अपडेट 
२०७९ चैत्र २३, बिहीबार ०७:१०

मधेश प्रदेशको सीमावर्ती क्षेत्रमा नेपाली र भारतीय मुद्राको तस्करी बढेको छ । भारतबाट नेपाली मुद्रा नेपाल ल्याउने र भारतीय मुद्रा भारत पठाउने गिरोह सक्रिय भएको छ ।

सर्लाही जिल्ला कविलासी नगरपालिकाको वडा नम्बर ८ अगर्वाबाट सशस्त्र प्रहरी बल नम्बर १० गणको टोलीले स्रोत बिनाको १३ लाख बढी रुपैयाँसहित ३ जनालाई नियन्त्रणमा लिएको छ । ३ जनालाई स्रोत नखुलेको रकमसहित पक्राउ गरिएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जनाए ।उनीहरु शंकाष्पद रुपमा गतिविधि गरिरहेको देखिएपछि प्रहरीले चेकजाँच गर्दा भारतीय र नेपाली मुद्रा बरामद भएको डीएसपी थापाले बताए । पक्राउ पर्नेहरुमा सर्लाही जिल्लाको हरिवन नगरपालिका–११ बस्ने ४५ वर्षीय गान्धी साह सोनार, रूपन्देहीका ३५ वर्षीय राजेश बानियाँ र भारत घर भई वीरगंज महानगरपालिका–१९ बस्ने १९ वर्षीय अनिल साह रहेका छन् ।उनीहरुको साथबाट ५ लाख भारतीय रुपैयाँ र ५ लाख नेपाली रुपैया बरामद भएको डीएसपी थापाले जनाए । बरामद भएको मुद्रासहित पक्राउ परेका तीनै जनालाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको थापाले बताए ।

गत हप्ता जिल्ला प्रहरी कार्यालय धनुषाले पनि स्रोत नखुलेको १४ लाख रुपैयाँ बरामद गरेको थियो ।सप्तरीमा पनि नेपाल प्रहरीले करीब ३ लाख रुपैयाँ प्रहरीले बरामद गरेको छ ।सीमावर्ती क्षेत्रमा अवैध ढंगले नगदको कारोबार हुन थालेपछि सुरक्षा निगरानी बढाइएको छ ।गत असोज÷कात्तिक महिनामा अवैध रुपमा मुद्राको धन्धा बढेको थियो । प्रहरीले निगरानी बढाएपछि दुई हप्तामा नै ३० लाख रुपैयाँ बरामद भएको छ ।सीमावर्ती भारतीय बजारमा नेपाली मुद्रामा कारोबार हुने गरेकाले सो नगद पुनःअवैध मार्गबाट नेपाल भित्रिने गरेको छ ।सुन तस्करी बढेकाले पनि नेपालमा भारतीय मुद्रा बजारमा बढेको छ ।केही महिना पूर्वसम्म एक सय भारतीय रुपैयाँ लिन साढे २ रुपैयादेखि ४ रुपैयाँसम्म बढी लाग्ने गरेको थियो ।तर हाल वीरगञ्ज बजारमा भारतीय मुद्रा निकै कमजोर भएको छ ।रौतहट, सर्लाही , महोत्तरी , धनुषा, सिरहा र सप्तरी जिल्लामा नेपाली विनिमय दर १ सय भारतीय रुपैयाँको १ सय ६० रुपैयाँमा बैंक बाहिर कारोबार भइरहेको छ ।

बैंकमा भारु लिन प्रति सयकडा १५ पैसा कमिसन दिनु पर्छ ।भारतीय मुद्रा नेपालमा सस्तिएसँगै भारतीय बजारमा किनमेल गर्ने मालसमानपनि केही सस्तो पर्न थालेको छ । सीमा क्षेत्रमा अवैध रुपमा हुने मुद्राको कारोबारलाई नियन्त्रण गर्न नेपाल र सशस्त्र प्रहरीले निगरानी बढाएको छ ।सीमा सुरक्षाको जिम्मेवारी सशस्त्र प्रहरीलाई रहे पनि नेपाल प्रहरी पनि सक्रिय रहेको छ ।

Comment


Related News

Latest News

Trending News