अपडेट 
२०८० जेष्ठ ८, सोमबार ०७:०२

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले एउटा चोरलाई समातेर अदालतसम्म पु¥याउने अधिकारसमेत प्रदेश सरकारसंग नरहेको बताएका छन् । प्रेस मञ्च नेपालको प्रदेश समितिले आइतबार जनकपुरधाममा आयोजना गरेको सम्मान कार्यक्रममा उनले सो कुरा बताएका छन् ।

मुलुकको राजनीति अहिले दुई ध्रुवमा तीव्र रुपमा धु्रवीकरण भइरहेको बताउँदै उनले भने,‘एकातर्फ संघीयता र गणतन्त्र जस्ता महत्वपूर्ण उललब्धिलाई समाप्त पारी पछाडि धकेल्ने प्रयास भइरहेकोछ,सो प्रयासको लागि तीव्र रुपमा धु्रवीकरण भइरहेको छ।’ मधेशकै नाउँमा बनेको केही शक्तिहरु संघीयता र गणतन्त्र विरुद्धमा परिचालन भएको भन्दै नेता यादवले संघीयता,लोकतन्त्र,गणतन्त्र,धर्म निरपेक्षता,मौलिक हक प्रेस स्वतन्त्रता जस्ता उलपब्धि मध्ये पनि संघीयता सबै भन्दा ठूलो उलपब्धि रहेको उनले प्रष्ट पारे । ‘तसर्थ संघीयतालाई संस्थागत गरी विकसित गर्दै अगाडि बढ् नुपर्ने आवश्यकता छ ।’,उनले भने,संघीयता विरोधी र संघीयता पक्षधरको दुई वटा धु्रवीकरणमा आज मुलुकको राजनीति ध्रुवीकृत भएको देखिएको छ ।’ जनता समाजवादी पार्टी संघीय गणतन्त्रलाई संस्थागत गर्न अगाडि बढ्ने पक्षधर रहेको प्रष्ट पार्दै उनले भने,‘प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्छ यस्तो कुन सरकार जसको न आफ्नो प्रहरी छ न प्रशासन छ, न त कुनै स्रोत साधन नै छ।’ संघीयता विरोधी शासकहरुले प्रदेश सरकारलाई विभिन्न रुपमा कमजोर पार्दै समाप्त पार्ने पक्षमा देखिएको बताउँदै उनले भने,‘ प्रदेशको आर्थिक स्रोतलाई कटौती गर्दै जाने विस्तारै–विस्तारै कमजोर गरेर काम गर्ने अवस्थामासमेत नछाड्ने प्रयास हुँदैछ।’ राजनीतिक स्थिरताका लागि संघीय गणतन्त्रलाई संस्थागत गर्नु आवश्यक रहेको बताउँदै संस्थागत गर्नका लागि संविधानमा रहेको त्रुटि सच्याउनुपर्ने बताए ।

नागरिकता र संघीय निजामती ऐन प्रमाणीकरण हुन नसकेको प्रति चिन्ता व्यक्त गर्दै उनले भने,‘सबभन्दा महत्वपूर्ण हो संघीय निजामती ऐन जसको अभावमा प्रदेश सरकारहरुलाई आफ्नो कर्मचारीचन्त्रको अभाव छ ।’ कुनै पनि सरकारको लागि प्रशासन,प्रहरी नभइ नहुने तत्व भएकोले प्रदेश प्रहरीको समायोजनको काम तत्काल अगाडि बढाउनुपर्ने आवश्यकता औंल्याए । संसदबाट पारित भइसकेको विधेयक प्रमाणीकरण गर्ने समय संविधानमै व्यवस्था गरिएकोले प्रमाणीकरण नगरिएकोले राष्ट्रपतिले संविधान उल्लंघन गरेको प्रष्ट भएको उनले बताए । राष्ट्रपतिले दुई–दुई पटक पारित हुँदा पनि संविधानको उल्लंघन गरेको जिकिर गर्दै अध्यक्ष यादवले भने,‘संविधानको संरक्षणको जिम्मेवारी लिएका राष्ट्रपतिले नै विगतमा संविधानको उल्लंघन गरेका छन्।’

