अपडेट 
२०७९ चैत्र ८, बुधबार ०७:३१

जनकपुरधाम उपमहानगरपालिका १३ रजौलस्थित निर्माणाधीन अन्तर्राष्ट्रिय रंगशालाको निर्माण कार्य तीव्र गतिमा भइरहेको छ । रंगशालाको अन्य भौतिक संरचना बन्न अझै बजेट अभाव देखिएको छ । तर खेल हुने मैदानको निर्माण कार्य अन्तिम चरणमा पुगेको जनाइएको छ । राष्ट्रिय खेलकुद परिषद्ले गुठी संस्थानको १७ विघा जमिन लिजमा लिएर निर्माण कार्य सुरु गरेको छ । निर्माण कार्य सुरु भएको पाँच वर्ष बिते पनि बजेट अभावमा अपेक्षा अनुसार काम हुन सकेको छैन् ।

राखेपले ३० वर्षको लागि जग्गा लिजमा लिएर मैदान बनाइरहेको धनुषा क्रिकेट संघका अध्यक्ष शोभाकान्त पाण्डेले जानकारी दिए । उनका अनुसार राखेपले गुठी संस्थानलाई वार्षिक ९ लाख रुपैयाँ भाडा वापत तिर्दै आएको छ । ‘मैदान अभावमा यहाँको खेल र खेलाडी पछाडि परिरहेको छ त्यसकारण हामी हतार–हतारमा मैदान बनाउँदै छौं,’उनले भने,‘ अन्य कुराहरु पछि भइरहन्छ । मैदान भएपछि खेल सुरु गर्ने हाम्रो लक्ष्य छ । तर बजेट अभावकै कारण अन्य भौतिक संरचना निर्माणमा ढिलाई भइरहेको छ ।’ मैदान निर्माण भएसँगै यहाँ मेयर कप पहिलो प्रतियोगिताको रुपमा हुने तयारी भइरहेको छ ।

यही चैत २० गतेदेखि धनुषा क्रिकेट संघको पहल र जनकपुरधाम उप– महानगरपालिकाको सहकार्यमा प्रतियोगिता हुन लागेको छ । यस प्रतियोगिताको लागि १५ लाख जनकपुरधाम उपमहानगरपालिका र दश लाख राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सहयोग गर्ने घोषणा गरेका छन् । प्रतियोगितामा १२ वटा टिम सहभागी गराउने आयोजक संस्थाको तयारी छ । मधेश प्रदेशको प्रत्येक जिल्लाको एक/एक र अन्य प्रदेशको चार टिम सहभागी हुने जनाइएको छ । खेल प्रेमी र मैदान निर्माणका अभियन्ताहरु नियमित रुपमा राजनीतिक दलका नेता, मन्त्री र सांसदहरुलाई निर्माणाधीन रंगाशालाको निरीक्षण गरिरहेका छन् ।

सोही क्रममा बुधबार मधेश प्रदेशको मुख्यमन्त्री सरोजकुमार यादव पनि रंगशाला निर्माण स्थलमा पुगेर निरीक्षण गर्ने बुझिएको छ । खेल अभियन्ताहरुले अतिथि बोलाई ध्यानाकर्षण गराउनुको साथै रंगशाला निर्माणको लागि आर्थिक सहयोग गरिदिन पनि अनुरोध गर्ने गरेका छन् ।

Comment


Related News

Latest News

Trending News