अपडेट 
२०७९ चैत्र ९, बिहीबार ०७:३२

वेदव्यासका बारेमा केही लेख्नु पर्दा सत्यवती र पराशर ऋषि बारेमा नजानिकन बुझ्न अप्ठ्यारै हुने हुनाले यस लेखलाई सत्यवती कै चर्चाबाट शुरू गर्न चाहन्छु । सत्यवती नरेश वसुकी छोरी थिइन् । सत्यवतीको जन्म माछाको पेटबाट भएको हुनाले उनको शरीरबाट माछाको जस्तो नराम्रो गन्ध आउँथ्यो । यसैले उनलाई मत्स्यगन्धाको नामले पनि जानिन्थ्यो । पौराणिक कथाअनुसार आद्री नाम गरेकी एउटी अप्सरा नदीमा माछाको रूपमा ब्रह्माको सराप भोगिरहेकी थिइन् । उनले सत्यवती नामकी छोरी तथा मत्स्यनामका छोरालाई जन्मदिएपछि सरापबाट मुक्ति पाएकी थिइन् । सत्यवतीका पिता वसुले आफ्नी छोरीलाई एउटा माझीको जिम्मा लगाए र उनलाई भने यसलाई आफ्नै छोरी जस्तै माया गरी पाल्नू । सत्यवती माझीकै घरमा हुर्किन् र विस्तारै माझीलाई नदीमा डुङ्गा चलाउन माझीलाई सहयोग गर्न थालिन् । प्रत्येक दिन बिहानै डुंगा चलाउन नदीमा आउँथिन । यसैक्रममा वर्षाको समयमा एक दिन ऋषि पराशर यमुना नदीको किनारमा भ्रमण गर्दै आइपुगे । त्यहाँ उनले एउटी सुन्दरी स्त्रीलाई देखे । ती सुन्दरी सत्यवती नै थिइन् ।

सत्यवतीलाई देखेर पराशर ऋषि आकर्षित भए । उनले सत्यवतीसँग आफूलाई नदी पार गराउन भने । सत्यवतीले पराशर ऋषिलाई डुंगामा बस्न आमन्त्रित गरिन् । डुंगामा बसेपछि पराशर ऋषिले सत्यवतीको सुन्दरताबाट निकै मोहित भएर प्रणय निवेदन गरे । उनी सत्यवतीसँग सम्भोग गर्न चाहन्थे । सत्यवती उनको प्रस्तावलाई तीन वटा शर्तसहित स्वीकार गरिन् । ती शर्तहरूमध्ये पहिलो शर्त थियोः हामी दुबैको सम्भोगलाई कुनै जीवजन्तुले देख्न नपाउन् । पहिलो शर्तलाई उनी स्वीकार गरे र आफ्नो दैवीय शक्तिद्वारा एउटा द्वीप निर्माण गरे, जहाँ घना कुहिरो लागेको थियो । यसरी पहिलो शर्त अनुसार सम्भोग गर्दा उनीहरूलाई कसैले देख्न सक्दैनथ्यो । तीनमध्ये दोस्रो शर्त थियो मेरो शरीरबाट आउने माछाको गन्धको बदलामा फूलको सुगन्ध आओस् । पराशर ऋषिले आफ्नो योगबलले सत्यवतीको यो शर्त पनि पूरा गरे । सत्यवतीको तीनमध्येको तेस्रो शर्त थियोः सहवासबाट जन्मने पुत्र सामान्य व्यक्ति नभइ महाज्ञानी होस् । पराशरले यस शर्तलाई पनि पूरा गर्ने स्वीकृति दिए । अर्को कुरा उनले सत्यवतीलाई सहवासपछि पनि उनको कौमार्य कायमै रहने वरदान समेत दिए । यसरी उनीहरूबीच कुहिरोले भरिएको द्वीपमा सम्भोग कायम भयो । समय बित्दै जाँदा नौ महिना पुगेपछि सत्यवतीले कालो रङको बच्चालाई जन्म दिइन् । कालो रङ र द्वीपमा जन्मिएका कारण बच्चाको नाम कृष्णद्वैपायन रह्यो । सत्यवतीले बच्चालाई लालनपालन गर्न थालिन् । एक दिन बच्चा अर्थात कृष्णद्वैपायनले मातालाई भन्यो कि यदि आवश्यक्ता प¥यो भने मेरो याद गर्नुहोला ।

