अपडेट 
२०७९ चैत्र ६, सोमबार ०७:३९

त्रिभुवन विश्वविद्यालय अन्तर्गतका देशभरिका आंगिक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सम्पन्न भएको छ । आइतबार बिहान ८ बजेदेखि दिउँसो ४ बजे सम्म मतदानको समय तोकिएको थियो ।

मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित रामस्वरुप रामसागर बहुमुखी क्याम्पसमा भएको मतदानमा जम्मा ७ हजार २ सय १५ विद्यार्थी मतदाता रहेकोमा २ हजार ६ सय ६२ जना विद्यार्थीले मतदान गरेका छन् । निर्वाचन अधिकृत रेमन्त मोरबैताका अनुसार आइतबार अबेर साँझ सम्म मतगणना शुरु भएको थिएन ।

त्यस्तै जनकपुरधाम स्थित हजारी जनक संस्कृत विद्यापीठमा भने अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन प्यानलसहित विजयी भएको छ । क्याम्पसमा रहेका ७८ जना विद्यार्थी मतदाताहरुले मतदान गरेका थिए ।

निर्वाचन अधिकृत राधा यादवका अनुसार आइतबार सम्पन्न मतगणनामा सभापतिमा शुभाष झा, सचिवमा मिन प्रसाद पोखरेल, कोषाध्यक्षमा अमित कुमार मिश्रा विजयी भएका छन् । त्यस्तै सदस्यहरुमा मनिषा कुमारी कर्ण तथा हुकुमदेव महतो विजयी भएका छन् ।

त्यसैगरी महोत्तरीको याज्ञवल्क्य संस्कृत विद्यापीठ मटिहानीमा १ सय ५३ मतदात विद्यार्थी रहेकोमा १ सय ३६ जनाले मतदान गरेका छन् । अबेर रातिसम्म मतगणना सम्पन्न हुने मतदान अधिकृत रामजी मिश्रले जनाए । सिरहाको सूर्यनारायण सत्यनारायण मोरबैता बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ ईकाई कमिटी निर्वाचन बहिष्कार गरेको छ ।

फर्जी आइडी कार्ड बनाएर मत खसाएर धाँधली गरिएको भन्दै नेविसंघका विद्यार्थीहरुले विरोध जनाएपछि विवाद हुँदा केही बेरको लागि मतदान स्थगित गरिएको थियो । आइतबार सम्पन्न मतदानमा क्याम्पसमा ८ सय १५ मतदाता विद्यार्थी रहेकोमा ५ सय ५५ जनाले मतदान गरेको निर्वाचन अधिकृत अनिल कुमार मण्डलले बताए । अबेर रातिदेखि मतगणना शुरु हुने बताइएको छ ।

त्यस्तै सर्लाहीको लालबन्दीस्थित जनज्योति क्याम्पसको स्ववियु निर्वाचनमा ९ सय ९६ जम्मा मतदाता रहेकोमा ७ सय ३ जनाले मतदान गरेको निर्वाचन समितिले जनाएको छ । चर्तुभुजेश्वर जनता बहुमुखी क्याम्पस सुखेपोखरीमा जम्मा ९ सय ७० मतदाता रहेकोमा ७ सय ११ जनाले मतदान गरेको निर्वाचन समितिले जनाएको छ भने सर्लाही क्याम्पस मलंगवामा २ हजार २ सय ३७ मतदाता रहेकोमा १ हजार १२ जनाले मतदान गरेको जनाइएको छ ।

त्यसै गरी सप्तरीजिल्लास्थित महेन्द्र बहुमुखी क्याम्पस राजविराजमा कुल १ हजार ९ सय १४ मतदाता रहेकोमा ८ सय ३० मत खसेको र मतगणना कार्य आइतबार अबेर रातिबाट शुरु भएको क्याम्पस प्रशासनले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News