२०७९ चैत्र १४, मंगलवार ०७:२०

मधेश प्रदेशमा चार साना दलले लोकतान्त्रिक मधेशी मोर्चा गठन गरेको छ ।

सोमबार तराई–मधेश लोकतान्त्रिक पार्टी, नेपाल सद्भावना पार्टी, ऐतिहासिक जनता पार्टी र राष्ट्रिय सद्भावना पार्टीले मोर्चा गठन गरेको घोषणा गरेका छन् । जनकपुरधाममा पत्रकार सम्मेलन गरी चारै दलका अध्यक्षले संयुक्त रुपमा साझा अवधारणापत्र पनि सार्वजनिक गरेका छन् । अवधारणापत्रमा तमलोपा अध्यक्ष वृषेश चन्द्र लाल, नेपाल सद् भावनाको अध्यक्ष रामकुमार महतो, ऐतिहासिक जनता पार्टीका बद्रीनारायण ठाकुर राष्ट्रिय सद् भावना पार्टीका अध्यक्ष दिनेश यादवले हस्ताक्षर गरेका छन् ।

मोर्चाले प्रमुख ११ बुंदे माग सरकारसमक्ष अगाडि सारेका छन् । नागरिकता विधेयकदेखि लाल आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्ने माग गरेकाछन् । मोर्चाका नेता डा. विजय सिंहले नागरिकता विधेयकमा राज्यले जालझेल गरिरहेको आरोप लगाए । संसदबाट पारित भएर दोस्रो पटक प्रमाणीकरणको लागि राष्ट्रपति समक्ष पुगेपछि प्रमाणीकरण नभए पनि स्वतः कानून बन्नुपर्ने उनको जिकिर छ । ‘राष्ट्रपतिले एक पटक बाहेक संसदबाट पारित भएर गएको विधेयक फिर्ता गर्न नपाउने कानूनी व्यवस्था छ,’उनले उल्लेख गर्दै भने,‘त्यसपछि दोस्रो पटक संसदले पारित गरेर पठाएपछि १५ दिन भित्र प्रमाणीकरण गर्नुपर्ने हुन्छ । राष्ट्रपतिले प्रमाणीकरण नगरे पनि स्वतः कानून बन्छ ।’ तमलोपाका अध्यक्ष वृषेश चन्द्रलालले लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्नुपर्ने बताए ।

मधेश र थारु आन्दोलनको क्रममा लगाइएको झुटा मुद्दा फिर्ता गर्न सरकारले आलटाल गरेको उनको कथन छ । रेशम चौधरीसहितको बन्दीलाई छोड्न उनले सडकबाट आवाज उठाउने बताए । संविधान संशोधन, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र दलविहीन स्थानीय तहको निर्वाचन गराउन मोर्चाले सडकबाट अवाज उठाउने उनले जानकारी दिए । सीमामा नागरिकको हक संरक्षण गर्न, कृषि क्षेत्रको सुधार, स्वदेशमा रोजगार र भ्रष्टाचारमुक्त देश बनाउनु मोर्चाले संघर्षको कार्यक्रम गर्ने तयारीमा छन् । मधेशको अन्य नेताहरु सत्ता स्वादमा रुमलिएको कारण मधेशीको अधिकार रक्षा र थप प्राप्तिको लागि मोर्चा बनाइएको उनीहरुको तर्क छ ।

Comment


Related News

Latest News

Trending News