यसरी भनेपछि आमाको आज्ञा लिएर बच्चा तपस्या गर्न वनतिर लाग्यो । त्यही बच्चा पछिगएर वेदव्यासका नामले प्रसिद्धि पाए । वनमा तपस्या सकिएपछि ईश्वरको अनुकम्पाले ठूलो ज्ञानी तथा शास्त्रीय विद्याका ज्ञाता भए । उनले नै वेदलाई चार समूहमा संग्रहित गरेका थिए । ती संग्रहित वेदहरू ऋग्वेद, यजुर्वेद, अथर्ववेद र सामवेद छन् । उनले नै पछि महाभारत र श्रीमद्भागवत पुराण जस्ता महान ग्रन्थ लेखेर हिन्दूधर्मलाई एउटा पद्धतिमा ल्याएका थिए । यसका अलाबा उनले हिन्दूशास्त्रका अनेक ग्रन्थहरू लेखेका छन् । जो विगतदेखि वर्तमानसम्म मानवलाई जीवनका सही बाटो बताउँदै आएका छन् र भविष्यमा समेत निर्देश गर्दै जानेमा कुनै शंका छैन । वेद ईश्वरले दिएको एउटा अद्भूत उपहार हो । उनले हस्तिनापुरलाई निरन्तरता दिन कसरी मद्दत गरे त्यतातिर पाठकवर्गलाई मोड्न चाहन्छु । सत्यवतीको विवाह राजर्षि शान्तनुसँग भयो । उनीबाट दुई बच्चा जन्मिएः चित्राङ् गद र विचित्रवीर्य । यी दुबै राजकुमार निकै पराक्रमी थिए । शान्तनुको मृत्यु पश्चात चित्राङ्गद राजा भए । चित्राङ् गदले आफूलाई स ब ै भ न् द ा बलशाली ठान्दथे । यो कुरा सुनेर उनकै जस्तो नाम रहेका गन्धर्वर ा ज चित्राङ्गदलाई मन परेन । दुई चित्राङ्गतको बीचमा कुरूक्षेत्रको मैदानमा धमासान युद्ध भयो । अन्त्यमा गन्धर्वराजका चित्राङ्गदसँग हस्तिनापुर नरेश चित्राङ् गदको हार भयो । उनी यसै युद्धमा मारिए । चित्राङ् गदको मृत्यु पश्चात उनकै भाइ विचित्रवीर्यलाई राजा बनाइयो ।

विचित्रवीर्य जवान भएपछि भीष्मले काशी नरेशका अम्बिका र अम्बालिकाको विवाह विचित्रवीर्यसँग गराए । विचित्रवीर्य लगातार सात वर्षसम्म मादक पदार्थ सेवन गरिरहेका कारण उनको यौवन क्षय भयो । केही समयपछि उनको मृत्यु भयो । यसपछि हस्तिनापुर राजाविहीन भयो । यस कुरालाई हेरेर सत्यवतीलाई निकै चिन्ता लाग्यो र उनले भीष्मलाई बोलाएर भनिन् कि अब वंशरक्षाको भार तिमीमाथि आइ परेको छ । तिम्रा दुई भाइले कुनै पनि सन्तान नजन्माइ संसार छाडेर गए । त्यसैले तिमीले अम्बिका र अम्बालिकाद्वारा सन्तान जन्माऊ । अहिले हस्तिनापुरको सिंहासनलाई निरन्तरता दिन तिमी आफै राजसिंहासनमा बस ! प्रजाको रक्षा गर ! भीष्मले आफ् नो प्रतिज्ञा भङग गर्न मानेनन् । यस संकटलाई निबारण गर्न सत्यवतीले आफू कुमारी अवस्थामै जन्माएको कृष्णद्वैपायन (वेदव्यास) लाई बोलाइन् र शास्त्रोचित पद्धति अनुसार सन्तान जन्माइदिन आग्रह गरिन् । आमाको आग्रह अनुसार कृष्णद्वैपायनद्वारा अम्विका र अम्बालिकाबाट क्रमशः धृतराष्ट्र र पाण्डु जन्मिए भने दासीको सम्बन्धबाट विदुरको जन्म भयो । समय आएपछि धृतराष्ट्र अन्धो भएको कारणले पाण्डुलाई राजा बनाइयो । पाण्डव जन्मिएपछि पाण्डुको मृत्यु भयो । पाण्डुको मृत्यु पश्चात धृतराष्ट्र राजा भए । सत्यवती पाण्डुको मृत्युबाट निकै शोकग्रस्त भइन् । शोकको आवेगलाई कम गर्न व्यास आएर उनलाई सम्झाए । कृष्णद्वैपायनले भविष्यमा आउन लागेको संकटका बारेमा थाहा पाइसकेका थिए ।

