अपडेट 
२०७९ चैत्र ११, शनिबार ०८:०२

मधेश प्रदेशका सामाजिक विकास मन्त्री सुरिता साहले मधेश प्रदेशमा क्षयरोग उपचारका लागि विशेष अस्पतालको स्थापना गरिने बताएकी छन् ।

विश्व क्षयरोग दिवसको अवसरमा जनकपुरधाममा आयोजित कार्यक्रममा मन्त्री साहले क्षयरोग न्यूनीकरणका लागि देशको सातै प्रदेशमा विशेष अस्पताल निर्माण हुने जानकारी दिँदै भनिन्,‘मधेश प्रदेशका थुपै्र जिल्लाहरु क्षयरोगको उच्च जोखिममा रहेको बुझेको छु,र यसकोलागि विशेष अस्पताल स्थापना आवश्यक छ र सोको लागि पहल शुरु भइसकेको छ ।’ क्षयरोग नियन्त्रणका लागि प्रदेश सरकारले पनि आफ्नो भूमिका निर्वाह गर्नु पर्ने बताइन् । क्षयरोगको उपचार हुने अस्पतालहरुमा अनुगमन गर्नका लागि अनुगमनसमिति बनाएर अगाडि बढ्न उनले स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिएकी थिइन् । आवश्यकता अनुसार समिति निर्माण गरी अनुगमन गरेर देखिने चुनौतीहरुको समाधान गर्दै जानु पर्ने उनको कथन थियो । मधेश प्रदेशभरिमा १४ हजार १ सय ९९ क्षयरोगीहरुको जाँच हुनु पर्नेमा ८ हजार ९ सय ८१ जना मात्रै केस नोटिफिकेशन भएको प्रति चिन्ता व्यक्त गर्दै मन्त्री साहले भनिन्,‘लक्ष्य भन्दा किन यत्ति धेरै न्यून केस नोटिफिकेशन भएको छ त्यसको पत्ता लगाउनु पनि समय–समयमा अनुगमन जरुरी छ।’

लक्ष्मिनियाँ गाउँपालिका अध्यक्ष भोगेन्द्र मिश्रको सभापतित्वमा भएको सो कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका क्षयरोगले मृत्युको संघारमा पुगेर औषधि उपचार गरेर स्वस्थ्य भएका दुई जनालाई सम्मान समेत गरिएको थियो । जनकपुरधामका कविता साह र देवनारायण गडेरीलाई मन्त्री साहले गमछा ओढाइ सम्मान गरेकी थिइन् । कार्यक्रममा मधेश प्रदेश स्वास्थ्य निर्देशनालयका क्षयरोग सम्पर्क व्यक्ति राजवीर यादवले मधेश प्रदेशका आर्थिक वर्ष २०७८/७९मा ८ हजार ९ सय ८१ जना क्षयरोगका रोगीहरुको जाँच भइरहेको जानकारी दिए । उनले मधेश प्रदेश क्षयरोगको जोखिममा रहेकोले क्षयरोग न्यूनीकरणका लागि स्वास्थ्यकर्मी मात्र होइन विभिन्न क्षेत्रका व्यक्तिहरुले आ– आफ्नो स्तरबाट हातेमालो गरी अगाडि बढ्नु पर्ने आवश्यकता औंल्याए ।

सेभ द चिल्ड्रेन, लक्ष्मिनियाँ गाउँपालिका, स्वास्थ्य कार्यालय धनुषा, स्वास्थ्य निर्देशनालय मधेश प्रदेशलगायतको संघ संस्थाहरुको संयुक्त आयोजनामा भएको कार्यक्रममा विभिन्न स्वास्थ्य संस्थाका प्रतिनिधिहरु,स्वयम् सेविकाहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News