सर्लाहीको चन्द्रनगर गाउँपालिका गैर सरकारी संस्थाको अधिनमा रहेर अनियमितता गरिरहेको आरोप लागेको छ । पालिका अध्यक्ष राजकुमार महतोले आफ्नै निकट करारको कर्मचारी पच्चु माझीलाई योजना अधिकृत बनाएर भ्रष्टाचार गरेको आरोप लागेको छ ।
नेपाली कांग्रेसका स्थानीय नेता सत्यदेव सिंहले पालिका अध्यक्ष महतोले काम भन्दा कमिशनलाई प्राथमिकता दिएको आरोप लगाएका छन् । ‘ उनलाई कामसँग कुनै मतलव छैन् । मात्र कमिशनमा उनको ध्यान छ,’महतोले भने,‘पुर्णतः एनजिओ शैलीमा पालिका सञ्चालन गरिरहेका छन् ।’ पालिकामा अहिले सम्म विकास निर्माणको काम शून्य भएको उनले आरोप लगाए । अध्यक्ष महतो भोर नामक गैर सरकारी संस्थाको सञ्चालक थिए भने माझि पनि उक्त संस्थामा आवद्ध थिए । उनी पालिका अध्यक्षमा निर्वाचित भएपछि विश्वासिलो पात्र माझीलाई करारमा नियुक्त गरेका थिए । अहिले दुबै जना मिलेर एनजिओ शैलीमा मनमौजी पालिका सञ्चालन गरिरहेको बताइएको छ । अहिले सम्म के र कुन निर्णय गरेको कसैलाई जानकारी नदिने गरेको उनले बताए । पाँच जना वडाध्यक्षलाई पालिका बारे कुनै जानकारी नगराएको र कार्यपालिका सदस्यहरुलाई ललाई फकाई काम गरेको उनले बताए ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता महेन्द्र महतोले पनि पालिका अध्यक्ष महतोमाथि चरम भ्रष्टाचार गरेको आरोप लगाए । महतो निर्वाचित भएसँगै २२ जना करारको कर्मचारी हटाएर पुनः आफू निकट २५ जनालाई घुस लिएर भर्ना गरेको उनको आरोप छ । दैनिक ज्यालादारीमा पनि कतिपय कर्मचारी राखेर निजी कामकाज गराएको उनले बताए । ‘जब पालिकाले कर्मचारी आवश्यकता नरहेको भनेर हटायो तब फेरि किन भर्ना ग¥यो,’उनले भने, ‘जबकी हटाइएको कर्मचारीको मुद्दा अदालतमा विचाराधीन छ ।’ पालिका अध्यक्ष महतोले तीन करोड आफ्नो मातहत र दुई करोड उपाध्यक्षलाई दिएर बजेट बाँडफाँट गरेको उनले जनाए । यी सबै रकमहरु गैर सरकारी संस्थामार्फत नै खर्चिरहेको उनको भनाइ छ । ‘उनको आफ्नै व्यक्तिहरुले दर्जनौं एनजिओ चलाइरहेका छन् । उनीहरु सबै योजनामा सेटिङ गरेर काम गरिरहेका छन्,’उनले भने,‘उत्पादनमूलक काम नगरेर वेकम्फुसे कमाउने काम मात्रै गरेका छन् ।’ पालिकाको अझै कतिपय विद्यालयमा कितावको पैसा नपुगेको उनले बताए । स्रोत शिक्षकहरुले चालु आर्थिक वर्षमा तलव नै बुझेका छैनन् । तर उनी जर्वजस्ती पालिका चलाइरहेको वडाध्यक्षहरुको कथन छ ।
जनप्रतिनिधिलाई बेवास्ता गरेपछि सात वटा पार्टीका प्रतिनिधिले संयुक्त रुपमा पालिकामा शुक्रबार सूचना माग गरेका छन् । लोसपा, कांग्रेस, राप्रपाका सत्यदेव सिंह, नेकपा माओवादी केन्द्रका लोकेन्द्र मुखिया, जसपाका नन्दलाल राय, शंकर चौधरी र नेकपा एकीकृत समाजवादीका भरत साहले संयुक्त रुपमा सूचना माग गरेका छन् । पालिकामा अध्यक्ष महतो निर्वाचित भएर आएपछि गाउँ सभा, गाउँ विशेष परिषद्, कार्यपालिका सदस्यहरुले गरेको निर्णय र नियुक्त गरेको कर्मचारीहरुको नामावली÷प्रकृया लगायत विषयको सूचना माग गरेका छन् । उनीहरुले सूचना उपलब्ध गराइदिन अनुरोध गर्दै उपलब्ध नभए आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् ।

