२०७९ चैत्र ११, शनिबार ०७:४५

सप्तरी जिल्ला अदालतले राजविराज ३ का ३० वर्षीय नवीन कुमार दासलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । मुख्य न्यायाधीश हेमन्त रावलको इजलासले दास विरुद्ध परेको विवाह सम्बन्धी कसुर र गर्भपतन मुद्दामा थुनछेक बहस पछि शुक्रवार थुनामा पठाउने आदेश जारी गरेको छ ।अदालतको आदेश लगतै प्रहरीले उनलाई राजविराज कारागार चलान गरेको छ ।

दाईजोका नाममा श्रीमान् नवीन संगै परिवारको अन्य सदस्यले शारीरिक र मानसिक यातना, कुटपिट, गर्भपतन, खान लाउन न दिने र घर निकाला सम्मको कसुर गरेको भन्दै उनको श्रीमती २३ वर्षीया आरती कुमारी दास न्यायका लागि अदालतको शरणमा पुगेकी थिइन । यस अघि घरेलु हिंसाको मुद्दामा समेत जिल्ला अदालतले आरतीको पक्षमा संरक्षणात्मक आदेश जारी गरेको थियो । आदेशमा आरतीलाई बस्दै आएको घरमा वसोवास गर्न दिनु, खान लाउन दिनु तथा कुटपिट र गाली बेइज्जत न गर्नु भनिएको थियो । त्यति बेला पनि घर प्रवेश गराउन खोज्दा परिवारजनले घरको मूल गेटमा भित्र पट्टीबाट ताला लगाएर बसेका थिए ।

पटक पटक आग्रह गर्दा पनि ढोका न खोलेपछि कानून व्यवसायी, संचारकर्मी, जनप्रतिनिधि, प्रहरी र स्थानीय बासीले बाहिरबाट सिढी लगाएर आरतीलाई घरको कम्पाउण्ड भित्र छिराएका थिए । तर अदालतको आदेशको पालना नगरी श्रीमान् नवीन, सासु, ससुरा, नन्द र परिवारका अन्य सदस्यहरु मिली फेरि त्यस्तै प्रकृतिको व्यवहार दोह¥याउन थालेको भन्दै आरती पुनःअदालतको शरणमा पुगेकी थिइन । उनले अदालतमा पेश गरेको विवाह सम्बन्धी कसुर र गर्भपतन सम्बन्धी मुद्दामा थप ५० लाख दाईजो माईतबाट लिइ आउन परिवारजनले दवाव दिन थालेको र इन्कार गर्दा गर्भवती अवस्थामा समेत खान लाउन न दिइ कुटपिट गरेपछि २ महिना २ दिनको गर्भ समेत तुहिएको उल्लेख गरेकी छन ।

गर्भ तुहिएको सम्बन्धी मेडिकल रिर्पोट पनि पेश गरेकी उनले दाईजोका लागी पटक पटक शारीरिक र मानसिक यातना मात्र होइन । घरमा खान लाउन पनि न दिदाँ कतिपय दिन भोक भोकै वस्नु परेको त कतिपय दिन माइतीबाट खाना खर्च मगाई खानाको जोहो आपैmले गर्नु परेको पीडा उल्लेख गरेकी छन । आरतीको भनाइमा गर्भवती भएपछि नवीन र परिवारका अन्य सदस्यले गर्भपतन गराउन निकै दबाव दिने गरेका थिए । तर उनी मानेनन् । श्रीमान र ससुराली पक्षको यातनाबाट मुक्ति पाउन अदालत धाउन आफूसंग खर्च र पूर्ण जानकारी न हुँदा प्रदेश सभासदस्य समेत रहेकी अधिवक्ता किरण कुमारी साहले निःशुल्क कानूनी सहायता उपलब्ध गराउदै बहस पैरवी गरी ठूलो गुण लगाएको आरतीले बताइन ।

Comment


Related News

Latest News

Trending News