अपडेट 
२०७९ चैत्र ७, मंगलवार ०७:५२

(ज्ञानको अर्थ बोध अर्थात अचेतनाको अन्धकारबाट सचेतनाको प्रकाशमा प्रवेश गर्नु हो । शास्त्र, पुराण, दर्शन, इतिहास, समाजविज्ञान, जीव विज्ञान, रसायन विज्ञान, खगोल विज्ञान आदि मानिसले प्रारम्भिककालदेखी प्रकृतिसंग जुध्दै जीवन र जगतबारे प्राप्त गरेका ज्ञानहरुको संग्रह हो ।) ज्ञानले हामीलाई विवेकशील र तार्किक बनाउँछ । वर्तमानमा सबैभन्दा बढी गिजोलिएको हाम्रो धार्मिक भनिने वैदिक वाङ्गमय, दर्शन र इतिहास देखिन्छ । हाम्रा जतिपनि शास्त्र, पुराण र प्राचीन ग्रन्थहरु छन्, मानव रचित अर्थात पौरुषेय र तत्कालीन मानव समुदायका जीवन व्यवहार, अनुभव र समझादारीहरु हुन् । तर वर्तमानमा धर्म र बजारले जन्माएका अधकचरा जानकारी सहितका प्रवचक र धर्मगुरुले ती सबै ज्ञानका पुस्तकहरुलाई अपौरुषेय अर्थात ईश्वरीय भ्रम सिर्जना गरिरहेका हुन्छन् । यो भ्रम विशेष गरी वेदहरुको बारेमा बढी छ । जबकि यथार्थ के हो भने वेदका सबै ऋचाहरु कुनै न कुनै ऋषि वा ऋषिकाहरुले रचेका हुन् ।

तपाँई आस्तिक हुनुस वा नास्तिक हुनुस, तर्कशील हुन तथा सही चिन्तन पद्धति अपनाउन तपाँईमा सही ज्ञान आवश्यक छ । यसकारण यस स्तम्भमा हाम्रा प्राचीन र मध्यकालीन ज्ञान मिमांसाको बारेमा सामान्य, संक्षिप्त तर सही जानकारी गराउने उद्देश्यले एउटा विशेष श्रृंखला ‘ज्ञान श्रृंखला’ शुरु गरिएको छ । यस लेखनको उद्देश्य सामान्य जिज्ञासु पाठकको ज्ञानवृद्धि संगसंगै उच्च कक्षाका समाजशास्त्र र सँस्कृति विषयका छात्रहरुको निम्ति उपयोगी बनाउने पनि हो । हरेक महिनाको कुनै एउटा लेख यस ज्ञान श्रृंखला अन्तर्गत लेख्नेछु । त्यसो भए आउनुस पहिलो श्रृखलामा ऋगवैदिक र उत्तरवैदिक कालीन समाजबारे केही संक्षिप्त चर्चा गरौँ :

ऋग्वैदिक समाज र सँस्कृति

पुरातत्वविद् र इतिहासकारहरुका मत (आर्य प्रवासन सिद्धान्त) अनुसार घुमन्ते चरित्रका प्रारम्भिक वैदिक आर्यहरुको समूह अनुमानतः २००० ईसापूर्व (वा शायद त्यसभन्दा केही बढी) मध्य एसियाको बैक्ट्रिया भन्ने ठाउँबाट हालको ईरान हुँदै दक्षिण एसियामा प्रवेश गरेको थियो । ऋग्वेदको धेरै भागको लेखन उनिहरु दक्षिण एसियामा प्रवेश गर्नुभन्दा पहिले नै भैसकेको इतिहासकारहरुको मत छ । सम्भवतः यस्को अन्तिम भाग दक्षिण एसियामा लेखिएको हो । त्यसैले यसको रचनाकाल २००० ईसापूर्वभन्दा धेरै पहिले भएको देखिन्छ । ऋग्वेदको अध्ययनबाट के बुझिन्छ भने प्रारम्भिक वैदिक आर्यहरु सबैभन्दा पहिले सप्त सैन्धव क्षेत्र (हालको पाकिस्तानको सिन्ध र भारतको पञ्जाब क्षेत्र)मा प्रवेश गरेका थिए । वैदिक आर्यहरु विभिन्न ‘जन’हरुमा विभक्त थिए र जनको प्रमुखलाई राजन भनिन्थ्यो । जन विशमा, विश ग्राममा, र ग्राम, कुल र गृहमा विभक्त थियो । आर्य समुदायको यस विभाजनका प्रमुखहरुलाई विशपति, ग्रामणी, कुलप र गृहपति भनिन्थ्यो । शुरुमा जनबाट छनौट हुने प्रमुख राजन पछि अनुवांशिक भयो र उसको राजभिषेक हुन थाल्यो । राजनमाथी नियन्त्रण राख्न ‘सभा’ र ‘समिति’ जस्ता दुईवटा संस्थाहरु पनि थिए । सभा अनुभवी र वृद्धहरुको संस्था थियो भने समितिमा युवाहरुले भाग लिने गर्थे । यद्यपि ऋग्वेदमा सबैभन्दा पुरानो संस्था ‘विदथ’को चर्चा पाइन्छ, जहाँ जनको विविध विषयबारे छलफल हुने गथ्र्यो ।

