अपडेट 
२०७९ चैत्र ८, बुधबार ०७:३९

जल एउटा तरल पदार्थ हो । विज्ञानले भन्दछ कि पृथ्वीमा दुई तिहाई पानी छ र एक तिहाई मात्र जमिन छ । यदि कुनै कारणले जल र जमिनको यो परिमाणात्मक सन्तुलन कायम गरिएको हो भने यसमा पक्कै पनि कुनै गूढ रहस्य निहीत छ भन्ने बुझ्नुपर्छ । यसको रहस्य फरक दर्शनले अलग दिनु स्वाभाविक होला । तर सामान्य रुपमा हेर्दा यो देखिन्छ कि पानी एकै ठाउँमा मात्र छैन । पानीको ठूलो हिस्सा समुद्र नै हो तर पृथ्वीको हरेक ठाउँमा पानीको उपस्थिति छ । सतहमा पानी नदेखिए पनि जमिनभित्र पानीको उपस्थिति रहेको देखिन्छ । पानीको उपयोगिता निकै भएको यसले संकेत गरेको छ । पानीको रुप धेरै छ । कतै ठोस रुपमा पनि देखिन्छ पानी जबकि हामी बुझ् दछौँ, पानीको स्वाभाविक रुप तरल हो । पानीको तिन रुपमा उपस्थिति देखिन्छ । ठोस, तरल र ग्याँस । पानीको ठोस रुप चाहिँ बरफ हो, हिउँ हो । पानीको ग्याँस रुप चाहिँ बाफ हो, बादल हो । बादललाई पनि पानीको एउटा रुपमा लिन सकिन्छ । पहाडमा जहाँ निकै चिसो हुन्छ, माइनसमा तापक्रम हुन्छ त्यहाँ बरफको रुपमा पानी हुन्छ किनभने त्यहीँ बरफलाई तताउँदा पानी बन्छ ।

पानीलाई धेरै तताउँदा बाफ बन्छ । बाफलाई चिस्याउँदा पानी बन्छ । यसरी पानीको तिन रुप हुन्छ भन्ने कुरो सत्य हो र सर्वसाधारणले देखिने तथा बुझिने गरी हिउँ, पानी र बादल सदैव देखिने कुरा हुन् । यही पानीलाई जल पनि भनिन्छ । जल भनेको पानी हो । पानी जहाँसुकै पनि सबैले बुझ्दछन् तर जल अलिक शिक्षित र संस्कृत नजिक रहेकाले प्रयोग गर्दछन् । यसै गरी पवित्र कामका लागि पानीको प्रयोग गरिँदाको अवस्थामा पानीलाई जल भनिएको पाइन्छ । जललाई जीवन भनिन्छ । यसको अभिधामा सजिलो छ कि जल छ भने जीवन छ तर यसको गुह्यार्थ भने निकै विशाल छ । जललाई जीवनको प्रारम्भ भनिएको हो । जललाई जीवनको प्रारम्भ दुई किसिमले मानिएको पाइएको छ । वीर्य रुप र जीवनको प्रारम्भ रुप । वीर्य रुपको बारेमा के मान्यता रहेको छ भने कुनै पनि वीर्य अत्यन्त पातलो हुन्छ पानीको जस्तै । ठोस वीय देखिने विभिन्न विरुवाको ठोसताभित्र पनि निकै पातलोपना हुन्छ । र, अर्कोले यो विश्लेषण गर्दछ कि सबैभन्दा पहिले पानीमा जीवको जन्म भएको हो । यस मान्यतामा विज्ञानदेखि धर्मशास्त्र पनि एकमत रहेको पाइन्छ । हिन्दू धर्मले सबैभन्दा पहिले विष्णुको मत्स्यावतार पानीमा नै भएको मानेको छ । पानीमा पहिलो अवतार हुनुको अर्थ यो पनि हो कि पानीबाटै जीवन चलेको छ ।

