अपडेट 
२०७९ चैत्र १४, मंगलवार ०७:४४

(गत हप्ता ०७९ चैत्र ७ गतेको अंकमा हामीले ऋग्वैदिककालीन समाज र संस्कृतिबारे चर्चा गरेका थियौँ । ‘ घुमन्ते चरित्रका प्रारम्भिक आर्यहरु अनुमानतः २००० ईसापूर्व (वा शायद त्यसभन्दा केही बढी)मा दक्षिण एसियामा प्रवेश गरेका थिए । त्यस समाजमा देउताहरु वायु, अग्नि, आकाश, वृक्ष, नदी आदि प्राकृतिक रुपहरु नै थिए । उपासना र बलिको उद्देश्य अन्न र पशुधनको वृद्धि अर्थात समृद्धिको निम्ति मात्र थियो । त्यतिबेला अहिलेको जस्तो आध्यात्मिक उत्थान वा जन्म र मृत्युको कष्टबाट मुक्तिको निम्ति पूजापाठको न त कुनै चलन थियो, न यस प्रकारको कुनै चेतना नै थियो । अर्थात् ऋग्वैदिककालीन समाज पूर्णतः लौकिक अर्थात् भौतिक समाज थियो ।’ यस अंशमा उत्तरवैदिक कालीन समाज र संस्कृतिको स्थितिबारे चर्चा गरिरहेका छौँ ।)

उत्तर वैदिककालीन समाज र संस्कृति

शुरुमा वैदिक साहित्य बारे सामान्य जानकारी सान्दर्भिक होला । रचनाको दृष्टिले वेदलाई संहिता, ब्राह्मण र आरण्यक गरि मूख्यतः तीन भागमा बाँडिएको छ ।संहिताका मन्त्रहरु काव्यमय छन् भने अन्य गद्य भाग छन् । विभिन्न ऋषि र ऋषिकाहरुले रचेको मन्त्रहरुको संकलनलाई संहिता भनिन्छ । ऋक् (ऋग्) संहिता सबैभन्दा प्राचीन हो । ब्राह्मण यज्ञयज्ञादिको विविध अंगहरुको विस्तृत विवेचन हो । ऋक्, साम, यजुः र अथर्व चारवटै वेदका आ– आफ्ना ब्राह्मणहरु छन् , जस्तै — ऋग्वेदका ऐतरेय र कौषीतकि, सामवेदको छांदोग्य, यजुर्वेदमा कृष्ण् यजुर्वेदका तैत्तिरीय, मैत्रायणी, कठ र कपिष्ठल, र शूक्ल यजुर्वेदका शतपथ माध्यन्दिनीय वाजसनेयि तथा शतपथ काण्व वाजसनेयि, तथा अथर्ववेदका गोपथ । आरण्यकमा ब्राह्मणहरुमा निर्देशित यज्ञयज्ञादिको आध्यात्मपरक उद्देश्यको विवेचना गरिएको छ । ऋक्र र साम वेदका भौतिकता .(प्रकृति, समाज, सत्ता र उपासना)लाई अलौकिक र अभौतिक भावमा रुपान्तरित गर्ने प्रक्रिया आरण्यकबाट शुरु भएको देखिन्छ ।ऋपिहरुले ब्राह्मणमा वर्णित वृत्तान्त र छलफललाई रहस्यमयी तथा सीमित (उनिहरुको भाषामा योग्यको निम्ति मात्र) बनाउने उद्देश्यले वन– जङ्गल (अरण्य)मा छलफल गरे र यसैकारण यसलाई आरण्यक भनियो । संहिता र ब्राह्मण जस्तै सबै वेदका आ–आफ्ना आरण्यकहरु छन्, जस्तै — ऋग्वेदका ऐतरेय र कोषीतकि, सामवेदका छान्दोग्य र जैमिनियोपनिषद, यजुर्वेदमा शूक्ल यजुर्वेदका वृहदारण्यक र कृष्ण यजुर्वेदका तैत्तिरीय र मैत्रायणी ।

