अपडेट 
२०८० बैशाख ६, बुधबार ०७:१४

सबैभन्दा पहिले वेद के हो ? त्यहाँबाट यसलाई शुरू गर्न चाहन्छु । ‘वेद’ शब्द ‘विद्’ धातुबाट बनेको हो । यसको तात्पर्य हुन्छ, जान्नु । जान्नु ज्ञानको पर्यायसँग सम्बन्धित छ । वेदलाई श्रुति पनि भने गरिन्छ । ‘श्रु’ धातुबाट ‘श्रुति’ शब्द बनेको छ । ‘श्रु’ को तात्पर्य हो– सुन्नु । भनिन्छ, परमात्मा अर्थात ईश्वरले वेद भने र ऋषिहरूले आफ्नो अन्तस्करणमा राख्ने काम गरे । वस्तुतः वेदको अर्थ हो–‘ज्ञान’ । वेद सबै धर्मको मूल हो । ज्ञानबाट नै सबै कर्तव्याकर्तव्यको बोध हुन्छ र यसै अनुसार मानिसहरू काम गर्न पाउँछन् । मानव समाज, जीवन र यसका कर्तव्याकर्तव्य बुझ्ने मानिस नै वेदको ज्ञाता हुन् । यसरी हेर्दा मानवीय सद्ज्ञान नै वेद हो भन्ने बुझ्नु पर्दछ । वेदमा देवता, ऋषि र मन्त्र गरी तीन विषय महत्वपूर्ण छन् । देवताका रूपमा हामीले पूजा गर्ने देवी देवतालाई बुझ्छौ. भने कतै प्रकृति र प्राकृतिक पदार्थ पनि समावेश छन् । ऋषि मुनिहरू वेदको मन्त्रद्रष्टा हुन् । मन्त्र भनेको वेदका कथन हुन् ।

कतिपयले वेदलाई रचनाको रूपमा पनि लिने गर्छन् । वेदको रचनाकार ईश्वर हुन् कि मानिस भन्ने पक्षमा पनि अनेक तर्क छन् । यसलाई गहिरो रूपले खोज्दै जाँदा स्रष्टाले कुन ठाउँमा बसेर लेखेको हो भन्ने कुराको कसैले किटान गर्न सकेको छैन् । वेद सबैभन्दा पुरानो ग्रन्थ हो भने कुरामा विद्वानहरू एकमत छैनन् तर पूर्वीय विद्वानहरू यसलाई सनातनी रूपमा लिने गर्छन् । सनातनीको अर्थ आदिकालमा सिर्जित कुरालाई जनाउँदछ । यसरी पूर्वीय ग्रन्थ अनुसार वेद चार प्रकारका छन्ः ऋग्वेद, यजुर्वेद, सामवेद एवं अथर्ववेद । यस्तै यसका चार उपवेदहरू क्रमशः आयुर्वेद, धनुर्वेद, गान्धर्ववेद एवं तन्त्रवेद रहेका छन् । ऋग्वेदको उपवेद आयुर्वेद, यजुर्वेदको उपवेद धनुर्वेद, सामवेदको उपवेद गान्धर्ववेद र अथर्ववेदको उपवेद तन्त्र वा अर्थशास्त्र मानिएको छ । ऋग्वेदका ऋचामा देवताहरूको प्रार्थना र स्तुति छन् । यजुर्वेदमा विभिन्न प्रकारका यज्ञको चर्चा गरिएको छ । सामवेदमा ऋग्वेदकै अधिकांश ऋचा छन् जुन गेय र संगीतमय छन् । अथर्ववेदमा सांसारिक र आध्यात्मिक ज्ञानको भण्डार छ । वेदहरू शुरूमा अलिखित थिए । वेदका मन्त्र विस्मृत नहोस् भन्ने उद्देश्यले ऋषिहरूले यसलाई कण्ठस्थ राख्थे र आफ्ना शिष्यहरूलाई कण्ठ गर्न लगाएर यसलाई निरन्तरता प्रदान गरेका थिए । पछि लिपिको आविष्कार भएपछि यो पुस्तकको रूपमा उपलब्ध भयो । वेद कण्ठ गर्ने द्विज (ब्राह्मण) लाई श्रोतिय (सोइत) भनिन्थ्यो । श्रोतीय ब्राह्मणको प्रतिष्ठा अन्य ब्राह्मणभन्दा माथि हुन्थ्यो । मुख्य गरी वैदिक साहित्यमा चारै वेदसँग सम्बन्धित ग्रन्थ उपलब्ध छन् । हिन्दु समाजले वेदलाई अकाट्य प्रमाण मान्छन् ।

