अपडेट 
२०८० जेष्ठ १, सोमबार ०७:२८

रौतहट जिल्ला अदालतका न्यायाधीशले दोषीलाई रिहा गरेको भन्दै पीडित परिवारले आइतबार जिल्ला अदालत गौरको मुख्यद्वार अगाडि विरोध प्रदर्शन गरेको छ ।

गोली प्रहार गरी हत्या गरिएका रौतहट जिल्लाको गढि़माई नगरपालिका–८का राजकुमार यादवको परिवारजन तथा समर्थकहरूले जिल्ला न्यायाधीश गेहेन्द्र राज पन्तको विरुद्धमा चर्को नाराबाजी गर्दै प्रदर्शन गरेको छ । सडक निकासको बिषयमा २०८० बैशाख २ गतेका दिन विवाद हुँदा स्थानीय श्याम किशोर यादव, राम बहादुर यादव,राम एकवाल यादव,राम सेवक राय यादव, दिनेश यादव, राम ईश्वर यादव, राजेश्वर राय यादव समेतले घरबाट बन्दुक ल्याएर प्रहार गर्दा राज कुमार यादवको मृत्यु भएको थियो भने गोली लागेर निरन्जन यादव, बालाधर यादव, राम प्रताप यादव र कपिल देव यादव घाइते भएका थिए ।

घटना भएकै दिन पक्राउ परेका श्याम यादव, राम बहादुर, राम एकवाल, राम सेवक र दिनेश यादवसहित छ जनालाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरी अनुसन्धानको कार्य सकिएपछि थुनछेक प्रयोजनको लागि जिल्ला सरकारी वकिल कार्यालयले पेश गरेको अभियोग सहितको मुद्दामा बहस सकिएपछि अदालतले ३ जना राम एकवाल यादव, राम सेवक यादव र दिनेश यादवलाई धरौटीमा राखेर रिहा गरेको प्रति आक्रोशित भएर पीडितले आर्थिक प्रलोभनमा न्यायपालिकाले यस्तो गरेको आरोप समेत लगाउँदै विरोध प्रदर्शन गरेको छ । अदालतले श्याम किशोर यादव, राम बहादुर यादवलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नको लागि कारागार चलान गरेको छ ।

राजनीतिक रुपमा मुद्दा कमजोर बनाई दोषीलाई उन्मुक्ति दिलाउन चलखेल गरेको मृतकका पत्नी अन्जु देवीको आरोप छ । उनले दोषी सबै जनालाई कारागार चलान गर्नु पर्ने, फरार रहेका अभियुक्त राम ईश्वर यादव र राजेश्वर यादवलाई पक्राउ गर्नु पर्ने माग समेत गरे । न्यायपालिकाले निष्पक्ष रुपमा न्याय दिन नसके आम जनताको न्यायपालिका प्रतिको विश्वास घट्दै जाने उनको भनाइ छ । अदालतबाट धरौटीमा रिहा भएका आरोपितले गाउँमा खुल्ला रुपमा धम्की दिने गरेकोले परिवार तथा मुद्दाका सरकारी साक्षीलाई सुरक्षा चुनौती बढेको बताइएको छ । अन्यायको विरुद्ध न्यायको लागि न्यायपालिका आउँदा न्याय पालिकाले पनि निष्पक्ष रुपमा न्याय दिन नसक्दा कुन ठाउँमा न्याय खोज्न जाने भनी कमजोर व्यक्तिलाई चिन्ताको बिषय भएको पीडित राम नारायण राय यादवले बताए ।

Comment


Related News

Latest News

Trending News