यसै गरी आधुनिक विज्ञानले पनि पानीबाट नै जीवनको उत्पत्ति भएको र विस्तारै पानीबाट जमिन र पानी तथा जमिनमा जीवन बाँच्ने क्रम सुरु भएको बताएको पाइन्छ । विज्ञानको विकासवादी सिद्धान्तले पनि पानीबाटै जीवनको सुरुआत भएको मान्नु तथा शास्त्रहरुले पनि भगवानको पहिलो अवतार पानीमा नै भएको मान्नुले यही संकेत गर्दछ कि पानी नै जीवन हो । पानीको महत्व र महत्ता निकै धेरै रहेको छ । यसै पनि जलबिना जीवनको कल्पना गर्न सकिँदैन । जीवनको कल्पना गर्न नसकिने हुनाले नै जललाई नै जीवन भनिएको हो । जललाई जीवन मान्ने कुरामा सायदै कोहीले अस्वीकार गर्न सक्लान् । यो पनि भनिन्छ कि अन्नबिना मानिस धेरै दिन बाँच्न सक्छ तर पानीबिना मानिस धेरै दिन बाँच्न सक्दैन । मानिसले बाँच्नका लागि जे जे उपभोग र उपयोग गर्दछ, त्यसमा जलको मात्रा निकै बढी हुन्छ भन्ने कुराले पनि जललाई जीवन भनिएको हुन सक्छ । मानिसको शरीरमा पनि पानीको मात्रा बढी छ । पृथ्वीमा जसरी ठाउँठाउँमा नदी र झरनाहरु रहन्छन्, पृथ्वीको गर्भमा जसरी पानी नै पानी रहेको छ । त्यसरी नै शरीरमा पनि पानीको मात्रा रहेको मानिन्छ । शरीरमा पानी विभिन्न रुपमा रहेको हुन्छ । रगतलाई पनि पानीको एउटा रुप मानिएको छ । यसै गरी मासुमा पनि पानीको केही मात्रा हुन्छ । शरीरमा पानीभन्दा बढी भोजनको आवश्यकता हुँदैन । पानीको मात्रा र भोजनको मात्रा कमी भयो भने पहिले पानीको मात्रा पूरा गर्नुपर्छ ।

सबै भोजनको उत्पादन गर्न तथा पकाउनमा पानीको आवश्यकता पर्दछ । फलफूलमा पनि पानीको मात्रा हुन्छ । यसरी पानीले मानिस र समग्र जीवनलाई प्रभावित पारेको हुन्छ । यसबाट यो स्पष्ट हुन आउँछ कि जलको आवश्यकता मानिसलाई छ, मानिसलाई आवश्यक पर्ने सबै वनस्पति तथा जीवजन्तुलाई छ । पर्यावरण र परिवेशलाई छ । मानिसको सम्पूर्ण सेरोफेरो पानीमा केन्द्रित छ । पानीको अभावमा मानिसको अस्तित्वको कल्पना गर्न सकिँदैन । यसकारण पानीको आवश्यकता र महत्व सबैलाई रहेको छ र यो सधैँको लागि रहेको छ । भनिन्छ सबैतिर जल नै जल छ तर पनि जल सीमित छ । जलको आवश्यकता सबैतिर सबैको लागि सधैँको लागि भएकोले जलको सीमितता मानिएको हुनुपर्छ । जलको सीमितताको अर्थ यो पनि मानिएको छ कि पृथ्वीमा रहेको सबै जल मानिसलाई उपयोगिताको दृष्टिकोणले पिउनयोग्य रहेको छैन । पिउनयोग्य रहेको जलको मात्रा पृथ्वीमा उपलब्धताको दृष्टिकोणले निकै कम रहेको छ । जब यो तथ्य संज्ञानमा आउँछ तब पृथ्वीको पानीको उपयोगिता हुनुपर्ने विचार आउँछ । पानीको दुरुपयोग रोकिनु पर्छ । पानीको दुरुपयोग रोकिनु भनेको पानीको बर्बाद रोकिनु हो तर अहिलेसम्म खोलामा नाला मिसाउन रोकिएको छैन । खोलामा नाला मिसाउनुभन्दा पहिले प्रशोधन गरिनु अनिवार्य हुन्छ । जथाभावी पानीको दोहन गरिएको छ । जलाशय र जलाधारहरु सुक्दै जाँदा पनि कतैबाट यसतिर सोचिएको पाइँदैन ।

