अपडेट 
२०७९ चैत्र १६, बिहीबार ०७:५५

नेपालको प्राकृतिक बनौटलाई हेर्दा दक्षिणको समतल तराई, बीचको पहाड तथा उत्तरको हिमाली श्रृंखलासम्म समावेश रहेका छन् । यी तीनैको सीमा क्षेत्रलाई छुट्याउँदा उत्तर क्षेत्रमा अवस्थित हिम श्रृंखलाहरूदेखि महाभारत श्रृंखलाबीचको क्षेत्रलाई हिमाल, महाभारत श्रृंखलादेखि चुरे श्रृंखलासम्मको भागलाई पहाडी क्षेत्र र चुरे श्रृंखलादेखि दक्षिणमा पर्ने नेपाल भारतको सिमानासम्म फैलिएको क्षेत्रलाई तराई मधेश भनिन्छ । प्राकृतिक बनौटको हिसाबले नेपालमा विभिन्न जातिका जीवजन्तु, वनस्पति तथा जडीबुटीहरू पाइन्छन् । यसको आयुहवातिर फर्केर हेर्दा हिमालमा अति जाडो, पहाडमा नधेरै जाडो नधेरै गर्मी तथा तराई मधेशमा बढी गर्मी रहेका छन् । यसैलाई हेरेर नेपालाई प्राकृतिक रूपले धनी माने पनि प्रविधिको विकास नभएको कारणले यहाँका जनता गरिबीको रेखामुनि बस्न बाध्य छन् ।

यस लेखको शीर्षकतिर लाग्दा चुरे पर्वत तराई मधेशमा बस्ने मानिस लगायत अन्य जीवजन्तु र वनस्पतिका लागि बाच्ने आधार भएपनि वर्तमानमा यस क्षेत्रमा भएको अतिक्रमणले गर्दा यस क्षेत्रका जनता निकै ठूलो संक्रमणमा परेका छन् । यसबाट पारपाउन आजको चुरे श्रृंखलालाई अघिकै अवस्थामा नफर्काइ हुँदैन । तर फर्काउनु त्यति सजिलो छैन । अहिले यस क्षेत्रलाई मानिसहरू चारैतिरबाट अतिक्रमण गरेर उजाड बनाइ दिएका छन् । यसले गर्दा वातावरणमा चौतर्फी नकारात्मक प्रभाव पर्न थालेको छ । यसलाई समयमै रोक्न सकिएन भने निकट भविष्यमा यसलाई मरुभूमि बन्नबाट कसैले रोक्न सक्दैन । वातावरणीय दृष्टिकोणले वातावरण सन्तुलन हुन नितान्त आवश्यक छ । यसलाई सन्तुलित बनाउन बृक्षारोपण गरि उजाड क्षेत्रलाई हरियो बनाइ राख्नु पर्छ । बन्यजन्तु तथा काठपातलाई पनि जोगाइ राख्नु पर्दछ । सन्तुलित वातावरण नै दिगो विकासको आधार हो ।

चुरे क्षेत्रको भौगोलिक बनौटतिर लाग्दा सबैभन्दा पहिले यसको अवस्थितिलाई हेर्नु पर्ने हुन्छ । चुरे श्रृंखला दक्षिणमा अवस्थित हिमालय पर्वतमालासँगै पूर्व–पश्चिमसम्म तन्किएर रहेको छ । यसलाई भौगोलिक भाषामा शिवालिक अथवा सबहिमालय पनि भन्ने गरिन्छ । यो क्षेत्र पश्चिम महाकालीदेखि पूर्व मेचीनदीसम्म झण्डै ८०० किलोमिटर (कि.मि.) मा तन्केर रहेको चुरे श्रृंखलाभित्र नदीले बनाएका केही खोंचहरू जस्तै सिन्धुलीको मरिन खाेंच र कमला खोंच, डडेलधुराको रङ्गुण उपत्यकाका साथै दून उपत्यका अथवा भित्री मधेश जस्तै दाङदेउखुरी, सुर्खेत, चितवनको उपत्यकाहरू समेत पर्दछन् । चुरे श्रृंखला ७७ मध्ये ३७ जिल्लाको केही भाग ओगट्ने गरि फैलिएको छ । यसको चौडाइ अपवाद वाहेक ठाउँ अनुसार १० देखि ५० कि.मी. सम्म रहेको छ । यसले नेपालको कुल क्षेत्रफलको १२.७८५ ओगटेको छ र सोही क्षेत्रलाई नेपाल सरकारले वातावरण संरक्षण क्षेत्रको रूपमा २०७१ सालमा घोषणा गरेको थियो । चुरे क्षेत्र भौगर्भिक, जैविक, जलचक्रीय तथा पारि स्थितिकीय दृष्टिकोणले विशिष्ट भएकोले यसलाई विशेष ध्यानमा राख्नु आवश्यक छ । सन् १९५० को दशकसम्म चुरे पर्वत औलोको कारणले सीमित बसोबास रहेकोले यस क्षेत्रलाई प्राकृतिक रूपले संवेदनशील मानिन्थ्यो । औलो उन्मूलन र पूर्व पश्चिम राजमार्गको निर्माणसँगै यस क्षेत्रमा क्रमशः बस्तीहरू बढदै गए र हाल यस क्षेत्रमा भित्री बसाइँ सराइँको रूपमा हिमाल, पहाड तथा बाह्य बसाइ सराइको रूपमा छिमेकी देश भारतबाट बसाइँ सराइ ह्वातै बढ्न गयो । जसले गर्दा त्यो क्षेत्रमा रहेका प्राकृतिक स्रोतहरूमाथि निकै ठूलो दबाब बढ्दै आयो । फलस्वरूप यस क्षेत्रमा रहेका ‘हरियो वन नेपालको धन’ छिटै सकिने अवस्थामा आयो ।

