अपडेट 
२०८० जेष्ठ ७, आईतवार ०६:३९

संघीय सरकारका खानेपानी मन्त्री महिन्द्र राय यादवले दिगो विकास लक्ष्य अन्तर्गत खानेपानी तथा सरसफाइको क्षेत्रलाई विशेष प्राथमिकता राखेर नेपाली जनतालाई सुरक्षित खानेपानी र सरसफाइको पहुँचमा ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मन्त्री यादव सर्लाहीको हरिपुर्वा नगरपालिका र पर्सा गाउँपालिकामा पार्टीका नेता तथा कार्यकर्ताहरुको भेटघाट र पार्टी प्रवेश कार्यक्रममा सो प्रतिबद्धता व्यक्त गरेका छन् । वृहत् पार्टी प्रवेश कार्यक्रममा मन्त्री यादवले भने, नेपालको संविधानले मौलिक हकको रुपमा स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँच तथा स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हकको व्यवस्थालाई उच्च प्राथमिकता राखेर आफूले जनताको हितमा काम गर्ने बताए । मौलिक हकको व्यवस्था र खानेपानीको शुद्धताको सवालमा कसैसंग कुनै प्रकारको सम्झौता नगरिने प्रतिबद्धतासमेत उनले जनाएका छन् । उत्पीडन र विभेदमा परेका समुदायको न्याय, अधिकार, विकास तथा स्वाभिमानको लागि हिमाल, पहाड र मधेशलाई जोड्ने पार्टी नेपाल समाजवादी पार्टी रहेको मन्त्री यादवले बताए ।

संविधान, लोकतन्त्र, पहिचान र अधिकारको रक्षा, समानुपातिक, समावेशी प्रतिनिधित्व र संविधान संशोधनका निम्ति नेसपाले राज्यसंगको लडाइ जारी राखेको मन्त्री यादवले जनाए । सत्तारुढ गठबन्धनको सरकारले संविधानमा रहेका त्रुटिहरु सच्याउने देखि देश, जनता र लोकतन्त्रको पनि रक्षा हुने मन्त्री यादवले ठोकुवा गरे । यो गठबन्धनको सरकारमा मूल्य र मान्यताको राजनीतिलाई अगाडि बढाएर देशको हितमा सबैलाई काम गर्न मन्त्री यादवले सुझावसमेत दिए । ०७९ चैत १७ गतेको मन्त्रिपरिषद् विस्तारमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा नियुक्त भएका महिन्द्र राय यादवको २०८० बैशाख २४ गते आइतबारका दिन नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम कार्यभार फेरिएर उनी खानेपानी मन्त्रीमा नियुक्त भएका थिए । मन्त्री यादव सर्लाही निर्वाचन क्षेत्र नं. २ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा सदस्य तथा नेसपाका राष्ट्रिय अध्यक्ष छन् ।

वृहत पार्टी प्रवेश कार्यक्रममा आकर्षणको केन्द्र पर्सा गाउँपालिकाका पूर्व अध्यक्ष एवं नेकपा एमाले पार्टीको तर्फबाट ०७९ सालको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा सर्लाही क्षेत्र नम्बर २ को ’क’ बाट प्रदेशसभा सदस्य पदमा चुनाव लडेका किशुन देव यादव रहेका थिए । उनी नेकपा एमाले परित्याग गरी नेसपामा प्रवेश गरेका छन् । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी सयौंको संख्यामा नेता तथा कर्याकर्ताहरु नेसपामा प्रवेश गरेका छन् । कार्यक्रममा पार्टीका जिल्ला, प्रदेश र केन्द्रिय तहका नेता तथा कार्यकर्ताहरु, नागरिक समाज, बुद्धिजीवि, कर्मचारी, कृषक वर्ग, पत्रकार र आम जनसमुदायसमेतको उपस्थिति रहेको थियो ।

Comment


Related News

Latest News

Trending News