अपडेट 
२०७९ चैत्र १५, बुधबार ०७:३६

छिमेकी मुलुक भारतको विभिन्न राज्यमा कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेको छ । तर सीमा नाकामा भने सचेतना अपनाइएको देखिएको छैन । जिल्लाको कुनौली, पातो, छिन्नमस्तालगायतका नाकाबाट दैनिक सयौं व्यक्ति भारतबाट नेपाल प्रवेश गर्ने र नेपालबाट भारत जाने गरेका छन् । उनीहरुको स्वास्थ्य परीक्षण नहुँदा जोखिम बढेको स्वास्थ्यकर्मीहरु बताउँछन् ।

“५/६ महिना यता जिल्लामा कोरोना संक्रमण दर शून्यमा झरे पनि छिमेकी मुलुक भारतमा फेरि कोरोना भाईरसको संक्रमण बढ्न थालेको छ , जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनिया लाल यादवले भने– यता पनि फैलिन सक्ने भएकाले सबै सर्वसाधारण सचेत हुन जरुरी छ ।” नेपाल–भारत खुला सीमा नाकाबाट निर्वाध आवागमन भइरहेको तथा अधिकाँशले मास्कको प्रयोग गर्न छाडेकाले समस्या निम्त्याउन सक्ने भन्दै उनले कोरोना संक्रमण पुनःफैलन नदिन उच्च सतकर्ता अपनाउन आग्रह गरेका छन् । उनले पीसीआर ल्याब हाल बन्द भएकाले पनि कोरोनाको वास्तविक अवस्था बुझ्न कठिन भएको बताए । पिसीआर प्रयोगशाला बन्द हँुदा कोरोना जाँचका लागि सर्वसाधारण आउन छाडेकाले यकिन अवस्था बुझ्न गाह्रो छ , उनले भने ।

संघीय सरकारको मातहतमा रहेको गजेन्द्र नारायण सिंह अस्पतालमा यस अघि ठूलै लगानीमा पिसीआर प्रयोगशाला स्थापना गरिएको थियो । तर कर्मचारीको अभावमा हाल परीक्षण सेवा ठप्प भएको मेडिकल सुपरिटेन्डेण्ट डा.प्रकाश साहले गुनासो पोखे । उक्त प्रयोगशाला गत बैशाखदेखि नै बन्द रहेको अस्पतालले जनाएको छ । सीमा क्षेत्रमा खटिएका प्रहरीले खुला र अति व्यस्त सीमा भएकाले दैनिक एक अर्काको मुलुकमा ठूलो संख्यामा सर्वसाधारणहरुको आवागमन हुने गरेको बताउँदै हाल स्वास्थ्य परीक्षण गर्ने अवस्था नरहेको बताए । विगतमा नाकाहरुमा हेल्थ डेस्क स्थापना गरी परीक्षण गर्दै आएकोमा हाल ५/६ महिना देखि सो कार्य पनि बन्द रहेको नाका क्षेत्रका वासिन्दाहरुले बताए । भारतीय सीमासंग जोडिएको तिलाठी कोइलाडी गाउँपालिका–२ का अजय यादवले भने“ नाकामा निर्वाधरुपमा आवतजावत भइरहेको छ, कसैको स्वास्थ्य परीक्षण गरिएको देखिँदैन ।” हाल छिमेकी मुलुक भारतको केरला, महाराष्ट्र, गुजरात, तमिलनाडु र दिल्लीमा कोरोना संक्रमणको दर ह्वातै बढेको पाइएको छ । सम्भावित खतरा रोक्न यसतर्फ समयमै आवश्यक सर्तकता अपनाउनु पर्ने चिकित्सकहरुले सुझाव दिएका छन ।

Comment


Related News

Latest News

Trending News