अपडेट 
२०८० बैशाख २४, आईतवार ०८:०४

मधेश प्रदेश सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी (जसपा)ले आफ्ना सभासदहरुसंग नीति तथा कार्यक्रमका लागि लिखित सुझाव माग गरेको छ ।

जसपाका संसदीय दलका नेता तथा मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवको अध्यक्षतामा शनिबार बसेको संसदीय दलको बैठकमा सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउने नीति तथा कार्यक्रम सन्दर्भमा लिखित रुपमा सुझाव दिन माग गरेको छ । विगतका सरकारको नीति तथा कार्यक्रम एक प्रकारको र बजेट अर्का प्रकारका रहने गरेका कारण बजेट कार्यान्वयनमा समस्या हुँदै आएकोले आगामी आर्थिक वर्षदेखि नीति तथा कार्यक्रम अनुसार नै बजेट ल्याउने तयारीमा मधेश प्रदेश सरकार रहेको छ । नीति तथा कार्यक्रम अनुसारका बजेट रहेपछि कार्यान्वयन पनि प्रभावकारी हुने र सरकारको नीति पनि सफल हुने भएकाले नीति तथा कार्यक्रम लिखित रुपमै सुझावको लागि माग गरिएको छ । विगतमा नीति आयोगले बनाएको नीति अनुसार बजेट कार्यान्वयन नभएपछि प्रदेश सरकारको आलोचना समेत हुने गरेको थियो । संसदीय दलमा मुख्यमन्त्री यादव चयन भएपछि पहिलो पटक शनिबार बैठक बसेको थियो । बैठकमा विगतका सरकारले बजेट तर्जुमाका लागि सुझाव माग गर्ने गरेकोमा त्यो परम्परालाई वर्तमान सरकारले तोड्दै वर्तमान सरकारले नीतिमा सुझाव माग गरेको छ । विगतमा सुझाव पनि सभासदहरुले मौखिक नै दिने गरेका थिए । तर, यस पटक नीति तथा कार्यक्रम र बजेट तर्जुमा दुबैमा लिखित रुपमै सुझाव माग गरिएको बैठकबाट बाहिरिने क्रममा जसपाका सभासद रामअशिष यादवले जानकारी दिए । संसदीय दलको शनिबार बसेको बैठकमा सरकार सञ्चालनको बिषयमा समेत छलफल भएको र थप प्रभावकारिता ल्याउनुपर्ने जसपाका सभासदहरुले सुझावसमेत दिएका थिए ।

सरकारले गरेको कामको प्रचार प्रसारमासमेत तीव्रता ल्याउनुपर्ने र सभासदहरुले समेत प्रभावकारी रुपमा सरकारको गतिविधिहरुको प्रचार प्रसार गर्नुपर्ने निष्कर्ष निकालेका थिए । ‘विगतका सरकारको आलोचना धेरै भयो’ एक सभासदले भने–‘सरकारको आलोचना हुने खालको न त नीति बनाउनुपर्छ नत बजेट नै । विगतमा जे भयो हामीले हेर् यौं, आगामी दिनमा सचेत रहनुपर्छ ।’ विगतमासमेत जसपाले नै सरकारको नेतृत्व गरे पनि सरकारको बजेट चलाउने प्रक्रियाको व्यापक आलोचना भएको थियो । साइकल खरिद, स्वच्छता अभियानलगायतका प्रदेश सरकारको गौरबका आयोजनाहरुको व्यापक आलोचना भएको थियो । जसपा संसदीय दलको शनिवार सम्पन्न भएको बैठकमा निवर्तमान मुख्यमन्त्री लालबाबु राउत बाहेक सबै सभासदहरु उपस्थित भएका थिए ।

Comment


Related News

Latest News

Trending News