अपडेट 
२०७९ चैत्र २२, बुधबार ०७:२२

सत्य, अहिंसा, अचौर्य, अपरिग्रह र ब्रह्मचर्यलाई पाँच व्रत मान्ने महावीरलाई दुनियाँले भगवानको संज्ञा दिएका छन् । संसारमा रहेका विभिन्न धर्ममध्ये एक हो जैन । जैन धर्मावलम्बीहरुका लागि महावीर भगवान हुन् । मुख्य गरी हिन्दू धर्मावलम्बीका महावीर र हनुमान एकै जना हुन् कि भनेर कहिलेकाहीँ भ्रम पर्ने गर्दछ । महावीर र हनुमान एकै होइनन् । महावीर जैन धर्मसित सम्बन्धित छन् भने हनुमान हिन्दु धर्मसित सम्बन्धित ।

हनुमानलाई बजरंगबलि, पवनपुत्र आदि नामले बोलाइन्छ । मुख्य गरी रामायणसित सम्बन्धित मूल कथामा हनुमानको पनि ठूलो भूमिका रहेको छ । हनुमान अति बलशाली भएकाले उनलाई महावीर पनि भनिएको हो । वीरहरुभन्दा पनि वीर भएकाले हनुमानलाई महावीर उपनामले हिन्दु समाजले चिन्दछ तर जैन धर्मका महावीरलाई शान्तिका अग्रदूत भनेर चिन्दछन् । पवनपुत्र हनुमानको जन्मस्थलको बारेमा धेरै मानिसलाई जानकारी छैन । झारखन्डको एक पहाडी क्षेत्रमा भएको मान्नेहरु धेरै छन् । तर महावीरको जन्म बिहारको वैशालीमा भएको हो भन्ने विषयमा करिब सबै एकमत छन् । यस कारण हनुमान र महावीर फरक हुन् । कतिपयले के भन्दछन् भने भगवान महावीरको नाम हनुमानसित मेल खान्छ भने कतिपय गुण चाहिँ भगवान बुद्धसित मिल्दछ । भगवान बुद्ध पनि शान्ति, सत्य र अहिंसाका समर्थक तथा प्रचारक थिए भने भगवान महावीर पनि शान्ति, अहिंसा र सत्यका लागि आफ्नो संघ नै बनाएका थिए । भगवान महावीरको जन्म इसापूर्व ५९९ वर्ष पहिले भारतको वर्तमान बिहार प्रान्तको वैशाली गणतन्त्रको कुण्डग्राममा भएको थियो । इक्ष्वाकु वंशीय क्षत्रिय राजा सिद्धार्थ र रानी त्रिशलाको कोखबाट चैत महिनाको शुक्ल पक्ष त्र्योदशी तिथिमा जन्मेका महावीरको नाम जन्मपछि वर्धमान राखिएको थियो । वर्धमान, वीर, अतिवीर, महावीर तथा सन्मति गरी उनका पाँच नाम रहेको पाइन्छ तर सबैभन्दा प्रचलित नाम महावीर नै रहन पुगेको देखिन्छ । जैन धर्ममा मुख्य गरी दुई सम्प्रदाय प्रचलनमा रहेका थिए – दिगम्बर र श्वेताम्बर । महावीर दिगम्बर समुदायका थिए ।

