जनता समाजवादी पार्टी( जसपा)को विधान अधिवेशन सर्ने संभावना बढेको छ ।
चैत महिनाको २७ र २८ गते दुई दिन काठमाण्डुमा विधान अधिवेशन गर्ने निर्णय भएको थियो । पार्टी स्रोतहरुका अनुसार बारा–२, चितवन–२ र तनहुँ–१ मा वैशाख १० गते हुने उपचुनावको कारण विधान अधिवेशन सर्ने संभावना बढेको छ । बारा जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ बाट जसपाका अध्यक्ष उपेन्द्र यादव चुनाव लडने निश्चित छ ।
निर्वाचन आयोगले उपचुनावका लागि सार्वजनिक गरेको कार्यक्रम अनुसार चैत २० गते उम्मेदवारी दर्ता रहेको छ । जसपा अध्यक्ष यादव नै उम्मेदवार हुने भएपछि विधान अधिवेशनलाई चुनावपछि सार्ने संभावना रहेको स्रोतले बताए । जसपाले चुनाव, विधान अधिवेशन र संघीय सरकारमा सहभागिताको विषयमा छलफल गर्न कार्यकारिणी समितिको बैठक विहीबार बोलाएको छ । बैठकको प्रमुख एजेण्डा चुनाव, विधान अधिवेशनको तयारी र संघीय सरकारमा सहभागिता रहेको प्रवक्ता समेत रहेका मधेश प्रदेशसभाका सभासद मनिस सुमनले जनाए । ‘उपचुनावको तयारी र संघीय सरकारमा सहभागिताको विषयमा बैठकमा निर्णय हुनेछ ’ उनले भने, विधान अधिवेशन निर्धारित समयमै गर्ने अथवा सार्ने विषयमा बैठकले निर्णय गर्नेछ ।
कार्यकारिणी समितिले तीनै विषयमा निर्णय लिने उनले बताए ।काठमाण्डुमा उपलब्ध कार्यकारिणी समितिका सदस्यहरुको सहभागिता रहने भए पनि बाहिर रहेका सदस्यहरुको धारणा टेलिफोनबाट पनि लिन सकिने उनले बताए । बारा–२ बाट जसपाका नेता रामसहाय यादव निर्वाचित भएका थिए । उनी उपराष्ट्रपति निर्वाचित भएपछि सो क्षेत्रमा उपचुनाव हुन लागेको छ । उपचुनावमा पार्टी अध्यक्ष यादव उम्मेदवार हुने निश्चित छ । यादवलाई सो क्षेत्रमा माओवादी केन्द्र, नेकपा एस र नेपाली कांग्रेसले समर्थन गर्ने निश्चित छ । यादवलाई चार दलको समर्थन रहे पनि उनी १० दलीय गठबन्धनको समर्थन चाहेका छन् ।
बारा–२ मा जसपाको १३ हजार ८ सय, माओवादी केन्द्रका शिवचन्द्र कुशवाहाले १३ हजार ४ सय र जसपाकै विद्रोही स्वतन्त्र उम्मेदवार रामकिशोर यादवको ११ हजार बढी मत रहेको थियो । विद्रोही उम्मेदवार जसपामा फर्किसकेका छन् । जसपाको पक्षमा झण्डै ३८ हजार मत रहेको देखिन्छ । जसपाका अध्यक्ष यादव सप्तरी जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ बाट पराजित भएका थिए । उनलाई प्रतिनिधि सभामा पु¥याउन कांग्रेस सम्मिलित प्रमुख ४ दलीय गठबन्धनले सो क्षेत्रका सांसद रामसहाय यादवलाई उपराष्ट्रपति बनाएर यादवलाई चुनाव लडाउने निर्णय गरेको थियो । जसपा मधेश प्रदेशका अध्यक्ष रामबाबु यादवले चुनावको तयारी थालिसकिएको बताएका छन् ।‘चुनावमा राष्ट्रिय अध्यक्ष नै उम्मेदवार हुने भएकाले तयारी सुरु भइसकेको छ ’ उनले भने, चुनाव सम्बन्धी अन्य निर्णयहरु हुँदै गरे पनि प्रारम्भिक तयारी सुरु भइसकेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्लाई यसै हप्ता विस्तार गर्ने तयारी गरेकाले सरकारमा पठाउने सांसदहरुको विषयमा बैठकमा छलफल हुनेछ । सरकारमा राजकिशोर यादव, प्रदीप यादव, दीपक कार्की जाने बलियो संभावना रहेको स्रोतले जनाए ।

