अपडेट 
२०७९ चैत्र २८, मंगलवार ०७:२३

जनकपुरधाममा रहेको जनकपुर न्यूरो होस्पिटल अवैध रुपमा सञ्चालनमा रहेको पाइएको छ ।

अस्पताललाई कम्पनी रजिष्टारको कार्यालयमा दर्ता गराइ आन्तरिक राजस्व कार्यालयबाट प्यान नम्बर लिएको तर, स्वास्थ्य विभागबाट स्वीकृति नलिएको पाइएको छ । अस्पताल सञ्चालनका लागि स्वास्थ्य विभागबाट स्वीकृति लिनुपर्ने हुन्छ । जिल्ला प्रशासन कार्यालय धनुषाका प्रशासकीय अधिकृत किरण मिश्रको नेतृत्वको एक टोलीले अस्पतालमा छापामारीको क्रममा अस्पतालको कागजात माग गर्दा विभागको कुनै प्रमाण पेश गर्न नसकेपछि सो अस्पताल अवैध रहेको खुलासा भएको छ । अस्पताल अवैध रहेको जिल्ला प्रशासनका टोलीले बुझेपछि अस्पतालका सञ्चालकहरु फरार भएका छन् । अस्पतालका डा. विजय राउतले न्यूरो उपचारसम्बन्धी अस्पताल स्वास्थ्य सेवा विभागमा दर्ता रहेको दाबी गरेका छन् । तर स्वास्थ्य सेवा विभाग अन्तर्गतको उपचारात्मक सेवा महाशाखाको अनुसार यो अस्पताल हालसम्म दर्ता भएको छैन । अस्पताल अनुगमन तथा सुदृढीकरण शाखा प्रमुख नरेन्द्र खनालका अनुसार अस्पतालले दर्ताका लागि निवेदन दिएको तर मापदण्ड नपुगेका कारण सूचीकृत हुन सकेको छैन् । ‘न्यूरो अस्पतालले दर्ताका लागि निवेदन दिएपछि हामीले दुई–तीन पटक अनुगमनसमेत ग¥यौं । तर, सरकारले तोकेबमोजिमको मापदण्ड भने पूरा भएको देखिएन’, खनालले भने, ‘हामीले मापदण्ड पूरा गरेर दर्ता प्रक्रियामा आउन सुझाव दिएका छौं ।’ अनुगमनको क्रममा फार्मेसी, आकस्मिक कक्ष लगायतका विभिन्न कुराहरु सरकारको मापदण्ड अनुसार नभएको अस्पताल अनुगमन तथा सुदृढीकरण शाखाले जनाएको छ ।

सञ्चालकले प्रदेश सरकारको निकाय र पालिकामा दर्ता नगराएको स्वीकार गरेको छ । प्रशासकीय अधिकृत मिश्रले अस्पताल स्वास्थ्य सेवा विभागमा दर्ता भएको प्रमाणत्रसहित सञ्चालकलाई प्रशासन कार्यालयमा हाजिर हुन निर्देशन दिएको बताए । ‘दर्ता प्रमाणपत्रसहित प्रशासन कार्यालयमा हाजिर हुन सञ्चालकलाई भनेको छु । विभागबाट पनि दर्ता रहे नरहेको विषयमा पत्र लेखेर जानकारी माग्छौं’ उनले भने । डा. अजय राउत र इन्जिनियर विजय राउतले संयुक्त रुपमा अस्पताल सञ्चालन गरेका छन् । यो अस्पतालले उपचारमा चर्को उपचार शुल्क लिने गरेको जनगुनासो छ । सो अस्पतालले डेढ घण्टा इमर्जेन्सीमा भर्नाको शुल्क ३३ हजारसम्म लिने गरेको पाइएको छ । २०७८ फागुनको अन्तिम तिरबाट सञ्चालनमा आएको सो होस्पिटल सेवामुखी भन्दा बढी चर्को शुल्कमुखी भएको जनगुनासो छ । अस्पतालमा प्रवेश गर्ने बितिक्कै शुल्क शुरु हुने गरेको पीडितहरुको भनाइ छ । अस्पतालले थोरै समयमा न्यूरो होस्पिटलको नामले चर्चा पाए पनि अस्पतालको नाममा अवैध रकम असुल उपर प्रशासनले नियन्त्रण गर्नुपर्ने पीडितहरुको भनाइ छ ।

अस्पतालमा भर्ना भएका एक जनाले आफू समस्यामा परेको बेला यहाँ आएको तर, यहाँ आएर झन समस्यामा परेको गुनासो गरे । दुई दिनदेखि बसेको छु दुई लाख भन्दा बढी पैसाको बिल दिइएको छ, पैसाको जोहो गरेर मात्रै यहाँबाट फर्किन पाउने उनले गुनासो गरे । सो होस्पिटलमा बिरामीका परिवारले पैसाको जोहोमै २५/५० हजार बढी तिर्नुपर्ने गरेको होस्पिटलमा बिरामी लिएर आएका एक कुरुवाले आरोपसमेत लगाए । उनले डिस्चार्ज गरेपछि शुल्क बन्द हुनुपर्ने थियो तर, पैसा भुक्तान नगरेसम्म शुल्क लिने गरेको बताए ।

न्यूरो होस्पिटल काठमाण्डुमा रहेको होस्पिटलको ब्रान्च रहेको पनि प्रचारबाजी गरिएको थियो तर, अस्पताल अवैध रहेपछि अस्पतालका सञ्चालकहरुनै फरार भएका छन् । जिल्ला प्रहरी कार्यालयले उनीहरुलाई जिप्रकामा अस्पताल सम्बन्धी सम्पूर्ण कागजात लिएर मंगलबार आउन भनेको छ ।

Comment


Related News

Latest News

Trending News