अपडेट 
२०७९ चैत्र १०, शुक्रबार ०७:३०

राजविराज स्थित महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा जनता समाजवादी पार्टी निकटका समाजवादी विद्यार्थी युनियनका रञ्जितकुमार यादव निर्वाचित भएका छन ।

यहाँ युनियनले लोसपा निकटको लोकतान्त्रिक विद्यार्थी संघ तथा माओवादी निकटको अखिल क्रान्तिकारी संग गठबन्धन गरेका थिए । उनी सहित युनियन गठबन्धनको प्यानल नै निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । सभापति पदमा यादवले ४ सय २३ मत प्राप्त गरे भने निकटतम प्रतिस्पर्धी एमाले निकट अनेरास्ववीयुका सभापति पदका उम्मेदवार रञ्जित कुमार साहले १ सय ९९ मत प्राप्त गरे । यहाँ एमाले निकटको अनेरास्ववीयु र एकीकृत समाजवादी निकटको अनेरास्ववियूले तालमेल गरेका थिए भने कांग्रेस निकटको नेविसंघ र जनमत पार्टी नेतृत्वको विद्यार्थी जनमत संघ एक्ला एक्लै प्रतिस्पर्धामा उत्रेका थिए ।

नेविसंघका सभापतिका उम्मेदवार महेश कुमार यादवले ९० मत तथा विद्यार्थी जनमत संघका सभापति पदका उम्मेदवार राजभजन मण्डलले ७२ मत प्राप्त गरे । क्याम्पसमा १ हजार ९ सय १४ मतदाता रहेकोमा ८ सय ३० मत मात्र खसेको थियो । मतदान गत आईतवार नै सकिए पनि नेविसंघ, विद्यार्थी जनमत संघ र अनेरास्ववियू लगायतका विद्यार्थी संगठनले मतदानमा धाधँली भएको आरोप लगाउँदै पुनः निर्वाचन गर्नु पर्ने अडान लिएपछि मतगणना कार्य रोकिएको थियो । तर त्रिभुवन विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले बुधवार एक पत्र पठाई अर्काे निर्वाचन नगराई सम्पन्न भईसकेको निर्वाचनको मतगणना प्रक्रिया अघि बढाउन पत्राचार गरेपछि बुधवार साँझ देखि मतगणना सुरु गरिएको थियो । मतगणना प्रक्रियामा भने पुनः निर्वाचनको माग गर्दै आएका विद्यार्थी संगठनका कुनै पनि प्रतिनिधि सहभागी भएका थिएन् । मतगणना भईरहँदा क्याम्पस गेट बाहिर उनीहरुले मतगणना रोक्न माग गर्दै दिनभर प्रदर्शन गरिरहे । तर कडा सुरक्षाबीच मतगणना सुरु गरी बिहीवार विहान अन्तिम नतिजा निर्वाचन अधिकृत राम अशिष यादवले सार्वजनिक गरेका छन् ।

यता निर्वाचनमा धाँधली भएको भन्दै पुनः निर्वाचनको माग गर्दै आएका नेविसंघ, अनेरास्ववियु र जनमत विद्यार्थी संघले निर्वाचन परिणाम कुनै पनि हालतमा स्वीर्काय न हुने स्पष्ट पारेका छन् । बिहीवार ती संगठनहरुले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै धाँधलीपूर्ण र एकपक्षीय ढंगले वलजफती गराइएको निर्वाचन र मतगणना स्वीकार नभएको जनाएको छ । नेविसंघका जिल्ला अध्यक्ष राकेश ठाकुर, विद्यार्थी जनमत संघका जिल्ला अध्यक्ष राजाकुमार साह, अनेरास्ववियुका जिल्ला सदस्य शालीग्राम यादव तथा अन्य विद्यार्थी नेताको हस्ताक्षरमा जारी संयुक्त विज्ञप्तिमा एक पक्षलाई जिताउने गरी धाँधली पूर्ण तरिकाले गरिएको निर्वाचन तत्काल खारेज गरी अर्काे चुनाव गर्नु पर्ने माग गरिएको छ । पुनः निर्वाचन नगराइए आन्दोलन चर्काउने चेतावनी समेत दिइएको छ ।

क्याम्पस प्रशासनले भने त्रिभुवन विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयको पत्र र निर्देशन अनुसार मतगणना कार्य सम्पन्न गरिएको र कुनै धाँधली नभएको दाबी गरेको छ । तर निर्वाचनले विद्यार्थी संगठनबीच बढेको विवाद र दुरीले आगामी दिनमा क्याम्पसको शैक्षिक वातावरण थप तनावग्रस्त बन्दै जाने सरोकारवालाले अनुमान गरेका छन् ।

Comment


Related News

Latest News

Trending News