दिगम्बर परम्पराअनुसार महावीर बालब्रह्मचारी थिए । उनी विवाह गर्न चाहँदैनथे किनभने ब्रह्मर्चलाई उनी प्रिय मान्दथे । भोगमा रुचि थिएन तर उनका मातापिताले भने महावीरको विवाह गरिदिन चाहेका थिए । दिगम्बर परम्पराअनुसार महावीरले आफ्नो विवाह रोकेका थिए तर श्वेताम्बर परम्पराअनुसार महावीरको विवाह यशोदा नामक युवतीसित भयो । महावीर र यशोदाका एक पुत्री थिए जसको नाम प्रियदर्शिनी थियो । प्रियदर्शिनीको विवाह राजकुमार जमालीसित भएको पाइन्छ । महावीर निकै शान्त स्वभावका थिए । विवाह भए पनि उनी चिन्तनशी थिए । ब्रह्मचर्यको पालन गर्न खोजिरहेका थिए । मातापिताको आग्रहलाई अस्वीकार गर्न नसकेका महावीरले पछि गएर दिगम्बर साधु बन्ने निर्णय लिए । दिगम्बर साधु भनेका अत्यन्त कठिन वा कठोर साधना गर्ने साधु हुन् जोसित केही पनि हुँदैन । श्वेताम्बर साधुले श्वेत अर्थात् सेतो वस्त्र लगाउँथे तर दिगम्बर साधुले कुनै पनि कपडा नलगाउने चलन थियो । महावीरले निर्वस्त्र रही साधना गर्ने दिगम्बर साधुको भेष धारण गरी दिगम्बर सम्प्रदायको नियमलाई पालन गर्दै बारह वर्ष कठोर साधना गरे । आफ्नो साधनाकालमा महावीर मौन रहेर कठिन तपस्या गरे । भनिन्छ, बारह वर्षमा महावीरलाई नग्न अवस्थामै ज्ञानको प्राप्ति भयो । ज्ञानको प्राप्ति भएपछि महावीरले उपदेश दिन सुरु गरे, शिष्यहरु ब्नाउन सुरु गरे । भनिन्छ, उनको मोक्ष प्राप्तिको समयमा महावीरले बनाएको संघमा चौध हजार साधु, छत्तीस हजार साध्वी, एक लाख श्रावक र तीन लाख श्रविकाहरु थिए । अर्थात्, ज्ञान प्राप्त गरिसकेपछिको तीस वर्षको अवधिका महावीरले निकै प्रसिद्धि कमाएका थिए । आफ्ना अनुयायीहरुको संख्या निकै बढाएका थिए । आफ्नो जीवनकालमै महावीर प्रसिद्ध भइसकेका थिए ।

यो पनि भनिन्छ कि महावीरको जन्मको बारेमा उनी पूर्वका जैन तीर्थकर हरुले भविष्यवाणी गरिसकेका थिए । महावीरले ज्ञानको प्राप्तिपछि विभिन्न ठाउँमा उपदेश दिने काम पनि गरेका थिए । उपदेशमा माथि भनिएका पाँच सत्यको पक्षमा सबैलाई उभ्याउन चाहन्थे । भगवान महावीरका पाँच व्रतहरुमध्ये पहिलो व्रत हो सत्य । सत्यलाई अपनाउनु आफैँमा एउटा धर्म हो, व्रत हो । कतिपयले सत्यलाई नै सच्चा तत्व पनि मानेका छन् । भगवान महावीरको दोस्रो व्रत हो अहिंसा । अहिंसाको अर्थ हिंसा नगर्नु हुन्छ । जैन धर्ममा अहिंसालाई निकै विस्तार अर्थमा लिइएको पाइन्छ । कसैको हत्या नगर्नु, कसैलाई ऊ हिँडिरहेको बाटोलाई अवरुद्ध नपार्नु अहिंसा हो । सबै प्राणीमाथि दयाभाव राख्नु पर्छ । कुनै पनि प्राणीप्रति आफ्नो मनमा समेत नकारात्मक भाव आउन दिनुहुँदैन । कुनै पनि प्राणीलाई तन, मन, वचन, कर्मादिले कुनै किसिमको नोक्सानी नगर्नु अहिंसा हो । अहिंसा मानसिक अवस्था पनि हो । मनमा कसैप्रति अहित चिताउनु पनि हिंसा हो । कटुवचनद्वारा कसैको चित्त दुखाउनु पनि हिँसा हो । कसैलाई कुनै किसिमले हानिनोक्सानी पु¥याउनु हिंसा हो । यसरी जैन धर्मावलम्बीहरु अहिंसालाई निकै विस्तारपूर्वक अथ्र्याउँछन् । महावीरको तेस्रो व्रत हो अचौर्य । अचौर्यको अर्थ हो चोरी नहुनुको अवस्था । कसैको कुनै पनि सामान उसले नदिइकन लिनुलाई जैन धर्ममा चोरी भनिएको छ । जैन धर्मावलम्बी विचारअनुसार अचौर्य व्रतको कठोरतापूर्वक पालन गर्नुपर्दछ ।

