अपडेट 
२०८० बैशाख २५, सोमबार १०:२६

दलित मधेशी महिलाहरुको दुई दिवसीय मधेश प्रदेश सम्मेलन १७ बुंदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।

सम्मेलनमा प्रदेश भरिका आठ वटै जिल्लाका गरी दुई सय भन्दा बढी दलित मधेशी महिलाहरुको सहभागिता रहेको थियो । दलित महिला संघ (फेडो) द्वारा आयोजित सम्मेलनले मधेश प्रदेशमा कार्यान्वयनमा रहेको दलित सशक्तिकरण ऐन (२०७६) र दलित सशक्तिकरण नियमावली (२०७८)मा गठन गरिने भनिएको समितिहरु यथाशीघ्र गठन हुनुपर्ने,गठन भइसकेका समितिहरुलाई क्रियाशील बनाउने,मधेश निजामती ऐन (२०७७)अनुसार प्रदेश सरकारको हरेक संरचनामा मधेशी दलित महिलाको समानुपातिक प्रतिनिधित्वको व्यवस्था गर्नुपर्ने, मधेशी दलित समुदायमा सीप विकासको लागि उनीहरुको रैथाने सीपलाई प्रवद्र्धन र बजारीकरणको लागि उचित व्यवस्था गर्नुपर्ने माग अघि सारेको छ ।

त्यसैगरी, सम्मेलनले जारी गरेको घोषणापत्रमा मधेश प्रदेश सरकारले भूमिहीन र आवासविहीन महिलाको समस्या समाधानको लागि भूमि आयोग बनाएर भूमि र आवासको यथाशीघ्र व्यवस्था हुनुपर्ने,नागरिकताबाट वञ्चित भएका मधेशी महिलाहरुको नागरिकता तत्काल दिनुपर्ने व्यवस्था गर्नुपर्ने, राजनैतिक सशक्तिकरणको लागि नेतृत्व तहमा समानुपातिक प्रतिनिधित्वको अभ्यास गर्नुपर्ने, प्रदेश सरकारको सबै संरचनामा मधेशी महिलाको लागि विशेष व्यवस्था हुनुपर्ने,मधेशी दलित महिलामाथि हुने जातीय छुवाछुत तथा लैंगिक हिंसा न्यूनीकरण गर्नको लागि दलित सशक्तिकरण ऐन र नियमावलीको पूर्ण कार्यान्वयन गरिनुपर्ने,बालविवाह र दाइजो प्रथालगायतका कुरीति कुसंस्कारलाई न्यूनीकरण गर्न विशेष पहल गर्नुपर्ने, अन्तर्जातीय विवाह गर्ने जोडीहरुलाई प्रोत्साहन, संरक्षण, स्वीकार्य, सामाजिक सुरक्षाको ग्यारेण्टी राज्यले गर्नुपर्ने माग गरिएको छ ।

त्यस्तै,सम्मेलनबारे जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा दलित महिला संघका केन्द्रीय महासचिव रेनु सिजापतिले संघीय, प्रदेश र स्थानीय सरकारहरुले निर्माण गरेका ऐन÷कानुनहरु र नेपालले अन्तर्राष्ट्रिय महासन्धीहरुको प्रभावकारी कार्यान्वयनमा संघ सहयोगी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरिन् । त्यसैगरी, संघका केन्द्रीय अध्यक्ष कला स्वर्णकारले मधेशी दलित महिलाहरु एकदमै उत्पीडनमा परेको गुनासो पोखिन् । मधेशी दलित महिलाहरुलाई सशक्त बनाउन र उनीहरुले पाउनुपर्ने अधिकार प्राप्तिको लागि प्रदेश र संघ सरकारलाई दवाब दिनका लागि दलित महिलाहरु संगठित हुँदै गएको बताइन् । ‘हामी मधेश प्रदेशका दलित तथा दलित महिला र महिलाहरुलाई अधिकार प्राप्तिकालागि सचेतिकरण, सशक्तिकरण र संगठित गर्न प्रतिबद्ध छौं।’ ,उनले स्पष्ट पारिन् ।

सम्मेलनबाट रिंकु कुमारी मण्डलको संयोजकत्वमा प्रदेशका आठ वटा जिल्लाका प्रतिनिधि सम्मिलित ९ सदस्य दलित महिला संघ मधेश प्रदेश कमिटीको गठनसमेत गरिएको छ । सात वटै प्रदेशमा आयोजना गरिने सम्मेलनबाट आएको निष्कर्ष अनुसार आगामी दिनमा कार्यक्रमहरु तय गरिने जनाइएको छ ।

Comment


Related News

Latest News

Trending News