शब्दमा केही उल्लेख गरिए पनि वास्तवमा अर्थमा भने चिन्ताले केही गरेको पाइँदैन । चिन्ताले सार्थक रुप तब पाउँछ जब आफूले सकेको उपायले चिन्तालाई हटाउने प्रयास हुन्छ हैनभने चिन्ता एउटा फेसन हुन जान्छ । नजानिँदो किसिमले विकृति आएको हुन्छ मनमा । मनमा विकार उत्पन्न भएको हुन्छ । लगातार पानीको स्रोतमाथि प्रहार भइरहेको छ । एकचोटि फेरि त्यस चक्रलाई सम्झिनु जरुरी छ जसले हामीलाई धरतीलाई लागेको तिर्खा बिर्साइरहेको छ । आजभोलि मानिसले जताततै ढलान र नाला निर्माण गरिरहेका छन् । ढलानले आँगन र घर वरिपरि ढाकिरहँदा जमिनले पानीको आवश्यक शोषण गर्न पाइरहेको हुँदैन । घर र आँगनको क्षेत्रफलको पानी नाला भएर खोलामा पुग्द छ । फेरि जमिनमनिको पानी उपयोग गरिरहेका छौँ । खानेपानीको धाराको माध्यमबाट होओस् वा कलधाराको माध्यमबाट होओस् जमिनबाट पानी निकालेर सतहमा प्रयोग गर्दछौँ । सतहमा प्रयोग गरिएको पानी जमिनमा पस्न नपाइकनै नाला भएर सोझै नदीमा पुगिरहेको छ र जमिन चाहिँ सुख्खा भइरहेको छ । जमिनले पानी नपाउँदा भोलि जमिनलाई नै पानी अपुग हुन सक्छ । जमिन जब सुख्खा हुन थाल्दछ भने त्यसको असर वनस्पति वा उत्पादनमाथि र फेरि त्यसको असर मानिसमाथि पर्ने हुन्छ । यसरी पानीको उपयोग गरिरहँदा हामीले उपयोग गरेका छौँ कि दुरुपयोग त्यो भने बुझ्नैपर्छ । पानीको दुरुपयोग अन्य माध्यमले पनि भइरहेको छ ।

पानीको दुरुपयोगको माध्यम तथा साधनहरुलाई पहिचान गरी विस्तारै कम गर्नु जरुरी भइसकेको छ । जल निकै महँगो छ । यसको मूल्य बुझ्ने हो भने जललाई निकै महँगो मान्न सकिन्छ । यद्यपि यो बिना मूल्य सर्वत्र उपलब्ध छ । यसलाई कतिपय ठाउँमा उपयोगिताविहीन देख्न सक्छौँ, यो हाम्रो दृष्टिकोणमा निर्भर रहने कुरो हो तर जसलाई जुन प्रयोजनको लागि जति जल चाहिएको हुन्छ, त्यसभन्दा एक थोपा पनि खेर फाल्नु दुरुपयोग हो । जहाँ आवश्यकै छैन त्यहाँ जलको उपयोग मान्नु दुरुपयोग हो । जलको दुरुपयोगको क्षेत्र पनि धेरै छ । जललाई जीवनसित जोडिएर हेरिएको छ तर हाम्रो समाजले अझै पनि जललाई भविष्यसित जोडेर हेरेको पाइएको छैन । जलको स्रोत निरन्तर सुकिरहँदा पनि भविष्यप्रति सचेत नहुने एउटै कारण हो जमिनभित्र पर्याप्त जलको उपस्थिति । तर यो जल पनि निरन्तर सुक्दै गइरहेको अध्ययनले बताएका छन् । जललाई जीवनसित जोडेर हेर्दै जललाई भविष्यसित पनि जोड्नु परेको छ । जलको दुरुपयोग गर्दा भविष्यमा जलको अप्राप्यता हुन सक्छ भन्ने कुरालाई बुझेर अरुलाई बुझाउनु आवश्यक छ । वास्तवमा जलको उपयोगिताको दृष्टिकोणमा नै सकारात्मक परिवर्तन गराउनु परेको छ । जलले जीवन दिने हो भने जलको अभावमा कुनै किसिमको जीवन नरहने पनि स्पष्ट छ । यसर्थ जललाई जहाँ जहाँबाट खतरा छ, त्यहाँ त्यहाँको खतरा हटाउनु आवश्यक छ र जललाई जोगाउँदै यसको स्रोत र मूललाई संरक्षण गरिनु जरुरी छ । पर्यावरणलाई पनि जलसित जोडेर हेर्नु बुद्धिमानी हुनेछ । पर्यावरण जोगाउन जलको स्रोतलाई जोगाउनतिर सोच्नु आवश्यक रहेको छ ।

Comment


Related News

Latest News

Trending News