अपडेट 
२०८० जेष्ठ ७, आईतवार १३:२२

लामो प्रतीक्षापछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण तय भएको छ । उनी आउँदो १५ गते हुने बजेट भाषण लगत्तै आफ्नो पहिलो विदेश यात्राका रूपमा भारत जाने भएका छन् ।

स्रोतका अनुसार जेठ १७ गते प्रचण्डलाई नयाँ दिल्लीमा स्वागत गर्ने विषयमा दुवै पक्षबीच लगभग सहमति भइसकेको छ । भ्रमणका क्रममा हुने वार्ता र सम्झौताका मस्यौदाहरू आदानप्रदान भइरहेको स्रोतले बतायो । ‘दुवै पक्षबाट भ्रमणको तयारी तीव्र रूपमा भइरहेको छ,’ स्रोतले भन्यो ।

प्रचण्डले हिजो एक कार्यक्रममा बोल्दै आफू चाँडै भारत जाने बताएका थिए । यो भ्रमणमा केही रेकर्ड राख्ने तयारी भएको पनि उनले दाबी गरेका छन् । कस्तो रेकर्ड भन्ने चाहिँ खुलाएका छैनन् ।

तेस्रो पटक प्रधानमन्त्री बनेदेखि प्रचण्डले भारत भ्रमणको व्यग्रता देखाउँदै आएका थिए । उनले पहिलो विदेश भ्रमण भारतबाटै सुरु गर्ने ध्येयका साथ अन्य देशका आमन्त्रणहरू अहिलेसम्म पन्छाउँदै आएका छन् । तर, भारतले औपचारिक रूपमा आमन्त्रण नगर्दा प्रचण्ड समस्यामा परेका थिए ।

प्रचण्ड सरकारको भविष्यलाई लिएर आश्वस्त हुन नसकेको भारतले उनलाई भ्रमणमा निम्त्याउन आलटाल गरिरहेको थियो ।

Comment


Related News

Latest News

Trending News