२०७९ चैत्र १२, आईतवार १४:००

नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरलाई दज्र्यानी चिह्न प्रदान गरिएको छ ।

आइतबार उहाँलाई गृह मन्त्रालयका सचिव विनोद प्रकाश सिंहले आईजीपीको दज्र्यानी चिह्न प्रदान गर्नुभएको हो । कार्यक्रममा गृहसचिव सिंहले देशलाई अहिले अनुशासित र स्वच्छ तथा व्यवसायिक प्रहरी चाहिएको भन्दै व्यवसायिक प्रहरी भन्नेबित्तिकै तालिम, नयाँ प्रविधिका कुराहरु रहेको बताउनुभयो । पछिल्लो समय प्रविधिको प्रयोगमार्फत हुने अपराध बढेको भन्दै गृह सचिव सिंहले अपराधका घटनामा वृद्धि भइरहेकाले त्यसको समाधान गर्न प्रहरी प्रशासनमा आत्मविश्वास र अठोटको आवश्यकता रहेको बताउनुभयो । सचिव सिंहले प्रहरीलाई अनुशासनहीनता, लापरबाही र भ्रष्टाचारजन्य क्रियाकलापहरुलाई शुन्य सहनशीलतामा लैजानुपर्ने भन्दै नवनियुक्त प्रहरी महानिरीक्षकबाट त्यही अपेक्षा रहेको बताउनुभयो ।

दज्र्यानी चिह्नबाट सुशोभित भएपछि आईजीपी कुँवरले नेपाल प्रहरी राज्यको पहिलो अनुभूति दिलाउने अंग रहेको भन्दै राज्यप्रतिको भरोसा बढाउन प्रहरी संगठनको आन्तरिक शुद्धिकरण र सुदृढीकरणमा जोड दिने बताउनुभयो । उहाँले प्रहरीको आन्तरिक सुदृढीकरण आफ्नो भीष्म प्रतिज्ञा रहेको भन्दै यसबाट किञ्चित पनि नडगमगाउने प्रतिबद्धता जनाउनुभयो । उहाँले आफ्नो कार्यकालमा अपराधको रोकथाम, अनुसन्धान, कुनै पनि बाहना र विकल्पबिना शान्ति सुरक्षाको व्यवस्थाका लागि नेपाल प्रहरी कटिबद्ध रहने बताउनुभयो । प्रहरी संगठनको क्षमता अभिवृद्धि, न्यूनतम मानवीय आवश्यकता, श्रोतसाधनको समान वितरणमा निष्पक्षता कायम रहने पनि उहाँले बताउनुभयो ।

नवनियुक्त महानिरीक्षक कुँवरले अपराध, अपराधिक प्रवृत्ति र दबाबको सामु कुनै प्रकारको सम्झौता नगर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । गत शुक्रबारको मन्त्रिपरिषद बैठकले कुँवरलाई नेपाल प्रहरीको सर्वोच्च पद आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

Comment


Related News

Latest News

Trending News