अपडेट 
२०८० जेष्ठ १, सोमबार ०७:२२

सप्तरीको राजविराजस्थित मधेश कृषि विश्वविद्यालयमा आइतबार कृषि स्नातक कक्षाको शुभारम्भ गरिएको छ । मधेश कृषि विश्वविद्यालयद्वारा आयोजित समारोहबीच जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव तथा मधेश प्रदेशका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महेश प्रसाद यादवले संयुक्त रुपमा कृषि स्नातक कक्षाको शुभारम्भ गरेका छन् ।

कार्यक्रममा जसपा अध्यक्ष यादवले कृषि प्रधान देशमा दक्ष जनशक्ति उत्पादन गर्न यस विश्वविद्यालयले ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गरे । उनले कृषिमा क्रान्ति भए मात्र देशमा व्याप्त गरिबी र बेरोजगारी समस्याको अन्त्य हुने बताए । ‘विश्वका विभिन्न मुलुकहरु कृषिकै कारण समृद्ध भएको छ तर नेपाल जस्तो कृषि प्रधान देशले उर्वरभूमि हुँदा पनि प्रगति गर्न सकेन’ उनले भने, ‘नेपालमा वर्षेनि चार खर्बको खाद्यान्न लगायतका सामग्रीहरु आयात हुँदै आएको छ, यो अन्यन्तै दुखद् हो ।’परम्परागत खेतीले जीवन निर्वाह भए पनि प्रगति गर्न नसकिने दाबी गर्दै उनले कृषिमा आधुनिकीकरण आवश्यक रहेकोले कृषि र शिक्षालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । ‘किसानलाई प्रविधिसँग जोडेर कृषि क्षेत्रलाई प्रविधिमैत्री बनाइ उत्पादन एवम् रोजगारमूलक बनाउनुपर्छ’ उनले भने, ‘कृषि क्षेत्रलाई विज्ञान–प्रविधिसँग जोडेसँगै नेपाल उत्कृष्ट मुलुक बन्ने कुरा निश्चित छ ।’जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष समेत रहेका यादवले शिक्षाको स्तर खस्किँदै गएको प्रति चिन्ता व्यक्त गर्दै गुणस्तरीय शिक्षामा जोड दिए ।

मधेश प्रदेशमा कृषि विश्वविद्यालय स्थापना भइ कक्षा समेत सञ्चालन हुन लागेकोमा खुशी व्यक्त गर्दै उनले भने, ‘अब कृषि सम्बन्धी अध्ययन अनुसन्धानका साथै दक्ष जनशक्ति उत्पादनमा योगदान हुनेमा आशावादी छु ।’मधेश कृषि विश्वविद्यालय राजविराजमा स्थापना हुँदा केही व्यक्तिहरुले बोर्ड मात्रै झुण्ड् याएको भन्दै कक्षा पनि सञ्चालन हुन्छ र भनी मजाक समेत उडाए’ उनले थपे, ‘आज कृषि विश्वविद्यालयले बीएसी एजीको पठनपाठन सञ्चालन गर्दैछ, यो नै मजाक उडाउनेहरुका लागि जवाफ हो ।’मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेश प्रदेश सरकारले आवश्यकता र औचित्यको आधारमा कृषि, सिंचाई, शिक्षा लगायतका छुट्टै मन्त्रालयहरु विस्तार गरी अगाडि बढेको बताए । ‘विषयगत मन्त्रालय भएपछि सम्बन्धित विषयमा काम गर्न सहज हुनेछ’ उनले भने, ‘प्रदेश सरकारले कृषि र शिक्षालाई प्राथमिकतामा राखी काम अगाडि बढाएको छ, उत्पादन एवम् रोजगारमूलक क्षेत्रहरुमा मधेश प्रदेश सरकारले बजेट विनियोजन गर्न लागेको छ ।’आफूहरु नीति तथा कार्यक्रम र बजेट विनियोजनमा केन्द्रित रहेको चर्चा गर्दै निर्वाचनहरुका कारण लागेको आचारसंहिताले गर्दा अपेक्षाकृत काम अगाडि बढाउन नसकिए पनि नयाँ आर्थिक वर्ष साउनको दोस्रो सातादेखि नै मधेश प्रदेश सरकारले कामहरु अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरे । ‘अब असारे बजेट खर्च गर्ने परम्पराको हामी अन्त्य गर्नेछौं, यो मधेशी जनताको सरकारको हो, म हुन्जेलसम्म भ्रष्टाचार हुन दिन्न’ उनले प्रष्ट गरे ।

शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्य मन्त्री महेशकुमार यादवले मधेशको साक्षरता प्रतिशत अन्यन्तै न्यून रहेकोले आफू जिम्मेवारी सम्हालेकै दिन मधेशलाई पूर्ण साक्षर प्रदेश बनाउने निर्णय गरेको बताए । ‘कुनै बेला बौद्धिकताको परिचय दिने मधेश प्रदेशका जिल्लाहरुको साक्षरताको अवस्था यतिबेला कहालीलाग्दो छ’ उनले भने, ‘मधेश प्रदेशलाई पूर्ण साक्षर बनाउन हामी प्रतिवद्ध छौं ।’ सामूदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर अत्यन्तै कमजोर रहेको बताउँदै मन्त्री यादवले शैक्षिक गुणस्तर सुधारका लागि विशेष कार्यक्रम ल्याउन लागेको जानकारी गराए । विश्वविद्यालयका उपकुलपति डा.वैद्यनाथ महतोको अध्यक्षतामा आयोजित कार्यक्रममा रजिष्टार डा. भगवान ठाकुरले कृषिको आधुनिकीकरण र रुपान्तरण गरी जनताको सामाजिक र आर्थिक स्थितिमा सुधार ल्याउन उच्च शैक्षिक र दक्ष जनशक्ति उत्पादनमा विश्वविद्यालय प्रतिवद्ध रहेको जानकारी दिए । उनकाअनुसार विश्वविद्यालयमा हाल कृषि स्नातक कक्षा शुभारम्भ भए पनि पीएचडीसम्मको अध्ययन अध्यापनका साथै कृषिमा अनुसन्धानहरु हुनेछन् । हाल बीएसी एजी अध्ययनका लागि ५० जना विद्यार्थीले भर्ना लिएका छन् ।

शैक्षिक सत्र २०७९/८० का लागि शुरु भएको उक्त कक्षाले सप्तरीका मात्र नभइ मधेश प्रदेशका ८ वटै तथा छिमेकी प्रदेशका पनि सयौं विद्यार्थीहरु लाभान्वित हुने विश्वास गरिएको छ ।

Comment


Related News

Latest News

Trending News