अपडेट 
२०८० बैशाख ६, बुधबार ०७:२४

उद्योग व्यापार क्षेत्रमा रहेको सबै समस्याहरु समाधान गर्न माग गरिएको छ ।

गृह जिल्लाको उद्योगी व्यापारीहरुले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालसंग यस्तो मांग गरेका छन् । पर्सा–बारा औद्योगिक कोरिडोर क्षेत्रका समस्या समाधानका लागि विशेष पहल गरिदिन वीरगञ्जको उद्योगीहरुले उनलाई आग्रहसमेत गरेका छन् । वीरगञ्ज उद्योग वाणिज्य संघले आयोजना गरेको कार्यक्रममा उद्योगमन्त्री रिजाल सामु निजी क्षेत्रका समस्या सुनाउँदै वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवालले देशकै ठूलो पर्सा– बारा औद्योगिक कोरिडोरलाई औपचारिक रुपमै औद्योगिक क्षेत्र घोषणा गराउन आग्रह गरेका छन् । वर्षौ देखि प्रस्तावमा रहे पनि सरकारले यसक्षेत्रलाई औद्योगिक क्षेत्र घोषणा नगरिदिँदा पाउने सेवा सुविधा व्यवसायीले पाउन नसकेको र यस क्षेत्रमा वैदेशिक लगानी पनि भित्र्याउन नसकिएको उद्योगीहरुको धारणा रहेको थियो । पर्सा– बारा औद्योगिक कोरिडोरमा अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र र औद्योगिक सुरक्षा बल स्थापना गर्न पनि मन्त्री रिजालसमक्ष उद्योगीहरुले माग राखे । वीरगञ्जमा रहेको सुख्खा बन्दरगाह (आइसिडी ) र एकीकृत जाँच चौकी (आइसिपी) २० वर्ष पहिलेकै संरचनामा चलिरहेकाले ती दुबैको भौतिक पूर्वाधार विस्तारको खाँचो रहेको पनि उनले मन्त्री रिजालाई सुनाए । दुबैमा सुविधासम्पन्न खाद्यान्न क्वारेन्टाइन स्थापना पनि गरिदिन उनले आग्रह गरे ।

यस्तै,औद्योगिक कोरिडोरका उद्योगबाट निस्कने फोहोर व्यवस्थापनका लागि औद्योगिक डम्पिङ साइड निर्माण गर्दिन पनि उनले आग्रह गरे । बाराको सिमरामा विशेष आर्थिक क्षेत्र (सेज) स्थापना गरिए पनि त्यसको कार्यान्वयन सुस्त रहेको र त्यसको सफल सञ्चालन हुन नसकेको गुनासो गर्दै अध्यक्ष अग्रवालले भने,‘ सेजमा उद्योगका लागि जग्गा भाडा पनि निक्कै महङगो छ , त्यसलाई घटाइ दिनुपर्छ अनि मात्र त्यहा उद्योगहरुको लगानी बढ्नसक्छ । औद्योगिक कोरिडोरमा विद्युतको ट्रिपिङ र अघोषित लोडसेडिङले उद्योगीहरु आक्रान्त रहेकाले यो समस्या समाधानका लागि उर्जामन्त्रालयमा पहल गरिदिन पनि मन्त्री रिजाललाई उनले आग्रह गरे । कार्यक्रममा जितपुर सिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्माले आर्थिक एंव औद्योगिक नगर वीरगन्जले पहिलो पटक पर्साकै वासिन्दा रमेश रिजाललाई उद्योगमन्त्रीका रुपमा पाएकाले रिजालको कार्यकालमा यहाको निजी क्षेत्रको समस्या यदि सम्बोधन भएन भने त्यसपछिका दिनमा यहाका उद्योगी व्यपारीले सरकारबाट कुनै पनि कुराको अपेक्षा गर्नु नै व्यर्थ हुने बताए ।

वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एंव वीरगञ्जका पूर्व मेयर विजय सरावगीले औद्योगिक र वाणिज्य क्षेत्रका लागि दीर्घकालीन नीति बनाउन मन्त्री रिजालसंग आग्रह गरे । वीरगञ्ज उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष ओमप्रकाश शर्माले अहिलेको औद्योगिक कोरिडोर मानववस्तीका बीचमा परेकाले ग्रामीण भेगतिर जग्गा खोजेर नयाँ औद्योगिक कोरिडोर स्थापनाका लागि पहलगरिदिन मन्त्री रिजालसंग आग्रह गरे । वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अग्रवालको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्यद्वय जनार्दन सिंह क्षेत्री र श्याम पटेल , वीरगञ्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलम , संघका पूर्वअध्यक्ष प्रदीप केडिया , गोपाल केडिया , अशोक बैद्य, संघका वरिष्ठ उपाध्यक्ष हरि गौतम लगायतको पनि सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News