अथर्ववेदको कुनै आरण्यक उपलब्ध छैन, यद्यपि यस सम्बन्धी विषयहरु गोपथ ब्राह्मणमा पर्याप्त वर्णित छ । उपनिषद्, मूख्यतः ऋग्वेदको अन्तिम भाग दशम् मण्डलमा सृजित तथा यजुर्वेदमापुरोहितहरु द्वारा ब्रह्मको रुपमा विकसित आध्यात्मिक ‘परम तत्व’को दार्शनिक तथा तार्किक (र प्रतीकतात्मक) वर्णन गरिएका ग्रन्थहरु हुन् । सामान्यतः उपनिषद् लाई वेदको तार्किक र दार्शििनक विवेचना भनिन्छ । यसलाई वेदको अन्तिम आधिकारिक (आध्यात्मिक) व्याख्यापनि भनिन्छ । त्यसैले उपनिषद्लाई वेदान्तपनि भनिन्छ । अब मूख्य विषयमा प्रवेश गरौ । उत्तर वैदिककालमाघुमन्ते चरित्रको ऋग्वेदकालीन समाज कृषि कार्यसंग परिचित भएपछि स्थिर समुदायमा परिणत भयो । यसले गर्दा समाजको मनोविज्ञान मात्र होइन, समाजको सामाजिक, राजनीतिक र आर्थिक ढाँचामा समेत व्यापक परिवर्तन भयो । उत्तर वैदिककालमा ऋग्वेदकालीन साना साना जनहरु आपसमा मिलेर ठूला ठूला जनपदहरुमा परिणत भए । कृषियुगको विकास भएपछि भूमिको निम्ति जनपदहरु बीच संघर्ष हुनथाल्यो ।यसकारण समुदाय वा जनपदको परिचयमा भूमिपनि थपियो । प्रारम्भिकराष्ट्र चेतना यिनै अन्तर्विरोधहरुको उपज हो ।ऐतरेय ब्राह्मणमा पहिलो पटक ‘राष्ट्र’ शब्दको उल्लेख पाइन्छ । जनहरु मिलेर जनपदमा विकसित भएपछि राजाको महत्तार यसैकारण उसको निरंकुश अधिकारमा वृद्धि हँदैगयो । उत्तर वैदिककालमा सबैभन्दा पहिले समाप्त हुने संस्था ‘विदथ’ थियो । यस कालमा राजाहरुले अनेक उपाधि ग्रहण गर्न थाले । त्यतिबेला आर्यावत्र्तलाई क्षेत्रगतरुपमा दिशाको आधारमा प्राची (पूर्व) देश, प्रतीच्य (पश्चिम) देश, उदीच्य (उत्तर) देश, दक्षिणात्य (दक्षिण) देश र मध्य देशको नामबाट सम्बोधन गरिन्थ्यो, जहाँ थुप्रै जनपदीय राष्ट्रहरु थिए ।

प्राचीका राजाहरुले आफूलाई सम्राट, प्रतीच्यका राजाहरुले स्वराट्, उदीच्यका राजाहरुले विराट, दक्षिणका राजाहरुले भोज र मध्यदेशका राजाहरुले आफूलाई राजनको उपाधि धारण गरेका थिए । राजाले चारै दिशाको राजाहरुमाथी विजय प्राप्त गरेपछि उनलाई एकराट भनिन्थ्यो । अथर्ववेद तथा शतपथ लगायत कयौ ब्राह्मण, आरण्यक र उपनिषद्मा वर्णित जनपद र राष्ट्रहरुको नाम मिल्दोजुल्दो छ, र जसमध्ये कयौँबाट हामी अहिलेपनि परिचित छौँ, जस्तै काशी, विदेह, कैकय, पाञ्चाल, कुरु आदि । यसबाट के बुझिन्छ भने ब्राह्मण, आरयक र उपनिषद्को लेखन महाभारत, बूद्ध तथा त्यसपछि अर्थात् ईसा सम्वत् शुरु भएको धेरैपछि सम्म भैरहेको थियो । उदाहरणको निम्ति याज्ञवल्क्य रचित वृहदारण्यकको चर्चा गर्न सकिन्छ जस्मा महाभारतकाल पछिका घटनाक्रम र पात्रहरुको समेत वर्णन छ ।वस्तुतः वृहदारण्यकका रचियता याज्ञवल्क्य महाभारतकाल पछिका कृतिजनक (सीताका पिता शीरध्वज होइन)को दरबारका ऋषि हुन् । उत्तर वैदिककालमा राजाका १२ प्रकारका सहयोगी अङ्गलाई रत्निन भनिन्थ्यो । यो रत्निन भनिनेहरु सेनानी, पुरोहित, ग्रामणी, युवराज, महिषि (राजाको प्रमुख रानी वा पट्टरानी) सूत (राजाको रथ सारथी), क्षता (द्वारपाल), भागदुध (करको १/६ भाग पाउने राज्य अधिकारी), संग्रहीता (कोषाध्यक्ष), अक्षवाप (राजासंग पासा खेल्ने खेलाडी), पालागल (सन्देशवाहक, दूत) र गोविकर्तन ( शिकारको बेला राजाका प्रमुख सहयोगी) थिए । ऋग्वैदिककालमा प्रकृति देवप्रतिको सहज मन्त्रोक्त उपासनाभन्दा भिन्न उत्तर वैदिककाल विधि विधानयुक्त यज्ञ प्रधान युग थियो । यसले यज्ञ विधि जान्ने पुरोहितको महत्व र माँग बढायो । यसकालका महत्वपूर्ण यज्ञहरुमा राजसूय यज्ञ राजाको राज्याभिषेक र अश्वमेघ यज्ञमा राज्यविस्तारसंग सम्वन्धित थियो भने वाजपेय यज्ञ एकखालको रथ दौड थियो, जस्मा राजाको रथ सबैभन्दा अघि हुन्थे ।