यी सामुदायिक संस्था सञ्चालनको निम्ती प्रजाले राजन (पछि गएर राजा)लाई उपहार दिने गथ्र्यो, जसलाई ‘बलि’ भनिन्थ्यो । उत्तर वैदिककालमा राजन राजामा परिणत भएपछि स्वेच्छिक बलि ‘कर’मा परिणत भयो । ‘कर’ अर्थात् राजाले बाध्य गरेर असुल्ने रकम । ऋग्वैदिक आर्यजनका राजाहरुका बीच संघर्षहरु पनि हुने गथ्र्यो । ऋग्वेदमा यस्तो संघर्ष पहिलो पटक हरियुपिया नामक स्थानमा भएको उल्लेख पाइन्छ । केही इतिहासकारहरुले हरियुपियालाई सिन्धु घाटीको प्राचीन हरप्पा सभ्यतासंग तुलना गर्छन् । ऋग्वेदका अनुसार हरियुपियामा याब्यावतीको तटमा प्राचीन आर्य जन तुर्वश, वीचवृन्त र श्रृंजयीहरुको बीच संघर्ष भयो । यस संघर्षमा श्रृंजयहरुको विजय भयो, तर पछि यही संघर्ष ऋग्वेदमा प्रसिद्ध दसराज्ञ संघर्षमा परिणत भएको थियो । ऋग्वेदको सातौँ मण्डलमा उल्लेख भए अनुसार दसराज्ञ युद्ध पुरुष्णी नदी (हाल पञ्जाबमा पर्ने रावी नदी)को तटमा दसवटा प्राचीन जनहरु बीच भएको थियो । यी जनहरुमा पञ्च जनको नामले परिचित पुरु, यदु, अनु, द्रुहा र तुर्वश तथा अन्य जनहरुमा अलिन, पक्थ, भलानस, विषाणि र शिव थिए । यस युद्धमा दुबै तर्फबाट आर्य र अनार्य दुबैले भाग लिएका थिए । यस युद्धको मूख्य कारण त्रित्सु जनको राजा सुदासले आफ्ना नियमित पुरोहित विश्वामित्रको ठाउँमा वशिष्ठलाई नयाँ पुरोहित नियुक्त गरेपछि क्रुद्ध विश्वामित्रले दस जनका राजाहरुलाई जम्मा पारेर युद्ध गरे, तर पराजित भए । वैदिक स्रोतहरुका अनुसार यसै युद्धपछि समस्त आर्यावत्र्तमा आर्यहरुको प्रभाव स्थापित भएको देखिन्छ । प्रारम्भिक आर्य जनहरुमा प्रमुख हुने राजन बदलिँदो विविध अन्तर्विरोधको कारण राजामा परिणत भएका थिए । त्यसरी नै पुरोहित, सेनानी र ग्रामणी राजाका सहयोगीहरु थिए ।पुरोहितको स्थान सर्वोच्च थियो र उनलाई ‘रत्निन’ भनिन्थ्यो । राजाका अन्य अधिकारीहरुमा‘स्पर्श’ (गुप्तचर) र ‘उग्र’ (प्रहरी) थियो ।

