मधेश प्रदेशको राजधानी जनकपुरधामका विशेषताहरुबारेको जानकारीमूलक ट्राभल्स एण्ड टुर्स डायरेक्टरी प्रकाशित हुने भएको छ ।
नोक्ष्या एडभरटाईजिंग एण्ड मार्केटिंग सर्भिसेसले चौथोँ वार्षिकोत्सवको अवसरमा जनकपुरधाममा आयोजना गरेको व्यवसायीहरुसंगको अन्तरक्रिया कार्यक्रममा आगामी वर्षको बैशाखमा डायरेक्टरीको विमोचन गरिने जानकारी दिइएको छ । कोशी तथा मधेश प्रदेशमा रहेका पर्यटकीय स्थल, होटल बारे जानकारीलगायतको विषय वस्तु समेटेर तयार पारिने सो डायरेक्टरीको बैशाख १७ गते काठमाण्डुमा विमोचन गरिने र सोही पुस्तकलाई जनकपुरधाममा पनि विमोचन गर्ने कार्यक्रम रहेको सर्भिसका अध्यक्ष समरजीत सिंहले जानकारी दिए । होटलहरुको नम्बरदेखि पर्यटक व्यवसायी सम्बन्धी आधिकारिक जानकारी वेवसाइटमा समेत राखिने जानकारी दिँदै अध्यक्ष सिंहले भने,‘ साढे पाँच सय मूल्यको सो एयरपोर्टदेखि पर्यटकीय स्थलका सार्वजनिक स्थानमा निःशुल्क रुपमा वितरण गरिनेछ । आन्तरिक तथा बाह्य पर्यटन व्यवसायलाई गतिदिने उद्देश्यले सर्भिसले पुस्तक प्रकाशित गर्नुको साथै यी सबै जानकारीलाई डिजिटाइलेशन गरेर वेवसाइटमा उपलब्ध गराउने जानकारी समेत दिए ।
यस अघि सर्भिसले काठमाण्डुमा दुई वटा पुस्तक प्रकाशित गरिसकेको छ । पहिलो पुस्तक ५ हजार प्रति छापिएको थियो भने दोस्रो १३ हजार र जनकपुरधाम तथा कोशी प्रदेशका केही स्थानबारेको जानकारीमूलक डायरेक्टरी पचास हजार प्रति निःशुल्क वितरण गरिने जनाइएको छ । कार्यक्रममा जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जीतेन्द्र महासेठले जनकपुरधामको पर्यटकीय व्यवसाय वृद्धिमा यस प्रकारको पुस्तक कोशे ढुंगा साबित हुने बताए । त्यो पर्यटकहरुले एउटै पुस्तकबाट विभिन्न जानकारी पाएपछि जनकपुरधामको व्यवसायमा मात्रै वृद्धि हुँदैन जनकपुरधामबारे विश्वमै जानकारी हुने विश्वास व्यक्त गरे । उनले यहाँको स्थलहरुबारे आधिकारिक इतिहास जान्ने बुझनेसंग नै सल्लाह सुझाव लिएर पुस्तक प्रकाशन गर्न आग्रह गरे । उनले जनकपुरधामको इतिहासबारे नयाँ पुस्ताले पनि जानकारी पाउने र देश विदेशमा रहेका यस क्षेत्रकै व्यक्तिहरुको यहाँ आगमन हुने विश्वास समेत व्यक्त गरे ।

