
भारतमा जबरजस्ती देह व्यापारमा लगाइएका १० महिलाको उद्धार गरिएको छ ।
बिहीबार भारतको राजधानी दिल्लीको किशनगढ क्षेत्रमा फ्ल्याटमा राखेर यौन धन्धामा लगाइएका महिलाहरूको उद्धार गरिएको हो ।

उनीहरूलाई नेपाल प्रहरी, मानव बेचबिखनविरुद्धको अनुसन्धान ब्युरो, नेपाली राजदुतावास, कीन इण्डिया, शक्ति समूह र दिल्ली पुलिसको संयुक्त पहलमा उद्धार गरिएको हो । ‘मिसन फ्ल्याट’ नामक अभियान चलाएर यौन धन्धामा लगाइएका महिलाहरूलाई उद्धार गरी मानव बेचबिखनविरुद्धको अनुसन्धान ब्युरोलाई बुझाइएको हो ।
उद्धार गरिएका महिलाहरूको उमेर १५, १६, १७, १८, २० र २५ वर्ष रहेको छ । उनीहरू नुवाकोट, काठमाडौं, काँस्की, खोटाङ लगायतका जिल्लाका रहेको बताइएको छ । उद्धार गरिएकी मध्ये एक महिलाले आफूलाई राम्रो जागिर छ भन्दै दिल्ली पुर्याइएको र त्यहाँ पुगेपछि जबरजस्ती यौन धन्धामा लाग्नुपर्ने भनिएको बताइन् ।