२०७९ चैत्र ५, आईतवार ०९:११

चुरे तथा वनजंगल संरक्षण अभियानको एक मुठी चामल संकलन अभियान जारी रहेको छ । विभिन्न माग राखी अभियानले फागुन १४ गतेदेखि जनकपुरधामको जनकचोकमा अनिश्चितकालीन धर्ना प्रदर्शन गर्दै आएको छ । सो धर्ना प्रदर्शनमा बसेकाहरुको लागि भोजनका व्यवस्था गर्न र नागरिकलाई अभियानको आन्दोलनसंग जोड्ने मुख्य उद्देश्यले एक मुठी चामल अभियान सञ्चालन गरेको छ ।

लगातार धर्नामा बसेका भूमिहीन व्यक्तिहरुको लागि भोजनमासमेत समस्या उत्पन्न भएको समयमा सोही मुठी चामलले दर्जनौ प्रदर्शनकारीको दुई छाक टर्ने गरेको अभियानका राष्ट्रिय संयोजक सुनिल कुमार यादवले बताए । मुठी चामल संकलनको ब्यानर लिएर जनकपुरधाम नगर क्षेत्रसहित धनुषा र महोत्तरीको विभिन्न गाउँमा एक मुठी चामल संकलन जारी रहेको छ । जनकपुरधामको पसलहरुमासमेत अभियानका व्यक्तिहरुले चामल संकलन गरेको देखिएको छ । धर्ना प्रदर्शन लामोसमयदेखि जारी रहँदा पनि सम्बन्धित निकायले कुनै चासो नदेखाएको गुनासोसमेत संयोजक यादवले बताए । अभियानले भूमिहीनहरुलाई तत्काल आवाससहितको जग्गाको व्यवस्था हुनुपर्ने र चुरे दोहन तत्काल रोक्नुपर्ने लगायतका माग गर्दै आन्दोलन सुरु गरेको छ ।

आन्दोलनको क्रममा मधेश प्रदेशका मुख्यमन्त्री कार्यालयमासमेत धर्ना प्रदर्शन गरेको छ भने धनुषा जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री समक्षसमेत मागबारे ज्ञापनपत्र बुझाएका छन् । तर पनि कुनै सुनुवाइ नहुँदा एक मुठी चामल संकलनसहित जनकचोकमा अनिश्चितकालीन धर्ना प्रदर्शन सुरु गरिएको संयोजक यादवले बताए । यादवका अनुसार सोमबार सिरहामा सरकार विरुद्ध जुलुश प्रदर्शन तथा प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापनपत्र बुझाइने कार्यक्रम रहेको छ भने ८ गते बुधबार महोत्तरीको जलेश्वरमा विरोध जुलुश प्रदर्शन गर्ने तयारी अभियानको रहेको जनाइएको छ ।

Comment


Related News

Latest News

Trending News