ती राजासंग स्थायी सेना हुँदैनथ्यो र आवश्यकताको बेला जनको समितिबाट अस्थायी सेना तयार गरिन्थ्यो । यस्तो सेनाको सञ्चालन आर्यभन्दा बाहिरका ब्रात्य गण, ग्राम र सर्ध नामक सम्भवतः अनार्यहरुको टोलीले गर्ने गथ्र्यो । यसबाट के बुझिन्छ भने प्रारम्भिक आर्यहरु दक्षिण एसियामा प्रवेश गर्ने बेला अनार्यहरुसंग युद्ध गर्नु परेपनि समयसंगै आर्य र अनार्यमा सहकार्य पनि जन्मिएको थियो । आर्यहरुका विभिन्न जनहरुमा सबैभन्दा सानो इकाई गृहका प्रमुख गृहपति परिवारको पिता हुने गर्थे । प्रारम्भिककालमा मातृसत्तात्मक समाज दक्षिण एसियामा प्रवेश गरुन्जेलसम्म पितृ प्रधान समाजमा परिणत भैसकेको थियो । परिवार संयुक्त थियो, ऋग्वेदमा काका, काकी, आमापट्टीको बाजे–बज्यै, भतिजा सबैको निम्ति एउटै ‘नप्तृ’ शब्दको प्रयोग भएको पाइन्छ । पितृप्रधान समाज भएपनि ऋग्वेदमा पत्नीको स्थान महत्वपूर्ण नै देखिन्छ । ऋग्वेदको एउटा ऋचामा ‘जायदस्तम्’ भन्ने शब्द उल्लेख छ, जस्को अर्थ हुन्छ ः पत्नी नै गृह हो । ऋग्वैदिक समाजमा वर्ण व्यवस्थाको उल्लेखपाइन्छ । तर त्यतिबेला यो संकीर्ण र विभेदयुक्त अर्थमा प्रयोग भएको देखिँदैन । यद्यपि अनार्यहरु भने आर्यहरुको निम्ति हेय र घृणाका पात्रको रुपमा अवश्य वर्णित छन् । यस्को कारण उनिहरुसंगको स्थायी संघर्ष थियो । वर्णको एउटा अर्थ वरण गर्नु अर्थात् स्वीकार गर्नु र दोस्रो रंग हुन्छ । रंगको दृष्टिले आर्यहरु गौरवर्णका र अनार्यहरु श्याम अर्थात् कालो वर्णका थिए । तर कार्यविशेषको अर्थमा ऋग्वैदिक आर्यहरुको एउटै परिवारमा विविध वर्णका पाइन्छन् । ऋगवेदको नवौँ मण्डलमा एउटा व्यक्तिले भन्छ : “म कवि हुँ, मेरा पिता वैद्य छन् र मेरी माता पिठो पिस्ने कार्य गर्छिन् । हामी फरक कार्य गरेपनि एउटै परिवारमा बस्छौँ ।” तर समयसंगै यो वर्ण विभाजन रुढ, जटिल र असमान हुँदै गएको देखिन्छ । ऋग्वेदको दशम् मण्डलको पुरुष सूक्तमा पहिलो पल्ट चारवटा वर्णको उल्लेख गरिएको पाइन्छ । यस सूक्त अनुसार आदि पुरुषको मुखबाट ब्राह्मण, बाहुबाट राजन्य (क्षत्रीय), जंघा (तिघ्रा)बाट वैश्य र गोडाबाट शूद्रको जन्म भएको भनिएको छ । यसबाट के बुझिन्छ भने प्रारम्भमा कबिला चरित्रका आर्यहरु विविध जन र अनार्यसमूहसंगको संघर्ष र अन्तर्घुलनको माध्यमबाट एउटा विशिष्ट समाजमा विकसित भयो ।