यसमा उल्लेख ज्ञानलाई अन्य प्रमाणको आवश्यकता छैन् । वेद वाक्य ईश्वरको वाक्य भएको हुनाले यसमा कुनै खण्डन र गुनासोको ठाउँ छैन् । त्यसैले हिन्दु समाजमा वेदको सम्मान अति उच्च छ । वेदको ज्ञानलाई सीमित गर्न सकिँदैन । वेदमा सबै विषयलाई समेटिएको छ । देहधारी भएका कारण मनुष्यको ज्ञान सीमित हुन्छ । मानिसद्वारा रचिएका ज्ञान सीमित हुन्छ भने ईश्वरद्वारा रचिएका ज्ञान असीमित मानिन्छ । त्यसैले वेदलाई अनादि र अपौरुषेय मानिन्छ । वेदलाई हिन्दु दार्शनिकहरू प्रमाणिक ग्रन्थ मानिन्छन् । यससँग सम्वन्धित तर्कशास्त्रीहरू भन्छन् सृष्टिको आदिमा मनुष्यलाई ज्ञान दिने कोही हुनुपर्छ । कुनै ज्ञानीबाट ज्ञान नपाइ मानव प्रगति गर्नै सक्दैन । तर पाश्चात्य विद्वानहरूका अनुसार वेद ईश्वरकृत नभएर ऋषिकृत हो र यसको रचना हजारौं वर्ष पहिला भयो । वेदको अङ्गतिर जाँदा वैदिक साहित्यमा दुई प्रकारका विद्याको चर्चा गरिएको छ । पहिलो पराविद्या हो भने अर्को अपराविद्या हो । पराविद्या ब्राह्मणसँग सम्बन्धित छ भने अर्को अपराविद्या ब्रह्मज्ञान भन्दा बाहेक समस्त ज्ञान निहित छ । वेद सबै धर्मको स्रोत हो । अब धर्म वारेमा पनि बुझ्नु पर्ने हुन्छ । धर्म शब्दको मूल अर्थ हो–धारण गर्नु । धारण गर्नु भनेको धर्म हो भने धारण के को गर्ने ? उत्तरमा जबाब भेटिन्छः ज्ञानलाई । ज्ञानको धारणा गर्नु नै धर्म हो । ज्ञान कर्मको उत्प्रेरक हो । कर्म नै जीवन हो । कर्महीन हुनु भनेको आफूलाई समाप्त गर्नु हो । ज्ञानद्वारा सद्मार्गमा अग्रसर हुनु नै साँचो धर्म हो । वेद ज्ञानको भण्डार हो । यसको पठनपाठनबाट ज्ञानको प्राप्ति हुन्छ । वेदमा ज्ञान, कर्म, उपासना र एकाग्रताको सम्बन्धमा गहन ज्ञान समाहित छ । आस्तिक भए पछि मात्रै मनुष्यले यो आध्यात्मिक ज्ञान बुझ्न सक्छ । त्यसबेला आध्यात्मिक ज्ञानमा उसको पूर्ण रूचि हुन्छ अनि मात्र वेदलाई उसले आत्सात गर्न सक्छ । ईश्वरको अस्तित्वलाई स्वीकार नगर्नेलाई नास्तिक भनिन्छ । ईश्वरको आस्तित्वलाई स्वीकार गर्ने होऊन् अथवा नहोऊन वेदमा सुरक्षित ज्ञान सबैका लागि उपयोगी छ भन्ने तथ्यलाई कसैले पनि नकारेका छैनन् ।