वर्तमान राष्ट्रपति रामचन्द्र पौडेल सांसद रहेको बेला नागरिकता विधेयकको मुद्दा जोडतोडका साथ उठाएका थिए र दुबै सदनबाट दुई पटक पारित भइसकेको नागरिकता विधेयक उनले तत्काल प्रमाणीकरण गर्नुपर्ने धारणा राखे । उनले नागरिकताको अधिकारबाट वञ्चित नागरिकहरुलाई अधिकार दिनका लागि तत्काल नागरिकता विधेयक पास हुनुपर्ने जिकिर गरे । आन्तरिक स्रोत साधनमा प्रदेश सरकारको अधिकार हुनुपर्ने माग गर्दै देशको सम्पूर्ण बजेटको १४ प्रतिशत बजेट मध्ये सात वटा प्रदेशमा २÷२ प्रतिशत बजेटले के हुने भन्ने प्रश्न उनले गरे ।‘दुई प्रतिशत बजेटबाट सम्पूर्ण खर्च गरी विकास र निर्माणको काम सम्भव छैन,यसले के साबित हुन्छ भने संघसरकारमा बाध्यतावश स्वीकार गरिएकोछ,।’ संघीयता विरोधी नीति निर्माणमा सरकार चलिरहेको बताउँदै उनले भने,‘संघीयतालाई अधिकार र स्रोत सम्पन्न बनाउनुपर्ने आवश्यकता छ।’अल्पविकसित मुलुक नेपालको नाम भन्ने बित्तिक्कै म्यान पावर सप्लाई गर्ने छवि भएको मुलुकको रुपमा बद्नाम हुँदै गएको वैदेशिक रोजगारीलाई मानव व्यापारको आधुनिक रुपको संज्ञा दिए ।

दाउरा सुरुवाल लगाएर ठूल–ठूला राष्ट्रियताको भाषण दिनेहरुले आफ्नै नागरिकलाई भुटानी शरणार्थी बनाइ अमेरिका पठाउनुले अन्तर्राष्ट्रिय स्तरमा देशको छवि धुमिल भएको प्रति चिन्ता व्यक्त गर्दै अध्यक्ष यादवले भने,‘नेपालको मित्र राष्ट्र अथवा दात्री राष्ट्रहरुले विश्वास गर्न छोडिरहेको छ यसले देशमा अझै संकट आउने सम्भावना बढेर जानेछ ।’ तसर्थ अन्तर्राष्ट्रिय जगतमा नेपालको छविलाई विश्वास र सम्मान दिलाउन पनि यस प्रकारको घटनाको निष्पक्ष छानबिन हुनुपर्ने धारणा व्यक्त गर्दै उनले भने,‘ छानबिनबाट दोषी रहेकाहरुलाई कानुनको दायरामा ल्याउनुपर्छ ,यसले नेपालको छवि र अन्तर्राष्ट्रिय जगतमासमेत धुमिल भइरहेको छ।’ कार्यक्रममा मधेश प्रदेशका अर्थ मन्त्री संजय यादवले पत्रकारहरुको विश्वनीयता घट्दै गएको धारणा राख्दै पत्रकारहरुको समस्यालाई लिएर प्रदेश सरकार चिन्तित रहेको बताए । कार्यक्रममा मधेश प्रदेश सांसद रामअशिष यादव,जसपाका मधेश प्रदेश अध्यक्ष रामबाबु यादव,आम संचार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवसहितकाले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमबीच प्रेस मञ्च नेपालमा सात जना पत्रकारहरुले प्रवेश गरेका छन् । उनीहरुलाई जसपा अध्यक्ष यादवले गमछा ओढाइ मंचमा प्रवेश गराएका थिए ।

Comment


Related News

Latest News

Trending News