अहिलेको जनसंख्यालाई जीवन निर्वाह गर्ने साधनको अभाव हुनुको साथै वातावरणीय सन्तुलनता विग्रिन गएको छ जसले गर्दा विगत केही दशकसम्म रहेको कहावत ‘हरियो वन नेपालको धन’ तथा ‘तराई भनेको अन्नको भण्डार’ जस्ता भनाइहरू कागजको पन्नामा सीमित हुन गएका छन् । यस क्षेत्रमा हरियो वन उजाड भैसकेपछि चुरे क्षेत्रको माटो हलुको भएको हुनाले पानी पर्दा वा सुखा हुँदा आफै लगातार भूस्ख्लन (पैरो) आइरहन्छ । यसरी चुरे पहाडको एक तिहाइभन्दा बढी भाग भूस्खलनको दृष्टिले अति संवैदनशील, ४० प्रतिशतभन्दा बढी भाग मध्यम संवेशनशील पाइएकोले वातावरणीय दृष्टिले चुरे क्षेत्र प्राकृतिक रूपले नै संवेदनशील भएको पुष्टि हुन्छ । नदीधार परिवर्तन, बाढी, थेग्रान (साना साना ढुंगाहरू थुप्रिनु), कटानलाई बढी संवेदनशील मानेका छन् । यस क्षेत्रमा तीन प्रकारका नदीहरू रहेका छ्न ः उच्च हिमाल र हिमालबाट उत्पति भई बाह्रै महिना पानी बग्ने २७ वटा, महाभारत पर्वतबाट उत्पति भइ ६ महिनासम्म पानी बग्ने ७६ वटा र चुरेबाट उत्पन्न भइ वर्षायाममा मात्रै पानी बग्ने ४८ वटा गरी १५१ वटा नदी रहेका छन् । यी नदीहरूबाट तराईका उर्बर जमीनको उर्बरालाई जोगाउन तथा सिँचाइको दृष्टिकोणले अति महत्वपूर्ण मानिन्थ्यो तर अहिले रूख विरूवाहरूका जथाभावी कटानले गर्दा यी नदीहरूमा पानी वहाव निकै कम भएको तथा बाँचेका पानी पनि निकै फोहोर भइ बग्ने हुनाले बातावरणमाथि नकारात्मक प्रभाव परिरहेको प्रष्ट रूपमा अनुभव गर्न सकिन्छ । चुरे क्षेत्रको प्राकृतिक स्रोतमा भएका अतिक्रमणले हावापानी तथा जलवायु परिवर्तनमा निकै सहयोग गरेको छ ।

पानीको सतह निकै तल पुगी सकेको छ । आज भन्दा ३–४ दशक अघिसम्म ३०–४० फीट गहिराइबाट उपलब्ध पानी अहिले ४००–५०० फीट तल गइसकेको छ । पोखरी, इनार, नदी, नाला, जलाशयहरूमा पानीको सतह निकै तल गइसकेको छ । मानिसको अनियोजित बसोबासले गर्दा अझै स्थानीय बातावरणलाई निकै प्रभावित गरेको देखिन्छ । चुरेको प्राकृतिक स्रोत उपयोगमा पर्न गएको अत्यधिक चापका कारण चुरे क्षेत्रको प्राकृतिक सन्तुलन खल्बलिएको छ जसले साविकमा सहजै पाइने जंगली फलफूल, कन्दमूल, बन्यजन्तु, माछा, मह, जडीबुटी, काठपात जस्ता पदार्थ पाइन छाडेकाले त्यस्ता पदार्थमा परम्परागत रूपमा मानिसहरूलाई जीविको पार्जनमा कठिनाइ उत्पन्न भएको सहजै अनुभव गर्न सकिन्छ । यसरी चुरे क्षयीकरणले गर्दा पानीको मुहान सुक्ने गरेको स्थानीयको अनुभव छ । वि.सं. २०६७ को तथ्याङ्क अनुसार ७३.५६ प्रतिशत वन, फुटकर रूख तथा झाडी बुट्यानसमेतले ढाकेको थियो । विगत १५ वर्षको अवधिमा वनले ढाकेको क्षेत्र प्रतिवर्ष ०.१८ प्रतिशतको दरले संकुचन हुन पुग्यो । अहिले पनि वनजंगल जस्ता प्राकृतिक स्रोतलाई पूर्णरूपेण संरक्षित गर्न नसकेर दिनप्रतिदिन नेपालको वन घट्दै गइरहेको देखिन्छ । यस्ता वन संकुचनले गर्दा वनमा पाइने बन्य जन्तुहरू विस्तारै विलुप्त हुँदै गएका छन् । आजभन्दा चार–पाँच दशक अघि नेपालमा वनजंगल, खेतीपातीका उर्बर भूमि, नदीनाला जस्ता प्राकृतिक स्रोत निकै सन्तुलित अवस्थामा रहेकाले नेपालभारतको व्यापार पनि संतुलित अवस्थामा थियो । आजसम्म आउँदा हामी आफ्ना सारा स्रोत गुमाउँदै विदेशी मुलुकमाथि निर्भर हुन पुगेका छौं । अहिले हाम्रो देशमा जलविद्युतबाहेक कुनै यस्ता स्रोत छैन जसले व्यापार घाटालाई सन्तुलनमा ल्याउने छ ।

