
जानकी मन्दिरको सेरोफेरोमा ३१ फिटभन्दा माथिको संरचना तथा घरहरु हटाउन माग गरिएको छ ।
गौं संरक्षण मंच नेपालले मन्दिरको सौन्दर्यतामाथि आँच आउने गरी बनाइएको संरचना हटाउन सरकारसँग माग गरेको छ । ०७० पुस २७ गते तत्कालीन जनकपुर नगरपालिकाको २० औं नगरसभाले मन्दिर वरिपरि ३१ फिट उचाईसम्मको मात्र नक्सा पास गर्ने निर्णय भएको थियो । पछि पनि उक्त निर्णय हुँदै आएको छ । तर निर्णय भएको दश वर्ष बित्नै लाग्दा कार्यान्वयन हुन सकेको छैन् । पालिकाले पटकपटक सूचना जारी गरे पनि स्थानीयले बेवास्ता गर्दै संरचना निर्माण गरिरहेका छन् । गौ संरक्षण मंचका अध्यक्ष जगदीश महासेठले पालिकाको निर्णय कार्यान्वयन गराइ जानकी मन्दिरको सौन्दर्य, पौराणिक, प्राचीनता एवं पुरातात्विक संरक्षण गर्न अनुरोध गरेका छन् । उनले यही चैत २३ गते स्थानीय सरकारलाई ध्यानाकर्षणसमेत गराएका छन् । उनले पत्रमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित अख्तियार दुरुपयोग अनुसन्धानलाई पत्रमा बोधार्थ गरेका छन् ।
यस्तै, सोही संस्थाले जनकपुरधाम लेख्न र उच्चारण गर्न सबै संघ÷संस्थालाई पनि अनुरोध गरेका छन् । नेपाल राष्ट्र बैंक जनकपुरधाम शाखाले धाम नलेखेको मंचले पत्रमा उल्लेख गरेका छन् । मंचले जनकपुरधामको पहिचान संरक्षणको लागि पटक–पटक बैंकलाई ध्यानाकर्षण गराए पनि अहिलेसम्म कार्यान्वयन भएको छैन् ।