सिर्सिया नदीलाई प्रदूषण मुक्त बनाउने वीरगञ्ज महानगरपालिकाको अभियानलाई बारा पर्साका उद्योगीहरुले पुनः एक पटक धोती लगाएका छन् ।
उद्योगीहरुको अटेरीले गर्दा सिर्सिया प्रदूषण मुक्त अभियान सबै र सधैका लागि एउटा नारा मात्रै साबित हँुदै आएको छ । झण्डै डेढ दशकदेखि खोलालाई प्रदूषणमुक्त बनाउने प्रयास भइरहे पनि उद्योगहरुको अटेरीपनले त्यो अभियानमा सिन्को समेत भाँचिएको छैन । पछिल्लो समय वीरगञ्ज महानगरपालिकाको कार्यालयको पहलमा भएको प्रयास पनि प्रभावकारी देखिएको छैन । परिणामस्वरुप सोमबार चैते छठ पूजाका ब्रतालुहरु दुर्गन्धित र प्रदूषित पानीमै बेलुकाको अर्घ दिएका छन् । विभिन्न उद्योगहरुले सिर्सिया नदीमा मिसाएको रासायनिक कालो लेदो सहितका प्रदूषित पानीका कारण महानगरवासी फेरि एक पटक आजित बनेका छन् । सिर्सिया नदीको किनारमा चैते छठ मनाउँदै आएका ब्रतालुहरु यसबर्ष पनि उद्योगको प्रदूषित पानीमै अर्घ दिन बाध्य भए । वीरगञ्ज महानगरपालिकामा रहेको सिर्सिया खोलामा मात्रै २ दर्जनभन्दा बढी छठ घाट छन् ।
घडिअर्वा अन्य पोखरीले मात्रै व्रतालुहरूको चाप धान्दैन । कतिपय गाउ तथा शहरका व्रतालुहरू सिर्सिया खोलाको घाटलाई नै परम्परागत छठघाटको रूपमा प्रयोग गर्दै आएका छन् । छठमा पनि पर्सा बारा औद्योगिक करिडोरका उद्योगले खोलामा आफ्नो उद्योगबाट निस्कने रसायनयुक्त फोहोर फाल्ने काम बन्द नगरेपछि व्रतालु आक्रोशित बन्दै पूजाअर्चना गरेका हुन् । खोलामा बगिरहेको कालो लेदो सहितको दुर्गन्धित पानीले गर्दा छठघाटमा आएको ब्रतालु र भक्तजनमा व्यापक आक्रोश देखिएको थियो । जिल्ला प्रशासन कार्यालय पर्साका प्रवक्ता र सिर्सिया नदी प्रदूषण मुक्त बनाउने अभियानमा लागेका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले छठ पर्वलाई लक्षित गरी आइतबारदेखि नै खोलामा प्रदूषित रसायन तथा फोहोर फाल्ने काम रोक्न प्रहरीलाई खटाइएको दाबी गरे । उनले भने, ‘ आइतबारदेखि नै प्रहरी परिचालन गरिएको छ,’ बाराको जितपुर सिमरा उपमहानगरपालिका–३ स्थित रामवन झाडीबाट वीरगञ्ज महानगरपालिका हुँदै भारतसम्म पुगेको सिर्सिया नदीको प्रदूषणको समस्या नेपालको लागि मात्र नभइ सीमावर्ती भारतीयहरुको लागि पनि कार्तिक र चैते छठमा ठूलो चुनौतीको बिषय बन्दै गएको छ ।
वीरगञ्ज पथलैया कोरीडोरमा बढेको उद्योगको क्रमसंगै विगत तीन दशकदेखि यो नदी प्रदूषणको शिकार बनेको छ । खास गरी छाला उद्योगहरुबाट निस्किने फोहोर कालो लेदो , रसायनयुक्त पानी सिधै नदीमा मिसाउने गरिएको छ । त्यस्तै सिमेन्ट उद्योग, साबुन उद्योगहरुले आफ्नो छाईहरु नदीमै भण्डारण गर्ने गरेको छ । छठपर्व बसेकि श्रीमतीसंगै टाउकोमा पूजा सामग्री लिएर रानीघाटमा पुगेका वीरगञ्ंज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष डा. सुबोध गुप्ताले नदी प्रदूषण रोक्न सबैको पहलको आवश्यकता रहेको बताए । उनले भने,‘छठ पर्वको बेला मात्र नभइ सधैंको लागि नदी सफा हुनुपर्छ र यसको लागि सरकारले ठोस कानून ल्याए मात्र सम्भव हुन्छ ।’ यो नदी सफा गर्नको लागि उद्योगी मात्र नभइ नेपाल सरकार, स्थानीय सरकार सबै मिलेर काम गर्नुपर्ने आवश्यकता रहको गुप्ताको भनाइ छ । तराईमा बर्षमा दोश्रो छठ पर्व चैत शुक्ल चतुर्थी (चौथी) देखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने गरिन्छ । कार्तिकको शरद र चैतको वसन्त ऋतुमा गरी वर्षमा दुईपटक मनाइने यो पर्व सूर्य र सूर्यपत्नी षष्ठीको उपासनाको पर्व हो ।
शरद ऋतुमा कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म र वसन्त ऋतुमा चैत शुक्ल चौथीदेखि सप्तमीसम्म समान विधिले यो पर्व मनाइन्छ । यद्यपि शारदीय छठ जति यो पर्व मनाउने भने देखिदैनन् । पर्वको पहिलो दिन ‘नहाय–खाय’, दोस्रो दिन दिनभरि उपवास बसेर राति सख्खरमा पकाइएको खिरमात्र खाएर ‘खरना’, तेस्रो दिन अर्थात् षष्ठी तिथिमा निराहार उपवास बसेर साँझ अस्ताउँदा सूर्यलाई पवित्र जलाशयको घाटमा कम्मरसम्म पानीमा चोवलिएर अर्घ दिइन्छ, जसलाई ‘साँझको अर्घ’ भनिन्छ । अन्तिम दिन सप्तमीका दिन बिहान उदाउँदा सूर्यलाई घाटमै अर्घ दिएर पर्व सम्पन्न गरिन्छ । विगतमा चैते छठ बनाउनेहरुको संख्या निकै कम भए पनि केही बर्षदेखि क्रमश ब्रतालुहरुको सख्या बढ्र्दै गएको छ ।

