अपडेट 
२०८० बैशाख २७, बुधबार ०७:४८

जनकपुरधाम उपमहानगरपालिकाले जनकपुरधाममा सडकको व्यवस्थापन तथा छाडा चौपाया नियन्त्रणका लागि निर्माण गर्न लागेको गौशाला (काजी हाउस) को निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

जनकपुरधाम उपमहानगरपालिका–१२ कुवारामपुरमा रहेको गुठी संस्थानको करीब १ बिघा जग्गा लिजमा लिएर गत साउन महिनामै गौशालाको निर्माण कार्य प्रारम्भ गरिएको थियो । १ करोडको लागतमा निर्माण हुने भनिए पनि चालु आर्थिक वर्षमा डीपीआरको अभावमा सम्पूर्ण बजेट विनियोजन हुन नसक्दा केही काम अहिले गर्न बाँकी रहेको तर आगामी जेठ महिनाको पहिलो साता भित्रै गौशालाको उद्घाटन गरिने जनाइएको छ । कार्यालयका अनुसार अहिलेसम्म अनुमानित ५० लाख रकमको लगानी भइसकेको र बाउण्ड्री वाललगायतको संरचना निर्माण अझै बाँकी रहेकोले आगामी आर्थिक वर्ष २०८०/०८१ मा बजेट निकासा गरी चौपायाको उपचारदेखि लिएर चौपायाबाट लिन सकिने लाभको लागिसमेत व्यवस्थापन गरिने छ । छाडा चौपाया राख्ने घर, चौपायाका लागि आवश्यक पर्ने भूस तथा पराल राख्ने घर तथा गौशालाको रेखदेख गर्ने कर्मचारीको व्यवस्थापन लगायतको काम सम्पन्न भइसकेको छ भने अब चौपायालाई राख्न सकिने अवस्थामा पुगेको छ ।

गौशालाको निर्माणले नगरक्षेत्रमा जथाभाबी रुपमा छाड्ने चौपायाको नियन्त्रण भएर सडक तथा ट्राफिक व्यवस्थापनमा पनि ठूलो मद्दत पुग्ने विश्वास गरिएको छ । गौशाला निर्माण भएपछि छाडा चौपायाले प्रदान गर्ने गोबर तथा मूत्रबाट जैविक मलको उत्पादन गरेर न्यूनतम् लागतमा किसानलाई मल बिक्री गर्ने सोंचसमेत रहेको छ । नगरक्षेत्रमा चौपाया धनीहरूले दूध दुहेर गाई तथा गोरु एवं उत्पादन नदिने वस्तुहरू जथाभाबी रुपमा छाड्ने गरेका कारणले नगरपालिकाको सडक व्यवस्थापनमा समस्या आउनुका साथै नगरक्षेत्रमा जथाभाबी रुपमा चौपायाले सडक भरी गोवर तथा मूत्र त्याग गर्दा नगर क्षेत्र फोहर बन्ने गरेको जनगुनासो छ । छाडा चौपायाकै कारण जनकपुरधाम नगर क्षेत्रको ट्राफिक व्यवस्थासमेत प्रभावित बन्ने गरेको छ । गौशालाको निर्माण भएपछि गाई तथा गोरु छाडेको खण्डमा नगरपालिकाले नियन्त्रणमा लिएर त्यस्ता वस्तुको धनीबाट पाँच हजार जरिवाना गर्ने कानुनी प्रावधान पनि रहेकाले यसबाट पनि आम्दानी भएर नगरपालिकाले सञ्चालन गर्ने गौशालाको खर्च व्यवस्थापनमा मद्दत पुग्ने विश्वास नगरपालिकाको रहेको छ ।

Comment


Related News

Latest News

Trending News