अपडेट 
२०८० जेष्ठ ४, बिहीबार ०७:४१

जनकपुरधाममा बुधबार नागरिक समाजले प्रदर्शन गरेको छ ।

जनक चोकमा विभिन्न प्ले कार्डसहित समाजले प्रदर्शन गरेको छ । ‘दलीय भागवण्डा र भ्रष्टाचारविरुद्ध एक होऔं’ नारा दिएर भएको प्रदर्शनमा भ्रष्टाचार विरुद्ध आवाज बुलन्द गर्नुपर्ने नागरिक समाजका अगुवा रामरिझन यादवले बताए । उनले स्थानीय, प्रदेश र संघमा भइरहेको बेथिति विरुद्ध सबैलाई आफ्नो आफ्नो ठाउँबाट आवाज उठाउन मागसमेत गरे । ‘काठमाण्डुको नागरिक समाज भ्रष्टाचार विरुद्ध उठिसक्यो । विराटनरमा पनि उठिसक्यो,’उनले भने,‘तर मधेशको नागरिक समाज अझै मौन छ । जनकपुरधामको नागरिक समाज अझै आवाज उठाइरहेका छैनन् ।’उनकै नेतृत्वमा अहिले मधेश प्रदेशमा प्रदर्शन शुरु भएको छ । यसअघि सप्तरीको राजविराज, सिरहाको सिरहा सदरमुकाममा नागरिक समाजले प्रदर्शन गरिसकेको छ । बिहीबार महोत्तरीको सदरमुकाम जलेश्वर र पर्सी सर्लाहीको मलंगवामा प्रदर्शन गर्ने कार्यक्रम रहेको छ ।

नागरिक समाजले खबरदारी नगरे हरेक क्षेत्रमा भयावह अवस्था आउनसक्ने उनले बताए । देशका नागरिकलाई पैसाको लागि शरणार्थी बनाउने जस्ता नीच स्तरको काण्डमा गृहमन्त्री जस्ता पदमा बसेका व्यक्तिबाट हुनु अकल्पनीय अक्षम्य अपराध भएको जिकिर गरे । नक्कली शरनार्थीलगायतको अन्य सबै काण्डको स्वच्छ निष्पक्ष छानबिन गरी दोषीहरुलाई कारबाहीको दायरामा ल्याउनुपर्ने उनले माग गरे । ठूलो भ्रष्टाचार काण्ड शृखलावद्ध रुपमा सार्वजनिक भइरहदा मधेशको राजधानी जनकपुरधामलगायत मधेशका नागरिक समाज वुद्धिजीवी एकदिन एकछिनका लागि सडकमा नआउनु दुखद रहेको उनले बताए । जनकपुरधाममा प्रदर्शन गर्दा उनीहरुले नक्कली भुटानी शरनार्थी भ्रष्टाचार काण्ड, वाइडबडी भ्रष्टाचार काण्ड, हुलाकी परियोजना घोटाला काण्ड, मधेश प्रदेश सरकाको साइकल वितरणमा भ्रष्टाचार काण्ड, स्वच्छता अभियानमा भएको भ्रष्टाचार काण्ड र एनसेल काण्ड लेखिएको प्लेकार्डसहित नागरिक समाजले प्रदर्शन गरेका थिए ।

प्रदर्शनमा नागरिक समाजका बालकेशर ठाकुर, विपती मण्डल, दिनेश पूर्वेलगायतले हरेक भ्रष्टाचार काण्डका निष्पक्ष छानबिन गरी दोषी जो कोही भए पनि उन्मुक्ति नदिन सरकारसंग माग गरेका थिए ।

Comment


Related News

Latest News

Trending News