यसलाई आज नगरेपनि आउने दिनमा मानिसले अवश्य अनुभूति गर्ने नै छ । अन्धविश्वासी हुनु भनेको आस्तिक हुनु होइन । अन्धविश्वासले गतिमा बाधा पार्छ । शुद्ध ज्ञानको बलमा पुरुषार्थ गरेपछि बल्ल लक्ष्य सिद्ध हुन्छ । ज्ञान विचारको पोषक हो । पुरूषार्थ लक्ष्यसिद्धिको माध्यम हो । वेदले निरन्तर गतिशील हुनका लागि प्रेरणा दिन्छ । त्यस्तो प्रेरणा कसले लिने वा कसले नलिने व्यक्तिमा भर पर्ने कुरा हो । वेदको लक्ष्य व्यक्तिको सर्वाङगीण विकास गर्नु हो । वेद ज्ञानको भण्डार हो । वेदले सामाजिक, सांस्कृतिक, राजनीतिक, धार्मिक र नैतिक मान्यताहरूको समुज्जवल चित्र उपस्थित गर्छ । त्यसैले यसको महत्व सर्बोपरि छ । कम गर्दै सय वर्ष वाच्ने इच्छा गर्नु पर्छ । मनुष्यको जीवन कम गर्दै नै बित्छ । मानिसको लक्ष्य स्वभाविक दुर्वलताहरूमाथि विजय पाउँदै बाह्य (भौतिक) र आभ्यन्तर (आध्यात्मिक) रूपमा आफैलाई उत्तरोत्तर प्रगति गराउनु हो । वेदको अंगतिर बढ्दा यसको छवटा अङ्ग रहेका छन् ः (१) शिक्षा (२) कल्प (३) व्याकरण (४) निरुक्त (५) छन्द (६) ज्योतिष । वेद अनुसार उदात्त, अनुदात्त र स्वरित स्वर, कालक्रम, स्थान र प्रयत्न अनुसार उच्चारण गरी अक्षर पढ्ने ज्ञान पाइन्छ, त्यसलाई ‘शिक्षा’ भनिन्छ । शिक्षाको सम्बन्ध शास्त्रसँग छ । ऋषिहरूले वेदहरूको उच्चारणमाथि सर्वाधिक ध्यान दिएका छन् । कल्पसूत्रहरूद्वारा कर्मकाण्ड तथा धर्मशास्त्रसँग सम्बन्धित गहन विषयको विस्तृत विवेचना गरिन्छ । वेदमा भएका कर्मको क्रमपूर्वक व्यवस्थित कल्पना गर्ने शास्त्र कल्प हो । प्रत्यक्ष आदिद्वारा धातु सन्धि, समास, पुलिङ्ग, स्त्रीलिङ्ग, नपुंसक लिङ्ग आदि शब्दहरूको सिद्धि उल्लेख हुने ज्ञानलाई व्याकरण भनिन्छ । व्याकरणको एकमात्र लक्ष्य वेदार्थलाई बुझ्नु र त्यसको रक्षा गर्नु हो ।

अर्थज्ञानको दृष्टिले स्वतन्त्र पदसंग्रहको नाम निरुक्त हो । शब्दको निर्वचन, वाक्यको अर्थ सारसङ् ग्रह भएकालाई निरुक्त भनिन्छ । छन्दलाई वेदको खुट्टा भनिन्छ । छन्दहरूको ज्ञानविना मन्त्रहरूको उच्चारण तथा पाठ उचित तरिकाले पढ्न सक्दैन । केवल कृष्ण–यजुर्वेद गद्य र पद्य दुबैमा छ । अन्य सबै वेद पद्यमय छन् । वेदको मन्त्र छन्दोबद्ध छन् । छन्दहरूको ज्ञानविना वेदका मन्त्रको शुद्ध उच्चारण सम्भव छैन । ज्योतिषलाई शास्त्रको आँखा भनिन्छ । ग्रह–नक्षत्रको गतिबाट कालको निर्देश गर्ने र संहिता, होरा र गणित नामका तीन स्कन्ध भएका शास्त्रलाई ‘ज्योतिष’ भन्दछन् । वेदका अङ्गमा लेखिएको ज्ञानको रक्षाका लागि मनुष्यकृत ग्रन्थ हो । यसले वेदज्ञानलाई रक्षा गर्छ । वेदहरूका अंग र उपअंगबाट वेद मन्त्रको अर्थ र यथार्थ बोध हुन्छ । त्यसैले वेदलाई सम्झ्नका लागि यी सबै सहायक ग्रन्थ हुन् । यिनको पनि अध्ययन गर्नु पर्छ । वर्णाश्रमको जीवन चर्चातिर लाग्दा शिक्षा लिने, घर चलाउने, चिन्तनमनन गर्ने र अन्तिम समयको तयारी गर्ने जीवनका यी चार मोड्हरू सबैका अनिवार्य हुन् । पुरानो वा वैदिक कालमा मात्रै होइन, आजपनि यसलाई अस्वीकार गर्न मिल्दैन । यसलाई रघुकुलका राजाहरूको जीवन बृत्तिका रूपमा महाकवि कालिदासले रघुवंश महाकाव्यमा यसरी भनेका छन् : बाल्यावस्थामा विद्याको अभ्यास गर्ने, यौवनमा विषयभोगको इच्छा गर्ने, बुद्यौलीमा मुनिवृति लिने र योगसाधनाले अन्तिममा शरीर त्याग्ने जीवनका यी चार महत्वपूर्ण समयको मोड् राजालाई मात्रै नभएर सबैलाई आउँछ र वैदिक संस्कारभित्र रहनेहरूका लागि मात्रै नभएर सबैलाई नै आउँछ ।

