अपडेट 
२०७९ चैत्र २९, बुधबार ०८:०३

जनकपुरधाम । जनकपुरधाममा जारी मेयर कप टी–२० क्रिकेट प्रतियोगितामा काठमाण्डु टिम बाहिर भएका छन् ।

मंगलबार काठमाण्डु पोखरासँग दुई विकेटले जितेर पनि रन रेटको आधारमा प्रतियोगिताबाट बाहिर भएको छ । यस अघि सोमबार काठमाण्डु पाँच रनले सप्तरीसँग पराजित भएको थियो । मंगलबारको खेलमा पोखरा र काठमाण्डुबीच रोमाञ्चक प्रतिस्पर्धा भएको थियो । अन्तिम बलमा काठमाण्डुले लक्ष्य पूरा गरेको थियो । टस जितेर पोखराले ब्याटिङ रोजेको थियो । पोखराले १९ ओभर एक बलमा सबै विकेट गुमाएर एक सय १९ रनको लक्ष्य काठमाण्डु समक्ष प्रस्तुत गरेका थियो । पोखराका लागि किरण पौडेलले सर्वाधिक २२ बलमा २ ९ र सन्दिप खत्रीले ११ बलमा १९ रन बनाए । काठमाण्डुका लागि बलिङ गरेका गजेन्द्र बोहराले तीन, इशान पाण्डेले दुई र मोहमद हुसैनले दुई विकेट लिए । जवाफी ब्याटिङमा आएका काठमाण्डु टिमको शुरुवात राम्रो भए पनि पछि कमजोर देखिएको थियो । काठमाण्डुका लागि गजेन्द्र बोहराले उत्कृष्ट ब्याटिङ गर्दै ३१ बलमा ६३ रन र इशान पाण्डले २८ बलमा २० रनको योगदान दिए । पोखराका लागि बलिङ गरेका कमल थापाले तीन, नितेश गिरिले दुई र सुवास भण्डारीले एक विकेट लिएका थिए ।

यस खेलको म्यान अफ दी म्याच पोखराका गजेन्द्र बोहरा घोषित भएका थिए । बुधबार बिहान सप्तरी र पोखराबीच सेमिफाइनलमा पुग्न प्रतिस्पर्धा हुँदै छ । यस्तै, मंगलबार भएको पहिलो खेलमा ५६ रनले पर्सालाई हराउँदै विराटनगर सेमिफाइनलको यात्रा तय गरेको छ । टस जितेर विराटनगरले ब्याटिङ रोजेको थियो । विराटनगरका खेलाडीहरु निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय १४ रनको लक्ष्य पर्सा समक्ष प्रस्तुत गरेको थियो । विराटनगरका लागि मुकुन्द यादवले सर्वाधिक नटआउट १६ बलमा २३ रन र फिरदोस अन्सारीले २९ बलमा १७ रन बनाएका थिए । पर्साको तर्फबाट बलिङ गरेका रासिद खान, नसरुद्दिन अन्सारी र रञ्जित कुमारले दुई/दुई विकेट लिएका थिए । एक सय १४ रनको लक्ष्य पञ्छयाउँदै जवाफी ब्याटिङ गरेका पर्साले १४ ओभर चार बलमा सबै विकेट गुमाएर मात्र ५७ रन बनाउन सकेका थिए । पर्साका लागि इमरान शेखले १२ बलमा २२ रन बनाए पनि यस टिमका अन्य ब्याट्स म्यानले दोहोरो अंकमा रन बनाउन सकेन् । विराटनगरका लागि बलिङ गरेका दिपेश कंडेलले चार र फिरदोस अन्सारीले तीन विकेट लिएका थिए । यस खेलको म्यान अफ दी म्याच विराटनगरका फिरदोस अन्सारी घोषित भएका छन् ।

प्रतियोगितामा १२ वटा टिम सहभागी भएका छन् । जसमध्ये धनुषा, बारा र विराटनगर सेमिफाइनलमा पुगिसकेका छन् । सबै टिमलाई चार वटा समूहमा विभाजन गरिएको छ । जानकी समूहबाट महोत्तरी र सिरहा पराजित भएर घर फर्किसकेका छन् भने वैदेही समूहबाट रौतहट र हेटौंडा पराजित भएर प्रतियोगिताबाट आउट भइसकेका छन् । भूमिजा समूहबाट सर्लाही र पर्सा पनि प्रतियोगिताबाट बाहिर भइसकेको छ । मिथिला समूहबाट सेमिफाइनलमा पुग्न बुधबार बिहान सप्तरी र पोखराबीच प्रतिस्पर्धा हुनेछ । सप्तरीले एउटा खेल जितेको छ भने पोखरा पराजित भएको छ । मिथिला समूहमा काठमाण्डु, सप्तरी र पोखरा छन् । वैदेही समूहमा हेटौंडा, बारा र रौतहट टिम छन् भने भूमिजा समूहमा विराटनगर, सर्लाही र पर्सा क्रिकेट टिम परेका छन् ।

प्रतियोगिताको फाइनल खेल बैशाख १ गते गराउने आयोजक संस्थाको तयारी छ । प्रतियोगिता विजेता टिमलाई नगद अढाइ लाख र उपविजेतालाई डेढ लाखसहित कप र प्रमाणपत्र दिइने जनाइएको छ ।

Comment


Related News

Latest News

Trending News