त्यसैले उनले सत्यवतीलाई वानप्रस्थ जीवनबिताउन अनुरोध गरे–माता अब सुखको समय सकिसकेको छ । पृथ्वीमा दुःखको समय शुरू भएको छ । छलकपट आदि बलियो हुँदैछ । कौरवका कारण थुप्रै संहार हुने छन् । तपार्इंले आफ्नै आँखाले आफ्नो वंश विनाश भएको देख्नु उचित हुँदैन । यसपछि अम्बिका र अम्बालिकालाई लिएर उनी वन गइन् । घोर तपस्या पश्चात तीनै जना शरीर त्याग गरे । महाभारत युद्धको अन्तिमसम्म आइपुग्दा लगभग पाँच पांडव र अश्वथामा बाँचेका थिए । अश्वथामा र पांडवको बीचमा घमासान युद्ध भयो । यहीक्रममा अश्वथामाले ब्रह्मास्त्र प्रहार गरे । प्रत्युत्तरमा अर्जुनले पनि ब्रह्मास्त्रकै प्रयोग गरे । नारद र व्यासको आग्रहमा अर्जुनले त्यसलाई फिर्ता लिए । अश्वथामालाई ब्रह्मास्त्र फिर्ता लिन आउँदैनथ्यो । पाण्डवको जडमूल नष्ट गर्ने अश्वथामाको उद्देश्य थियो । त्यही अस्त्रको कारण उतराका छोरा परीक्षितलाई गर्भमा मार्न खोज्दा कृष्णले आफ्ना अलौकिक शक्तिद्वारा जोगाएका थिए । अस्वथामाको मस्तकको मणि खोसियो । गुरुपुत्र भएका कारण र कृष्णको प्रेरणाले द्रौपदीले उनलाई छाडिदिन भनिन् । यसरी महाभारतयुद्धमा अर्जुन र अश्वथामाले छोडेका ब्रह्मास्त्रहरूलाई समयमै नरोकेको भए आजको पृथ्वी रहने थिएन होला । वेदव्यास एउटा सिद्ध महात्मा भएकोले जे पनि गर्न सक्थे तर उनले मानव कल्याण बाहेक अन्य हिंसात्मक कामलाई कहिले पनि सहयोग गरेनन् ।

यसैले होला हिन्दू धार्मिक ग्रन्थ अनुसार आज पनि केही त्यस्ता महात्यागी तथा सिद्ध व्यक्तित्वहरू जीवितै अवस्थामा रहेको प्रमाण छ । यी सातजना अमरत्व प्राप्त गरेका ऋषि, देव तथा राजाहरू क्रमशः वेदव्यास, राजावली, परशुराम, विभिषण, हनुमान, कृपाचार्य र अश्वथामा छन् । यसमध्ये पाँचको वर्णन महाभारतमा उल्लेख छ । अन्य त्रेतायुगमा आफ् ना भूमिका खेलेर अमर भएका छन् । महाभारत युद्धलाई ऋषि व्यास र कृष्णले रोक्न चाहेको भए रोकिन्थ्यो तर कौरब पक्षलाई नाशगरी अधर्ममाथि धर्मको विजय देखाउने हुनाले यस युद्धलाई रोकेनन् । महाभारत जस्तो युद्ध विगतमा भएको थिएन । वर्तमानमा भएको देखिँदैन र भविष्यमा पनि हुने छैन् । प्रत्येक हिन्दूको घरमा यी धर्मग्रन्थहरू अहिले पनि सुरक्षितपूर्वक राख्ने गरिन्छ । ऋषिहरूमध्ये वेदव्यासको नाम अग्रणी पंक्तिमा रहेको छ । उनले लेखेका ग्रन्थहरू अहिले पनि हाम्रो जीवनका लागि निकै उपयोगी छ । वेदव्यासले यदि चारै वेदलाई विश्लेषण गरेर संग्रहित नगरेको भए आज हिन्दू परम्परामा निकै अपूरो महसूस हुन्थ्यो । मानिसलाई असल बाटोमा लाग्न यी ग्रन्थहरूले देखाएका बाटाहरू सधैं जीवन रक्षाको रूपमा रहेका छन् । आजको भौतिक युगका कतिपय भौतिकवादीहरू विरोधमा उतरेर अध्यात्मवाद केही होइन भने पाठकसँग यी ग्रन्थहरूलाई गहिराइसँग पढ्न लेखकले सल्लाह दिन चाहन्छ । हाम्रो शास्त्र सनातन कालमा नै ईश्वरद्वारा प्रदान गरिएको हुनाले यसलाई सनातन धर्म भनेको हो ।

यसलाई मान्ने हामी सबै सनातनी हौं । वेदव्यास वेद अध्ययन गरी विभिन्न ग्रन्थहरू लेखेर हिन्दू समाज तथा परम्परालाई जीवित राख्न सहयोग गरेको हुनाले नै उनले अमरत्व प्राप्त गरेका छन् । यसैलाई उदाहरण दिइ राम्रो काम गर्नेले मृत्यु पश्चात पनि जिउँदै रहेको कुरालाई मानिसहरू स्वीकार गरेका छन् । अहिले पनि हामी आफ्ना पूर्वजको नाम खोज्दै जाँदा कुनै न कुनै ऋषिकै सन्तान ठहरिन जान्छौं । त्यसैले हामी आफ् ना पुर्खाले बताएको बाटोमा हिड्दा गौरब महसूस हुनु स्वभाविकै हुन आउँछ । शास्त्र अनुसार संकट परेको बेला त्यसबाट बच्न अन्तिम उपाय अध्यात्मवाद नै हो । अहिले समाजमा देखिएका छाडापनलाई रोक्न सकिएन भने भोली हाम्रा समाज कतातिर लाग्ने हो, ठेकान छैन । इतिश्री ।

Comment


Related News

Latest News

Trending News