इस्लाम धर्मावलम्बीहरुको सबभन्दा ठूलो पर्व रामजान (रोजा) शुक्रवारदेखि सुरु हुने भएको छ ।
खाडी मुलुक सउदी, कतार लगायतका देशहरुमा बिहीवारदेखि नै रोजा सुरु भएपछि शुक्रवारदेखि नेपाल, भारत, पाकिस्तान, बगंलादेश लगायतका दक्षिण एसियामा सुरु हुँदैछ । यता, बिहीवार साँझ चन्द्रमा देखेपछि जनकपुरधामसहित नेपालभरिका मुस्लिम सामुदाय रोजा बस्ने परम्परा रहेको छ । रोजा हरेक मुस्लिम समुदायका बालिग महिला तथा पुरुषमा अनिवार्य गरिएको छ । इस्लाम धर्मका ५ वटा आधार स्तमभ इमान, नवाज, रोजा, जकात, हज मध्ये रोजा तेस्रो नम्वरको हो । इस्लामिक महिना सवाण समाप्त भई रमजानको पहिलो चन्द्रमा (चाँद) मुस्लिम समुदायले देखे पछि रमजान सुरु भएको छ । इस्लामिक महिना रमजान महिना भरि अर्थात ३० दिन सम्म मुस्लिम समुदय रोजा गर्छन् । इस्लामिक महिना रमजानको पहिलो चन्द्रमा देखे लगतै शुरु हुने रोजा पर्वमा मुस्लिम समुदायका सम्पूर्ण महिला तथा पुरुषले अनिवार्य रुपमा दिनभरि केही नखाई निराहार व्रत बस्नु पर्ने हुन्छ ।
रोजा(व्रत) मा बस्नेहरुले सूर्य उदाउनु भन्दा पूर्व र सूर्य अस्ताएपछि मात्र अन्नजल ग्रहण गर्छन् । इस्लामिक धर्मग्रन्थका अनुसार रोजा दुई हिजरी सवाण (महिना)को १० तारिक देखि मुस्लिम समुदाय माथि फर्ज अर्थात अनिवार्य गरिएको छ । इस्लामिक धार्मिक गुरुहरुको अनुसार अहिले १४ औ हिजरी चलिरहेको छ । रोजा धनि, गरिव सवैमाथि अनिवार्य छ, यसमा कुनै भेदभाव हुदैन । दिनभरि मजदूरी गर्ने होस वा राजा राजौटा किन नहोस् सबैमाथि रोजा उतिकै लाजिम(अनिवार्य) गरिएको छ । महिला ,पुरुष दुबै वालिग मुस्लिम माथि रोजा अनिवार्य गरिएको मौलाना अहमद हुसैनले जानकारी दिए । ‘ऐ इमानबला तिमी माथि रोजा अनिवार्य गरिएको छ, जस्तो की तिम्रो अग्रजहरु माथि अनिवार्य गरिएको थियो, जसलाई तिमीले पनि अपनाउनु पर्ने हुन्छ’, पवित्र कुराअन सरिफको दोस्रो हरफमा उल्लेख रहेको मौलना अहमद हुसैनले बताए । इस्लामिक धर्मगुरुहरुका अनुसार सामूहिक रुपमा रोजा खोल्दा (अन्नजल) धार्मिक हिसावले राम्रो मान्निछ । रमजान महिनामा इस्लामिक क्यालेन्डरको ९ औ महिना हो । यो महिना मुस्लिम समुदायको लागि विशेष महत्व राख्दछ । अन्य महिना भन्दा रमजानमा उपवास तथा दान गर्दा ७० गुणा बढी सवाव (पुण्य) प्राप्ति हुने जनविश्वास छ । रमजानकै २७ तारिखका दिन इस्लाम धर्माबलम्विहरुको सब भन्दा ठूलो धर्मग्रन्थ कुराअन सरिफ नाजिल (अवतरित) भएकाले मोफ्ती असरफ राजा बरकातीले बताए ।
यसै महिनामा साढे सात तोला सुन वा साढे ५२ तोला चाँदी तथा त्यति बरावरको सम्पति भएको खण्डमा गरिव विपन्नहरुको लागि अनिवार्य रुपमा जकात अर्थात दान गर्नका लागि साढे दुई प्रतिशतका दरले रकम निकाल्नु पर्ने हुन्छ । यसले गरिव र अशक्तहरुका लागि केही गरौ भन्ने सन्देश दिने गरेको छ । रमजान महिना भरि विशेष रुपमा अल्लाह प्रति समर्पित मुस्लिमले अल्लाहको डर तथा नैतिकताको घेराभित्र मनलाई राख्दै धार्मिक तथा समाजलाई भलोहुने काममा तल्लीन हुन्छन् । अपराघि, अश्लील तथा समाजलाई अहित हुने कार्यहरु यो महिनामा मुस्लिमबाट हुनुहँुदैन । तर अपराघिको कुनै जात हुदैन, अपराधिहरु जात, धमर्, कानून भन्दा वाहिर हुन्छन् ।
रमजानको यो विशेषताले सामाजिक विकृति न्यूनीकरण, कानूनी राज्यको सम्मान, सामाजिक विकासमा अग्रता, अपराध नियन्त्रणमा व्यापक सहयोग पुग्ने विश्वास गरिन्छ । एक महिनासम्म रोजा बसेपछि मात्र इदुल फित्र अथार्त इर्द पर्व मनाइन्छ ।