ऋग्वेदको दसौँ मण्डलसम्म आई पुग्दा समाज शासकीय र सेवामुलक कार्य अर्थात सुविधाजन्य कार्य र शारि रिक श्रम प्रधान कठिन कार्य गर्नेहरुको समाजमा परिणत भैसकेको थियो । यसैकारण शासकहरु सैन्यबलको आधारमा शासन र सुविधाजन्य कार्यहरु गर्ने र अन्यहरु कठोर शारीरिक श्रम गर्न बाध्य समेत गरिने समुदायको रुपमा विकसित भयो । यो शासकीय सुविधाजन्य र कठोर कार्य गर्न बाध्यहरुको विभाजन नै पछि गएर रुढ हेय र अपमानजन्य वर्ण र जातिको रुपमा विकसित भयो । ऋग्वैदिक समाजमा दास र दासीहरुको उल्लेख पाइन्छ । आर्य समाजमा आर्य जनहरु बीच तथा अनार्यहरु संगको संघर्षमा विजय र पराजयको परिणामपनि यी प्रारम्भिक दास र दासीहरु थिए । प्रारम्भमा ‘सबै संगै हिँडौँ, संगै बोलौँ’को आदर्श वाक्य तथा सीमित चेतनाका वर्गविहीन आदिम साम्यवादी समाज पछि गएर दास र स्वामीमा विभाजित भयो । ऋग्वैदिक पितृ प्रधान समाजमा प्रारम्भमा स्त्रीको अवस्था उच्च थियो । उनिहरुलाई सम्पत्तिको अधिकार बाहेक प्रायः सबै अधिकारहरु थिए । वयस्त भएपछि अर्थात् १६ वर्ष भएपछि मात्र विवाह हुन्थ्यो । उपनयन संस्कार आजको कर्मकाण्डीय अर्थमा हुँदैनथ्यो । त्यतिबेला उपनयन हुनु भनेको शिक्षा अर्थात् वेद पढनुको अधिकार प्राप्त गर्नु थियो । त्यतिबेला स्त्रीको पनि उपनयन संस्कार हुन्थ्यो, अर्थात् स्त्रीलाईपनि शिक्षाको अधिकार प्राप्त थियो । ऋग्वेदका कयौँ मन्त्रहरुको रचियता अपाला, घोषा, लोपामुद्रा र शिक्ता जस्ती अनेकौँ ऋषिकाहरु छिन् ।स्त्रीहरुलाई सभा, समिति र विदथमा भाग लिने राजनीतिक अधिकारपनि थियो ।

ऋग्वेदमा विधवा विवाहको पनि उल्लेख छ । प्रारम्भिक आर्य समाजमा बहुपति प्रथापनि थियो । त्यसरी नै पतिको मृत्यु भएमा वा पति सन्तान उत्पन्न गर्न योग्य नभएमा वा निःसन्तान विधवा भएमा वा पति दसवर्षभन्दा बढी अनुपस्थित रहेमा स्त्रीले कुनै निकटका वा प्रियजनसग संसर्ग गरेर सन्तानको कामना गर्नसक्थिन । यस प्रथालाई नियोग विधि भनिन्थ्यो । त्यतिबेला कुमारी कन्याले पनि सन्तानको कामना गर्न सक्थिन । यस विधिबाट विवाहित स्त्रीले जन्माएको सन्तानलाई क्षेत्रज, कुमारी कन्या (अमाजु)ले जन्माएको सन्तानलाई कनीन र विधवा (पुनर्भू) स्त्रीले जन्माएको सन्तानपुनर्भवको नामबाट चिनिन्थ्यो । त्यतिबेला स्त्रीहरुमा सती प्रथा, पर्दा (घुम्टो) र दाइजो जस्तो कुप्रथा थिएन । त्यतिबेला अन्तवर्णीय विवाहपनि समाज स्वीकृत थियो । पुरुष उच्च वर्ण र महिला निम्न वर्ण भएमा अनुलोम र उच्चवर्णकी स्त्रीले निम्न वर्णको पुरुषसंग विवाह गरे प्रतिलोम विवाह भनिन्थ्यो । प्रारम्भिक आर्यहरु शाकाहारी र मांसाहारी दुबै भएपनि अधिकांशतः दूध र त्यससंग मिश्रित खाद्यहरु बढी प्रयोग हुन्थ्यो । दुधमा जौ वा गहुँ (यव) मिसाएर पकाएको खीर (क्षीर) लोकप्रिय पक्वान्न थियो । सातुमा दही मिसाएर करम्भ नामक भोजन तयार गरिन्थ्यो । पेय पदार्थमा ऋग्वेदमा सोमलाई देउताको रुपमा कयौँ ठाउँमा स्तुति गरिएको छ, तर अनार्यहरुले बढी प्रयोग गर्ने भएर होला सुरालाई मादक पेयको रुपमा निन्दा गरिएको छ । तर आर्यहरुलेपनि सुरापान गरेको प्रसंग ऋग्वेदमा छ । ऋग्वैदिककाल कृषिको तुलनामा पशुपालक र कबिलाई समाज बढी थियो । अधिकांशतः गाईको निम्ती युद्ध हुने गथ्र्यो । गविष्टि, गोत्र, गोप (राजाको अर्थमा) गोपु, गम्य (युद्धको अर्थमा), गोष्ठि, आदिले आर्यहरुको जीवनमा गाईको महत्व दर्शाउँछन् ।

