अपडेट 
२०८० जेष्ठ ४, बिहीबार १७:५५

तरकारी खेतीको उन्नत प्रविधि सम्बन्धी तीनदिने तालिम जनकपुरधाममा सम्पन्न भएको छ । जनकपुरधाम उपमहानगरपालिको पशुपंक्षी शाखाको आयोजनामा पालिकास्तरीय सो तालिम सोमबारदेखि शुरु भएको थियो । नागरपालिका क्षेत्रका किसानहरुलाई नगदेबालीतर्फ आकर्षित गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको थियो । पशुपंक्षी शाखाका अनुसार जनकपुरधाम उपमहानगरपालिकाको १२,१३ तथा १४ नम्बर वडालाई अर्ध कृषि क्षेत्र राखिएकोले सो वडाहरुबाट एक/एक जना किसान तथा १५ देखि २५ नम्बर वडालाई पूर्ण खेती योग्य क्षेत्रको रुपमा राखिएको र सो वडाहरुबाट दुई/दुई जना किसानहरुलाई तालिममा सहभागिता गराइएको थियो । त्यसैगरी,तीन दिनसम्म संचालन भएको सो तालिममा कृषि ज्ञान केन्द्र धनुषाका बागबानी विकास अधिकृत प्रदीप कुमार यादव,अधिकृत राजेन्द्र प्रसाद यादव तथा भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालयका कर्मचारी अमरचन्द्र मण्डलले प्रशिक्षण दिएका थिए ।

तालिमको समापन कार्यक्रममा बोल्दै जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले तालिमको महत्व बारे धारणा व्यक्त गरेका थिए । उनले भने,‘जनकपुरधाम उपमहानगरपालिकामा कृषि क्षेत्र नै छैन भन्ने अब कसैले नभनोस।’ । तरकारी खेतीको लागि जनकपुरधाम उपमहानगरपालिकाको खेतीयोग्य जग्गाहरु प्रशस्तै रहेको बताउँदै उनले किसानहरुको दक्षता अभिवृद्धिका लागि जनकपुरधाम उपमहानगरपालिका प्रतिबद्ध रहेको बताए । मेयर साहले तालिममा सहभागी किसानहरुले बिउ बिजन,अर्गेनिक मल तथा विषाधिको प्रयोग गर्न नहुनेसहितबारे जानकारी पाएको विश्वास व्यक्त गरे । उनले सहभागी किसानहरुलाई ईंगित गर्दै आफूले सिकेको कुरा अरुलाई पनि सिकाएर नगदेबालीमा जनकपुरधामलाई नमूना पालिकाको रुपमा अगाडि बढाउन आग्रह गरे ।

Comment


Related News

Latest News

Trending News