तर हिमालदेखि चुरेसम्म वातावरणमा बढी अतिक्रमणले गर्दा पानीको मुहानमा समेत असर परेको हुनाले विद्युत उत्पादनमा समेत असर नपर्ला भन्न सकिन्न । नेपालमा हरेक राजनीतिक आन्दोलन ताका राजनीतिक उद्देश्य पूरा गर्न धेरै प्राकृतिक स्रोतलाई लुटाएको देखिन्छ । २००७ सालको प्रजातान्त्रिक आन्दोलन ताका नेपालको वनजंगल, बन्यजन्तु, जडीबुटी तथा काठपातलाई राणा सरकारबाट बढी छुट दिएकोले उक्त स्रोतहरू माथि तत्कालीन अवस्थामा निकै ठूलो असर परेको थियो । त्यस्तै २०३६, २०४६।४७ र २०६२।०६३ मा क्रमशः प्रजातान्त्रिक, लोकतान्त्रिक तथा गणतान्त्रिक आन्दोलन ताका नेपालका धेरै प्राकृतिक स्रोतहरू मासिन गए । यस्तै राजा महेन्द्रबाट पूर्व पश्चिम राजमार्ग निर्माणले जंगलको निकै ठूलो भाग मासिन पुग्यो । यदि त्यसैबेला हुलाकी सडकलाई पुनर्सुधार गरेर त्यति लगानी लगाएको भए आज नेपालको हरियो बनलाई त्यति असर पर्ने थिएन । अहिले चुरे क्षेत्रमा बस्तीको चाप बढ्ने क्रममा रहेका र संवेदनशील भूस्खलन क्षेत्रमासमेत घर पाइएकोले अति वर्षात हुने अवस्थामा ठूलो परिणाममा जनधनको क्षति हुने सम्भावना देखिन्छ । तराई मधेशमा बाढी तथा डुबानले जनधन क्षति हुने बढी सम्भावना छ । चुरे श्रृंखला तराई–मधेशका लागि प्राणाधार रहेको छ । चूरेले नै उत्तरी वायुहवालाई नियन्त्रण गरी वर्षालाई समेत समयानुकूल बनाएको देखिन्छ । वन जंगलको क्षेत्र बढी हुँदा भूमिगत जलपनि नियन्त्रित थियो जसले गर्दा पानी खान र सिंचाइ गर्न कठिनाइ थिएन । अहिले वनजंगल विनाशले गर्दा बन्य जन्तुहरू आफ्ना बास तथा खाद्यान्न खोज्न तराईका गाउँ–गाउँसम्म जान थालेका छन् ।

बन्यजन्तुबाट खेतबारीमा लगाइएका अन्न, तरकारी, तेलहन, नगदी बालीहरू नाश गरेका छन भने अर्कोतिर घरेलु जीवजन्तुका साथै मानिसहरूलाई समेत ज्यान लिने गरेका छन् । अब पनि यस्ता उपद्रबलाई रोकिएन भने भोली तराई क्षेत्रमा लगाइएको अन्नवाली बचाउन निकै कठिन हुनेमा दुईमत हुन सक्दैन । त्यसैले सरकार चुरे श्रृंखलामा रहेको वनजंगललाई संरक्षित गरी तराईलाई मरुभूमिकरण हुनबाट नजोगाइ हुँदैन । हुनत नेपाल सरकारले राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति जस्ता उच्च संस्था गठन गरे पनि चाहिने जति प्रगति भएको देखिँदैन । यस संस्थालाई अझै सक्रिय गराइ उदेश्य अनुसार सफलतामा जोड दिनु पर्ने आवश्यक्ता देखिन्छ । इतिश्री ।

Comment


Related News

Latest News

Trending News