अपडेट 
२०७९ चैत्र २७, सोमबार ०७:३७

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान जनकपुरधामका उपकुलपति (भीसी) डा.रामकेवल साह १ महिनादेखि अनुपस्थित रहेका छन् । उपकुलपति बिना प्रतिष्ठान सञ्चालन भइरहेको छ । उपकुलपति डा.साह आफ्नो स्वास्थ्य उपचारको क्रममा भारतको राजधानी नयाँ दिल्लीमा रहेको बताइएको छ । प्रतिष्ठान स्रोतका अनुसार उनी फागुन ३० गतेदेखि विदाको निवेदन दिएका छन् । त्यसपछि उनी प्रतिष्ठानमा हाजिर भएका छैनन् । यस सम्बन्धमा डा.साहसित सम्पर्क हुन सकेन् । तर उनलाई उपचारमा अझै केही समय लाग्न सक्ने बताइएको छ । उनको लिभरमा समस्या देखिएको स्रोतले जनाएका छन् । यद्यपि प्रतिष्ठानमा भीसी साहले आफ्नो स्वास्थ्य सम्बन्धी आधिकारिक जानकारी गराएका छैनन् । डा.साह अर्थोपेडिक सर्जन हुन् । उनी लामो समयदेखि स्वास्थ्य क्षेत्रमा कार्यरत रहेका छन् ।

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले विज्ञ अस्पताल सञ्चालन गरेको दाबी गर्दै आए पनि उपकुलपति डा.साहकै उपचार भारतमा गराउनु पर्ने बाध्यता देखिएको छ । प्रतिष्ठानले जनकपुरधामको प्रादेशिक अस्पताल पनि सञ्चालन गरिरहेको छ । विज्ञ अस्पताल मुजेलिया स्थित मनिपालको भवनमा सञ्चालन भएको बताइन्छ । स्नातकोत्तरको अध्यापन गराउने प्रतिष्ठानमा विज्ञ चिकित्सक, उपकरण, ल्याब लगायतका सेवाहरुबाट भीसी साहको उपचार संभव नभएको देखिएको छ । उपचारको क्रममा लामो समय बाहिर रहनु परेकाले उनलाई विस्थापित गरी जनकपुरधामको भ्रमरपुरा चोकमा रहेका एकजना चिकित्सकलाई भीसी बनाउने चलखेल सुरु भएको स्रोतले जनाएका छन् । ‘डा.साहलाई राजीनामा गर्न लगाउने तयारी भएको छ’ स्रोतले भने, सामाजिक विकास मन्त्री सुरिता साहले अर्को भीसी नियुक्त गर्ने पक्षमा रहेकी छन् । जीवनको उत्तराद्र्धमा पहिलो पटक सरकारी पदमा पुगेका डा.साह प्रतिष्ठानका संस्थापक भीसी हुन् । भीसी साहको स्वास्थ्य सम्बन्धमा प्रतिष्ठानले आधिकारिक जानकारी दिनुपर्ने चिकित्सकहरु बताउछन् । भीसी बिना प्रतिष्ठान सञ्चालनमा अनेक समस्या आउने उनीहरुको तर्क छ । प्रतिष्ठानको अस्पतालका अलगै हाल निर्देशक छैनन् ।

अस्पतालको सेवाको निरीक्षण गर्न प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव स्वयम २ पटक गइसकेका छन् । सरकारले अस्पतालबाट सर्वसाधारणले प्रभावकारी सेवा पाउनुपर्ने निर्देशन पटक–पटक दिने गरेका छन् । अस्पतालको सेवा प्रभावकारी नभएको र तत्कालीन अञ्चल अस्पतालले सञ्चालन गर्दै आएको स्टाफ नर्स कलेज पनि बन्द हुने भएको छ । प्रतिष्ठानमा जनशक्तिको अभाव रहेको बताउदै प्रदेश सरकारले आवश्यक बजेट विनियोजन नगरेको पदाधिकारीहरुको दुखेसो छ । भारी संख्यामा दिनहुँ रोगीको चाप हुने अस्पतालमा सरकारले विशेष बजेटको व्यवस्था गर्नुपर्ने उनीहरुको कथन छ । भीसीको लामो अनुपस्थितिका कारण केही चिकित्सकहरु त्यसमा चासो लिन थालेका छन् । सामाजिक विकास मन्त्री साहले अस्पतालका चिकित्सकहरुसित एक्लाएक्लै भेट गरेको बताइन्छ ।

Comment


Related News

Latest News

Trending News