ऋग्वेदकालीन बलि उत्तरवैदिककालमा करमा परिणत भैसकेको थियो । द्विज वर्ग (ब्राहमण, राजन्य र वैश्य)को सेवा नै एकमात्र धर्म र कत्र्तव्य भएको शूद्रहरुलाई सम्पत्तिको अधिकार नै थिएन, त्यसैले कर तिर्ने अधिकांशतः वैश्यहरु नै हुने गर्थै । उत्तरवैदिककालमा स्थायी सेनाको अवधारणा विकसित भएको थिएन र आवश्यकता परेपछि विभिन्न ब्रात्य र अनार्य कबिलाका समुदायहरु मिसाएर अस्थायी सेना तयार गरिन्थ्यो । उत्तर वैदिक समाज ब्राह्मण, राजन्य, वैश्य र शूद्र गरि चारवटा वर्णमा विभाजित थियो । ब्राह्मण सबैभन्दा प्रतिष्ठित थिए । ऋग्वेदकालको जस्तो अब ब्राह्मणहरु पुरोहित मात्र थिएन, यजुर्वेदमा विकसित तथा ब्राह्मण, आरण्यक र उपनिषदहरुमा वर्णित, विवेचित ब्रह्म जान्ने ब्राह्मणपनि थिए । यिनको मूख्य कार्य यज्ञ र अनुष्ठान थियो । दोस्रोमा राजन्य (क्षत्रीय) थियो, जो प्रतिष्ठामा कमभएपनि अधिकारको दृष्टिले ब्राह्मणभन्दापनि श्रेष्ठ थियो । राजालाई कर दिने वर्ण वैश्य श्रमिकवर्गको स्वामी थियो । उस्ले श्रमिकवर्गको उपयोग गरेर कृषिका साधन र उत्पादनहरु संग्रहित गथ्र्यो र राजालाई कर दिन्थ्यो । वर्णाश्रमको सबैभन्दा तल्लो श्रेणीमा रहेका शूद्रहरुको निम्ति प्रयोग गरिएका संस्कृतको शब्दहरुले उनको निरीह स्थितिको बोध गराउँछ, जस्तै ः अनस्यप्रेष्य (अन्य वर्णको सेवक), कामोथाप्स (बलजफ्ती र मनोमानीपूर्ण ढङ्गले लेखट्न सकिने), काम बध्य (मनलागेको बेला बध गर्न सकिने) । कति अमानवीय व्यवस्था ? त्यतिबेला मानवीय जीवनलाई ब्रह्मचर्य, गृहस्थ र वानप्रस्थ गरि तीनवटा आश्रममा विभाजित गरिएको थियो ।उत्तरवैदिककालमा सन्यास आश्रमको कल्पना गरिएको थिएन ।यो पछि विकसित भएको हो । ब्रह्मचर्य आश्रम शिक्षा र बौद्धिक विकासको समय हो ।