अचौर्य निकै महत्वपूर्ण साधना हो । महावीरका अनुसार चौथो व्रत हो अपरिग्रह । कुनै पनि वस्तुको सञ्चय वा संग्रह नगर्नु अपरिग्रह हो । अपरिग्रह अधिकारसित सम्बन्धित छ । कुनै पनि वस्तुमाथि आफ्नो अधिकार नजमाउनु अपरिग्रह हो । अधिकारले लोभ जन्माउछ तर अपरिग्रह लोभबाट मुक्तिको अवधारणा हो । जैन धर्ममा अहिंसा र अपरिग्रहलाई वैचारिक दृष्टिकोणले आधार मानिएको छ । पाँचौँ व्रत हो धर्म । धर्मलाई सबैभन्दा उत्तम मंगल मानिएको छ । अहिंसा, संयम र तपलाई धर्म मानिएको छ । आफ्नो प्रवचनमा सत्य, अहिंसा, ब्रह्मचर्य, धर्म र अपरिग्रहमाथि निकै जोर दिने भगवान महावीरले धर्मात्मालाई सदैव उच्च मान्दथे । धर्मात्मालाई देउताले पनि नमस्कार गर्दछन् भनेर भन्दथे । त्याग, संयम, प्रेम, करुणा, शील र सदाचारमाथि निकै जोर दिने भगवान महावीर विश्वमा शान्तिको अग्रदूतको रुपमा अन्य धर्मावलम्बीमा पनि परिचित छन् । सतही रुपमा हेर्न हो भने भगवान महावीर र भगवान बुद्धका धेरै कुरा समान छन् तर वास्तवमा भिन्नता पर्याप्त छन् । अहिंसामाथि महात्मा गान्धीले पनि निकै जोर दिएका छन् । भगवान महावीर र भगवान बुद्धको विचारमा समानता पाइएजस्तै हिन्दु धर्मको राजयोगसित पनि दर्शन तथा विचारहरु निकै निकट रहेका छन् ।

आफ्नो युगमा लाखौँ अनुयायी बनाउन सफल भगवान महावीरको बारेमा धेरै ग्रन्थहरु प्रकाशित छन् । कठिन साधना गर्ने र निरन्तर उपदेश दिइरहने शान्ति, अहिंसाका अग्रदूत भगवान महावीरले इसापूर्व ५२७ मा ७२ वर्षको उमेरमा मोक्ष प्राप्त गरे । भगवान महावीरले मोक्ष प्राप्त गरेको स्थान बिहारकै पावापुरी हो जुन नालंदा जिल्लाको राजगीर र बोधगयाको निकट छ । जैन धर्मावलम्बीहरु पावापुरीलाई निकै पवित्र स्थान मान्दछन् । पावापुरीमा एउटा जलमन्दिर रहेको छ । के विश्वास गरिएको छ भने यही जलमन्दिर भएको ठाउँमा भगवान महावीरलाई मोक्ष प्राप्ति भएको हो । जलमन्दिरको दर्शन गर्न वर्षेनी लाखौँ मानिस पुग्ने गरेका छन् । भगवान महावीरप्रति हिन्दु धर्मावलम्बीको पनि ठूलो आस्था रहेको छ । कतिपय हिन्दु धर्मावलम्बीले हिन्दु धर्मकै भगवान मानेर दर्शन तथा पूजा अर्चना गर्ने गरेका छन् ।

Comment


Related News

Latest News

Trending News