

यी व्यक्तिहरू हुन् वर्तमान राष्ट्रपति रामचन्द्र पौडेल र स्व. प्रदीप गिरि । प्रदीप गिरिको निस्वार्थ भावनाले गरेको कामले उहाँको उँचाइलाई अझ निकै उँचाइमा उठाएको हेर्न सकिन्छ । पदमा मात्र गएर हुँदैन । उनको चरित्र कस्तो छ ? देशका लागि कस्तो समर्पण छ ? जनतालाई के दिएका छन् ? यस्ता प्रश्नहरूका उत्तरले कुनै पनि नेतालाई महान बनाउँछ । भारतीय राष्ट्रपतिहरू मध्ये लगभग सबै राष्ट्रपति विल्कुल सादा जीवन तथा उच्च विचारलाई नै आत्मसात गरेका छन् । नेपालका राष्ट्रपतिहरूको आडम्बरी तथा तडक भडकले जीवनलाई तलनै धकेलेको देखिन्छ । यदि त्यस्तो गर्न सकिएन भने राजा र राष्ट्रपतिमा के अन्तर भयो र ! त्यसैले वर्तमान राष्ट्रपतिले आफ्ना सादा जीवन र उच्च विचारलाई जहाँ गएपनि आत्मसात गर्दै गए भने उहाँलाई सधैंका लागि मानिसहरू उदाहरणको रूपमा सम्झिरहने छन् होइन भने आउने÷जाने नियमित प्रक्रियाभन्दा अरू केही हुन सक्दैन । अन्तमा वर्तमान राष्ट्रपति सादा जीवनका एउटा पर्दायको रूपमा मानिसहरू सम्झीरहेका छन् । यहाँको पाँच वर्षे राष्ट्रपतीय अवधीमा कुनै किसिमको तडकभडक न आओस् भने जनताको शुभेच्छा छ । इतिश्री ।

Comment


Related News

Latest News

Trending News