ब्राह्मणमा ८ वर्ष, क्षत्रीयमा ११ र वैश्यमा १२ वर्षमा उपनयन संस्कार भएपछि शिक्षा अध्ययनको शुरुआत हुन्थ्यो । ब्रह्मचर्यपछि गृहस्थ आश्रममा प्रवेश गरेपछि आर्यजनहरुले मूख्यतः तीनवटा ऋण ः देव ऋण (देव यज्ञादि कर्म), ऋषि ऋण (वैदिक ग्रन्थहरुको अध्ययन) र पितृ ऋण ( विवाह गरेर पुत्र प्राप्ति)बाट मुक्ति प्राप्त गर्नु पथ्यो। वानप्रस्थ आश्रम प्रोढावस्थाबाट वृद्धाअवस्थामा प्रवेशगर्ने समय हो । वानप्रस्थको बेला मानिस घरबाट निस्केर जंगलमा बस्न थाल्थ्यो । यद्यपिसमाजसंग उसका सम्पर्क रही नै रहन्थ्यो । वृद्धावस्था अर्थात जीवनको अन्तिमकालमा सन्यास आश्रममा प्रवेश गरेपछि, एकान्तवासमा मानिसहरुले विगतको जीवनको समीक्षा र मोक्ष कामना गर्न परिकल्पनाकारहरुले निदेर्शित गरेका छन् ।यी चारवटै आश्रमको उद्देश्य धर्म, अर्थ, काम, एवं मोक्ष (पछि थपिएको हो)को प्राप्ति थियो । प्रथम तीनवटालाई त्रिवर्ग भनिन्थ्यो । उत्तरवैदिककालमा स्त्रीको अवस्था दयनीय थियो । ऋग्वेदकाल जस्तै अब स्त्रीहरु सभा र समितिमा भाग लिने अधिकारबाट वञ्चित थिइन, उपनयन संस्कार पुरुषको मात्र हुनथाल्यो । यसकालमा याज्ञवल्क्यकी दुई पत्नी मैत्रेयी र कात्यायनी तथा गार्गीजस्ती केही विदुषीको चर्चा आरण्यक र उपनिषद्हरुमा भएपनि यो सौभाग्य सबैस्त्रीलाई थिएन । स्त्रीहरुको विवाहको उमेर १४वर्ष वा सोभन्दा कम अर्थात् अल्पआयुमा विवाह हुनथालेको थियो । नियोग विधिबाट सन्तान जन्माउने उदाहरण तुलनात्मकरुपमा कम हुँदै गएपनि यस कालमा पनि पाइन्छ । यद्यपि ऐतरेय ब्राह्मणमा पुत्रीलाई नै समस्त दुःखको स्रोत भनिएको छ ।

स्त्री पुरुषको धनमा रुपान्तरण भैसकेकी थिइन । शतपथ ब्राहमणमा भने पत्नीलाई अद्धाङ्गिनी भनिएको छ । उत्तर वैदिककालमा कृषि प्रमुख व्यवसाय थियो । शतपथ ब्राह्मणमा ६, ८, १२ र २४ वटा गोरु नारिएको हलोर कृषि कार्यको शुरुदेखी बाली भित्रयाउनु सम्मको सबै कार्यको अवधि र विधिको विस्तुत वर्णन पाइन्छ । त्यतिबेला फलामको आविष्कार भैसकेको देखिन्छ । शतपथ ब्राह्मणमा फलामको निम्ति श्याम अयस वा कृष्ण अयसको प्रयोग गरिएको छ ।मूख्य बालीहरुमा चामल (ब्रीहि वा तंडुल ), गहुँ (गोधूम), उँखू (ईक्षु), सरस्युँ (सारीशाक), मास वा उडद (माष)को उल्लेख पाइन्छ । त्यतिबेलाका मानिसहरु कुआ र कुलोको प्रयोग गर्न थालेको देखिन्छ ।त्यस्तै यसकालमा कृषिसंग तथा तत्कालीन द्विज वर्ग (ब्राह्मण, क्षत्रीय र वैश्य)का आवश्यकता र विलास)संग सम्बन्धित माटोको भाँडा बनाउने कुलाल वा कुम्भकार, छैँटी (टोकरी, छिट्टी) बनाउने विदलकारी, कपडा रंगाउने महिला रंगरेज रजयित्री, सुनको कामगर्ने स्वर्णकार र छालाको काम गर्ने चर्मकारहरु जस्ता शिल्पी समुदायको विकास भैसकेको देखिन्छ । ईसापूर्व एक हजारवर्ष पहिलेको यसकालमा प्राचीन नगरहरुको विकास प्रारम्भिक चरणमा रहेको कारण त्यतिबेलाकोव्यापार प्रारम्भिक चरणमा थियो । यतिबेलाको प्रारम्भिक नगरमा हस्तिनापुर, कोशाम्बी र काशीको उल्लेख पाइन्छ । उत्तरवैदिककालको तीन मूख्य धार्मिक सांस्कृतिक परिवर्तनहरुमा देवी देवताहरु, उपासना पद्धति र उपासनाको उद्देश्यमा परिवर्तन हो ।

