अपडेट 
२०७९ चैत्र १७, शुक्रबार ०८:१४

मधेश प्रदेशसहित देशभर शुक्रबार (आज)देखि माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ ।

यही चैत २९ गतेसम्म परीक्षा हुने छन् । बिहान ८ बजे देखि ११ सम्म परीक्षा हुनेछ । पहिलो दिन (आज) अनिवार्य अंग्रेजी र वेदविद्या श्रमतर्फ अनिवार्य संस्कृत भाषा र साहित्य÷अनिवार्य अंग्रेजीकोको परीक्षा हुनेछ । दोस्रो दिन गणित र तेस्रो दिन नेपाली विषयको परीक्षा हुने तालिका छ । यस वर्ष मधेश प्रदेशमा २ सय ७९ परीक्षा केन्द्रबाट कुल ७९ हजार ९४ परीक्षार्थी सहभागी हुँदैछ । परीक्षालाई मर्यादित बनाउन सात हजार ५ सय ७९ कर्मचारी परीक्षा केन्द्रमा खटाइएको छ भने सोही संख्यामा सुरक्षा प्रबन्धको लागि प्रहरी परिचालन गरिएको छ । धनुषामा सबैभन्दा बढी ४३ वटा परीक्षा केन्द्र छन् ।

१२ हजार १ सय ४६ परीक्षार्थी छन् । सुरक्षा व्यवस्थाको लागि २ सय ८४ नेपाल प्रहरी, २ सय २४ सशस्त्र प्रहरी र १५ जना अनुसन्धान प्रहरी खटाइएकोछ । सर्लाहीमा ३७ वटा परीक्षा केन्द्रबाट दश हजार ९१६ विद्यार्थी, सिरहामा ४० वटा परीक्षा केन्द्रबाट दश हजार १५० विद्यार्थी र सप्तरीमा ३६ वटा परीक्षा केन्द्रबाट ९ हजार ५ सय २७ जना विद्यार्थी परीक्षामा सहभागी भएका छन् ।

यस्तै, महोत्तरीको ३१ वटा परीक्षा केन्द्रबाट ९ हजार ५४ विद्यार्थी, रौतहटमा ३५ परीक्षा केन्द्रबाट आठ हजार ९ सय ५७ विद्यार्थी, बारामा ३२ परीक्षा केन्द्रबाट ९ हजार १ सय ७९ परीक्षार्थी र पर्साको २५ केन्द्रमा ९ हजार १ सय ६५ विद्यार्थी परीक्षा दिन लागेको शिक्षा विकास निर्देशनालयले जनाएको छ । परीक्षा मर्यादित बनाउनु पर्ने प्रदेश सरकारको जोड छ ।

कोरोना महामारीले दुई वर्षपछि खुल्ला रुपमा एसईई भइरहेको छ । यता अमर्यादित हुन नदिन छात्र छात्राहरुको शरीर जाँचका लागि महिला प्रहरी अपुग भएकोले शिक्षिकाहरुलाई जिम्मेवारी दिइने बताइएको छ । खासगरी छात्राहरुलाई शिक्षिकाहरुले चेकजाँच गर्ने व्यवस्था गरिएको छ । यस पटक कुनै पनि हालतमा एसईई अमर्यादित हुन नदिन सरोकारवालाहरु गंभीर देखिएका छन् ।

Comment


Related News

Latest News

Trending News