अपडेट 
२०८० जेष्ठ ५, शुक्रबार ११:२६

राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

सङ्घीय संसद् भवन नयाँबानेश्वरमा अपराह्न ४ बजे बस्ने संयुक्त बैठकलाई उनले सम्बोधन गर्ने सङ्घीय संसद् सचिवालयले जनाएको छ।

राष्ट्रपति पौडेलले सङ्घीय संसद्को कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थिति आह्वान गर्नसक्ने संवैधानिक व्यवस्था छ। राष्ट्रपतिमा चयन भएपछि सङ्घीय संसदमा उनको यो पहिलो सम्बोधन हुन लागेको हो।

आज सङ्घीय संसदमा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्यक्रम छ। नीति तथा कार्यक्रम प्रस्तुत भएपछि आजै प्रतिनिधिसभा र राष्ट्रियसभाका बेग्लाबेग्लै बैठक बस्ने छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्को  दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति पौडेलले गर्नुभएको सम्बोधनको प्रति ती बैठकमा टेबुल गर्नेछन्। प्रतिनिधिसभामा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट भएको सम्बोधनका लागि धन्यवाद ज्ञापनसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ।

सरकारले आज पेश गर्ने नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभा र राष्ट्रियसभामा आइतबारदेखि लगातार केही दिन छलफल हुनेछ। सो छलफल समाप्त भएपछि जेठ १५ गते वार्षिक बजेट प्रस्तुत हुने संवैधानिक व्यवस्था छ।

Comment


Related News

Latest News

Trending News