अलौकिक ब्रह्मकेन्द्रित आध्यात्मिक दार्शनिकता सहितको उपनिषद्हरुको विकास यिनै परिवर्तनहरुको परिणाम हो । अब ऋग्वैदिकइन्द्रादि देवताहरुको ठाउँमा प्रजापति, विष्णु र शिव प्रधान देवताको स्थापित भए । वैदिक मन्त्रको ठाउँमा यज्ञप्रधान कर्मकाण्ड महत्वपूर्ण भयो र सबै वेदका फरक फरक पुरोहित हुन थाले, जस्तै ऋग्वेदका होता (मन्त्रोच्चार गर्ने), सामवेदका उद्गाता (मन्त्रस्तुति गाउने), यजुर्वेदका अध्वर्यु (कर्मकाण्डको विधि जान्ने) र अथर्ववेदको ब्रह्मा वा ऋत्विज (सबै पुरोहितको कार्यलाई निरिक्षण गर्ने । पुनर्जन्म, पारलौकिकता, मूत्र्तिपूजा, जन्मको आधारमा वर्ण आदि कृत्रिम चेतनाको विकास उत्तरवैदिककालमा नै शूरुभएका हो । फरक वर्णका स्त्री र पुरुषबाट जन्मेका वर्णसंकर सन्तानहरु विविध जात र उपजातमा परिणत हुने शुरुआत यसै कालमा भएको हो । यस्तै उत्तरवैदिककालको अन्तिम चरणमा याज्ञिक कर्मकाण्डका विरुद्ध उपनिषद्हरुमा प्रतिक्रियाका स्वरहरु देखिन थालेका थिए । आत्मा र ब्रह्मको अद्वैतवादी धारणा यसैको परिणाम हो । मुन्डकोपनिषद्मा यज्ञहरुलाई ‘टुटफुट भएको डुङ्गा जस्तो, जस्को माध्यमबाट जीवनरुपी भवसागर पार गर्न सकिँदैन’ भनिएको छ ।

उपसंहार

ऋग्वैदिककालीन र उत्तर वैदिककालीन व्यवस्था तत्कालीन समाजका आवश्यकता वा असमान विकास थिए । त्यसलाई धर्म वा आध्यात्मको नाममा अहिलेपनि जारी राख्नु आधुनिक जहाजमा बैलगाडाको चक्का फिट गर्न खोज्नु जस्तै मूर्खता हुनेछ । तर अहिले त्यस्तै भै रहेको छ र सनातनता वा वैदिक आदर्शवादी गर्वको नाममा ती पुरातन चेतना, वर्णाश्रम र जातिय सामाजिक संरचना तथा अलौकिकतामा आधारित चेतनालाई सर्वोत्तम भनिदैछ । यसै धार्मिक सर्वोत्तमताको पुरातन गर्विलो मातमा मानिसले मानिसमाथी अमानवीय जातिय भेदभाव र शोषण थोपरेर खुशी हुँदैछ, जबकि समय, वैज्ञानिक चेतना, मानवीय आवश्यकता तथा चिन्तन धेरै अग्रगामी भैसकेको छ । धर्म र जातिको भ्रमित गर्वले हामीलाई अमानवीयताको स्तरसम्म धार्मिक र जातिय बनाउँछ भन्ने बोध नभएसम्म यस समाजको कल्याण हुँदैन । धार्मिक होइन, मानवीय बनौँ ।अस्तु !

Comment


Related News

Latest News

Trending News