आफूलाई पालन कसरी गर्ने भन्ने कुरो मात्रै फरक हो । समाजलाई व्यवस्थित गर्न तथा राम्रो जीवनयापन गर्न समाजका जुन व्यक्ति जो कामसँग सम्बन्धित थियो त्यसैलाई हेरेर मुखको भागलाई ब्राह्मण, हात र वाखुरालाई क्षत्रिय, तिघ्रा वैश्य र दुई गोडा शूद्र भए । मानिसको सामाजिक व्यवस्थालाई विराट पुरुष भन्ने कल्पना गर्ने हो भन्ने शिक्षा वा नेतृत्व गर्नेलाई ब्राह्मण, संरक्षासुरक्षामा लाग्नेलाई क्षत्रिय, भरणपोषणका लागि आयात निर्यात गर्ने वैश्य र सेवाको काम गर्नेलाई शुद्र भनेको देखिन्छ । विस्तारै यी वर्णाश्रम समाजका लागि नकारात्मक दिशातिर बढ्न थाले । यस्ता वर्णाश्रम तत्कालिन समाजलाई व्यवस्थित गर्न बनाइएको भए पनि आजको विकसित समयमा यस्ता वर्ण व्यवस्थालाई संसारबाट नै समानताको दृष्टिकोणले हेर्न तथा काम गर्न सरकारहरू नियमकानून बनाइ सबै वर्णका मानिसहरूका लागि समान हकभोग गर्ने कुरालाई अगाडि बढाएको देखिन्छ । वेदको मूल मर्म पनि त्यहि हो । जो धर्म संसारका सबै मानिसहरूका लागि कल्याणका कुरा गरेका छन् उसले कसरी एक अर्काको बीचमा फरक कुरा उठाउन सक्छ । वेदमा जहाँ पनि मानव कल्याणका कुरा उठाएको देखिन्छ । कतै कहीं पनि एक–अर्का बीच तलमाथि कुरा उठाएको देखिँदैन । ‘वेद’ त सबै शास्त्रका मूल शास्त्र हुन् । शास्त्र लेख्दा विभिन्न ऋषि, मुनि, विद्वान, लेखक आदिले जुन वातावरणमा बसेका छन् । ती वातावरण अनुसार केही न केही आफ्ना विचार मिश्रित गर्दै गए फलस्वरूप समाजमा विभिन्न विकृति पस्न थाले । आजका युगमा वेदको उतिकै महत्व छ । हिन्दुका लागि मात्र होइन संसारका अन्य धर्मका लागि पनि उतिकै महत्वपूर्ण मानिन्छ ।

आज शिक्षामा आएको प्रगतिले गर्दा सबै धर्मालम्बीहरू सबै वेद शास्त्रहरू पढ्न कसैलाई रोक छैन । धर्ममा पनि विश्वव्यापीकरणले गर्दा मानिसहरू सबै शास्त्रबाट सकारात्मक कुराहरूलाई छानि छानि आफ्नो जीवनको व्यवहारमा प्रयोग गरि रहेका छन् । वेद सबैले पढ्नु पर्छ । विगतको समय वेद पढ्न ब्राह्मणलाई मात्र अनुमति थियो । आजको समाजले यसलाई परिवर्तन गरि सकेको छ । मानव मानव बीचको विभेदलाई कम गरि सकेको छ । नेपाल पनि विधिवत रूपमा वेद पढ्न सबैलाई छूट दिएकै छ । यसलाई अध्ययन गरेर विभिन्न समुदायका मानिसहरू भरपूर लाभ लिई रहेका छन् । आदर्श समाज बनाउन वेद अध्ययन अनिवार्य छ । इतिश्री ।

Comment


Related News

Latest News

Trending News