अपडेट 
२०७९ चैत्र १८, शनिबार ०७:५२

माध्यमिक शिक्षा परीक्षा (एसईई)मा मर्यादा विपरीत काम गर्ने तीन जना धनुषाबाट पक्राउ परेका छन् ।

शुक्रबार अंग्रेजी विषयको परीक्षामा प्रश्नपत्र आउट गरेको आरोपमा परीक्षा निरीक्षक नागेश्वर यादव पक्राउ परेका छन् । धनुषा प्रहरीका प्रहरी निरीक्षक विक्रम साहका अनुसार लक्ष्मीनियाँ गाउँपालिका–४ सपहिस्थित वीपि कोइराला माविबाट यादवलाई प्रश्नपत्र आउट गरेको आरोपमा पक्राउ गरिएको छ । यादवले प्रश्नपत्र बाँडेको केही समयपछि प्रविधि प्रयोग गरी प्रश्नपत्र बाहिर पठाएका थिए । त्यसपछि बाहिरबाट सोही प्रश्नपत्रको आधारमा उत्तर पनि पठाइएको थियो । उनी खटेको कक्षा कोठामा विद्यार्थीहरुले सोही अनुसार उत्तरपुस्तिकामा उत्तरसमेत लेखेको बताइएको छ । उनी परीक्षा केन्द्रमा निरीक्षकको रुपमा खटेका थिए । तर जनता आधारभूत बनिगमामा उनी करारमा कार्यरत शिक्षक छन् । यस्तै, जनकपुरधाम उपमहानगरपालिका–२३ बिन्हीबाट पनि बालकसहित दुई जनालाई पक्राउ गरिएको छ । त्रिभुवन आदर्श मावि परीक्षा केन्द्रबाट हँसपुर नगरपालिका– २ का ३१ वर्षीय संदीप सहनी र एक जना बालकलाई नियन्त्रणमा लिइएको छ । बालकको नाम प्रहरीले खुलाएका छैन् । सहनीले बालकको प्रयोग गरी बाहिरबाट उत्तर र चिट पठाउने गरेका थिए ।

५० मिनेट ढिलो परीक्षा

राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार विहान ८ बजेदेखि ११ बजे सम्म परीक्षा गराउने तालिका सार्वजनिक गरेका छन् । तर धनुषाको एक परीक्षा केन्द्रमा ५० मिनेट ढिलो परीक्षा शुरु भएको थियो । औरही गाउँपालिका चक्कर मावि परीक्षा केन्द्रमा अंग्रेजीको साटो नेपाली विषयको प्रश्नपत्र पुगेपछि परीक्षा निर्धारित समयभन्दा ५० मिनेट ढिलो शुरु भएर सोही समय अनुसार ५० मिनेट ढिलो सम्पन्न गराइएको धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए । उनका अनुसार प्रश्नपत्रको माथिल्लो खाममा अंग्रेजी लेखिएको थियो । तर भित्र नेपाली विषयको प्रश्नपत्र रहेको थियो । त्यसकारण पुनः अंग्रेजी विषयको प्रश्नपत्र पु¥याउन त्यहाँ ढिला भएको उनले स्पष्ट पारे ।

पाँच जना निलम्बित

बारामा विद्यार्थीलाई प्रश्नपत्र बाँडिएको १५ मिनेट भित्रै प्रश्नपत्र बाहिरिएको थियो । आदर्श कोतवाल गाउँपालिका स्थित महेन्द्र आदर्श जयनगर च्युटाँहा मावि परीक्षा केन्द्रबाट प्रश्नपत्र बाहिर भएको थियो । सोही विषयमा केन्द्रध्यक्षसहित पाँच जनालाई निलम्बन गरिएको छ। प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बसेको एसईई परीक्षा समितिको बैठकले केन्द्राध्यक्ष दिनेशप्रसाद साह, सहायक केन्द्राध्यक्ष पदमराज चौधरी, विजय चौधरी, परीक्षा निरीक्षक कुन्दनप्रसाद कुशवाहा र श्यामकिशोर गुप्तालाई निलम्बन गरिएको छ । सामाजिक सञ्जालमार्फत प्रश्नपत्र विद्यार्थीले सार्वजनिक गरेका थिए । उक्त विद्यार्थीको अंग्रेजी विषयको परीक्षा रद्द गरिएको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए । उनका अनुसार हटाइएका केन्द्राध्यक्षसहितको ठाउँमा नयाँ शिक्षकलाई परीक्षा सञ्चालनको जिम्मेवारी दिइएको छ ।

असईको मृत्यु

एसईई परीक्षाको लागि महोत्तरीको परीक्षा केन्द्रमा खटेका नेपाल प्रहरीका एकजना सहायक प्रहरी निरीक्षक (असई) को मृत्यु भएको छ । महोत्तरीको बलवा नगरपालिका १० स्थित राष्ट्रिय जनता मावि धमौराको परीक्षा केन्द्रमा खटेका असई ललनकुमार राय पटेलको मृत्यु भएको हो । परीक्षा केन्द्रमा खटेका पटेलको स्वास्थ्य अवस्था बिग्रिएपछि उपचारका लागि उनलाई प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरिले जानकारी दिए । रौतहटको गौर नगरपालिका–२ घर भएका असई पटेल जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कार्यरत थिए । यस वर्ष मधेश प्रदेशमा २ सय ७९ परीक्षा केन्द्रबाट कुल ७९ हजार ९४ परीक्षार्थी सहभागी भएका छन् । परीक्षालाई मर्यादित बनाउन सात हजार ५ सय ७९ कर्मचारी परीक्षा केन्द्रमा खटाइएको छ भने सोही संख्यामा सुरक्षा प्रवन्धको लागि प्रहरी परिचालन गरिएको छ । पहिलो दिन अंग्रेजी विषयको परीक्षा सम्पन्न भएको छ । दोस्रो दिन आइतबार गणित र तेस्रो दिन सोमबार नेपाली विषयको परीक्षा हुने तालिका छ ।

Comment


Related News

Latest News

Trending News