गाईको बहुउपयोगकै कारण आर्यहरुले गाईलाई अधन्या (मार्न नहुने) भनेका थिए । यद्यपि यस्का विपरीत उदाहरणहरु पनि पाइन्छन् । आर्यहरुको निम्ति गाईपछिको दोस्रो महत्वपूर्ण पशु अश्व अर्थात् घोडा थियो । ऋग्वेदमा कृषिसंग जोडिएका २४वटा मन्त्रहरु मात्र छन् । यसलेपनि ऋग्वैदिककालीन समाज पशुपालक समाज थियो भन्ने बुझिन्छ । ऋग्वैदिक समाज पशुपालक समाज भएपनि यस्मा काठको काम गर्ने बढई (तक्षन), रथकार, कपडा बुन्ने (सिरी), कर्मारि (धातुको काम गर्ने) छालाको काम गर्ने (चर्मकार) आदि शिल्पीहरुको उल्लेख छ । यस्मा अयस् अर्थात् तामा वा काँस धातुको मात्र उल्लेख पाइन्छ । ऋग्वैदिक आर्यहरुलाई फलाम थाहा थिएन । सुनलाई हिरण्य र त्यसैकारण सुनपाइने सिन्धु नदीलाई हिरण्यी भनिएको छ । ऋग्वैदिक आर्यहरु घुमन्ते प्रकृति आश्रित भएकोलेअधिकांशतः प्रकृतिको स्तुति गर्थे । निरुक्त ग्रन्थका रचयिता यास्कले ऋग्वैदिककालका ३३वटा देवताहरुको देवमण्डली भनेका छन्, जस्मा आकाशका देवताहरु ः घौष, सूर्य, ऊषा, मित्र, सविता, विष्णु, अश्विन पूजन, वरुण, अदिति ; अन्तरिक्षको देवताहरु : इन्द्र, वायु, मरुत, रुद्र, पर्जन्य, आप आदि ; र पृथ्वीका देवताहरु ः अग्नि, सोम, अरण्यानी, वृहस्पति, सिन्धु, सरस्वती आदि उल्लेखनीय छन् ।

प्रारम्भिक आर्यहरुले यी देउताहरुको उपासना अर्थात् पूजा मूख्यतः स्तुति पाठ र यज्ञबलि अर्पण र शाक (सागपात) कुनै अनुष्ठान वा कर्मकाण्ड बिना अर्पण गर्थै । पशुहरुको बलि दिँदा एउटा स्तम्भ (युप)मा बाँधिन्थ्यो । आर्यहरुको उपासना पूर्णतः लौकिक अर्थात भौतिक थियो । यस्मा उनिहरुले पशुधन आदिको बलि दिन्थे । त्यतिबेलाका मानिसहरु आध्यात्मिक उत्थान वा जन्म र मृत्युको कष्टबाट मुक्तिको निम्ती पूजापाठ गर्दैनथ्ये । अर्थात् ऋग्वैदिककालीन समाज पूर्णतः लौकिक अर्थात् जागतिक अर्थात् भौतिक थियो । (लेख निकै लामो भयो । यसलेखको बाँकी भाग अर्थात् उत्तर वैदिककालीन समाज र संस्कृतिबारे अर्को हप्ताको लेखमा लेख्ने छु ।)

Comment


Related News

Latest News

Trending News