अपडेट 
२०७९ चैत्र २४, शुक्रबार ०७:५३

जनकपुरधाममा बिहीबारदेखि शुरु भएको ‘मेयर कप’ टी–२० क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा जनकपुरधाम विजयी भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका १४ रजौलमा निर्माणाधीन रामजानकी अन्तराष्ट्रिय बहुउद्देश्यीय रंगशालामा ३२ रनले महोत्तरीलाई धनुषाले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको धनुषाले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर महोत्तरी समक्ष एक सय ४८ रनको लक्ष्य प्रस्तुत गरेको थियो । धनुषाका लागि परशुराम यादवले सार्वधिक १७ बलमा २८, हिमांशु दत्तले ३२ बलमा २८ र हरिशंकर साहले १६ बलमा २३ रनको योगदान दिएका थिए । महोत्तरीको तर्फबाट बलिङ गरेका विनोद सहनी उत्कृष्ट बलिङ गर्दै चार ओभरमा मात्र १५ रन खर्चेर तीन विकेट लिएका थिए । महोत्तरीका लागि नितेश कुमार, अभिषेक तिवारी, रमेश सहनी र नवीन यादवले एक/एक विकेट लिएका थिए । जवाफी ब्याटिङको लागि उत्रेको महोत्तरी टिमले २० ओभरमा सात विकेट गुमाएर मात्र एक सय १५ रन बनाउन सकेका थिए ।

महोत्तरीका लागि अभिषेकले सर्वाधिक २७ बलमा ३९ र विनोद सहनीले १८ बलमा २४ रन बनाएका थिए । धनुषाका लागि कृष्ण कार्कीले तीन विकेट लिएका थिए । आकाश राय, हरिशंकर र विक्रान्त यादवले एक/एक विकेट लिएका थिए । यस खेलको म्यान अफ दी म्याच धनुषाका कृष्ण कार्की घोषित भएका छन् । उनलाई तीन हजार राशीको पुरस्कार दिइएको थियो । खेल रोमाञ्चक भए पनि महोत्तरीको सुरुवाती ब्याटिङ कमजोर देखिएको थियो । पहिलो ओभरकै दोस्रो बलमा शून्य रनमा महोत्तरीका ओपनर ब्याट्स म्यान हरिकृष्ण झा आउट भएका थिए । महोत्तरीका लागि दोस्रो विकेटले पनि राम्रो साझेदारी गर्न सकेनन् । दोस्रो विकेट १७ रन आउट भएको थियो । यद्यपि महोत्तरीका लागि विनोद र अभिषेकले ४६ रनको साझेदारी गर्दा सम्मानजनक रन बनेको थियो । प्रतियोगितामा १२ वटा टिम सहभागी भएको छ । सबै टिमलाई चार वटा समूहमा विभाजन गरिएको छ । जानकी समूहमा जनकपुर, महोत्तरी र सिरहा रहेको छ । यस्तै, मिथिलामा काठमाण्डु, सप्तरी र पोखरा छन् । वैदेही समूहमा हेटौंडा, बारा र रौतहट टिम छन भने भूमिजा समूहमा विराटनगर, सर्लाही र पर्सा क्रिकेट टिम परेका छन् । सबै समूह गोला प्रथा बाट छनोट गरिएको छ । प्रतियोगिताको फाइनल खेल बैशाख १ गते गराउने आयोजक संस्थाको तयारी छ । प्रतियोगिता विजेता टिमलाई नगद अढाई लाख र उपविजेतालाई डेढ लाखसहित कप र प्रमाणपत्र दिइने छन् ।

रंगशाला बनाउन जोड

निर्माणाधीन रामजानकी अन्तराष्ट्रिय बहुउद्देश्यीय रंगशालाको काम तीव्र गतिमा गराउन र सरकारको लगानी बढाउने उद्देश्यले मेयर कप आयोजना गरिएको छ । सोही कपको उद्घाटन सत्रलाई सम्बोधन गर्दै वक्ताहरुले लगानी बढाउनेमा जोड दिएका छन् । प्रदेशसभा सदस्य रामसरोज यादव, दीपेन्द्र ठाकुर र रामअशिष यादवले रंगशाला निर्माण हुनुपर्ने र आफूहरु सक्दो सहयोग गर्ने प्रतिवबद्धता जनाए । सबै जना सकारात्मक भावना लिएर रंगशाला निर्माणमा जुट्नुपर्ने सांसद ठाकुरले धारणा राखे । प्रदेश सरकारलाई संसदबाट रंगशाला निर्माणको लागि पनि घच्घच्याउने उनले आश्वासन दिए । समग्र खेल र क्रिकेट क्षेत्रमा सरकारको लगानी आवश्यक रहेको उनको भनाइ छ । अर्का सांसद रामअशिष यादवले पर्यटकको आधारमा पनि सरकारले रामजानकी रंगशाला निर्माण गर्नुपर्ने बताए । नगर प्रमुख मनोज साहले मेयर कपलाई राष्ट्रिय क्यालेण्डरमा राख्न माग गरे । र, अन्तर्राष्ट्रिय स्त्तरको रंगशाला बनाउन विशेष जोड दिन उनले सबैलाई अनुरोध गरे ।

Comment


Related News

Latest News

Trending News