अपडेट 
२०८० जेष्ठ १३, शनिबार १७:३८

पूर्वराजा ज्ञानेन्द्र शाहले देशको भलो चिताएर जनताको हितमा काम गर्नुपर्ने बताएका छन्। शनिबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा बोल्दै पूर्वराजा शाहले जनताको हितमा काम गर्दै संगठित र व्यवस्थित भएर लाग्नु नै प्रजातान्त्रिक पद्धति भएको बताए।

‘देशको भलो चिताएर जनताको हितमा काम गर्नु नै सबैको राष्ट्रिय दायित्व हो। यो दायित्वमा निरन्तर संगठित र व्यवस्थित भएर लाग्नु नै प्रजातान्त्रिक पद्धति हो। लोकतन्त्र, जनतन्त्र, गणतन्त्र, समाजवाद, जनवाद, विज्ञानवाद, वैज्ञानिकवाद, भौतिकवाद आदि जे जे शब्द भने पनि मूल कुरा देश, जनता, समाज, समुदाय र समूहको सर्वोत्तम सेवा र सम्मान नै हो। विश्वव्यापी प्रचलनमा रहेको आधुनिक प्रजातन्त्रको सही अर्थ जनतालाई केन्द्रमा राखेर सुशासन र विकास नै हो,’ उनले भने।

पूर्वराजा शाहले दुई दशक लामो समय गुमाएर अभ्यास गर्दै आएको विधि व्यवस्था, शासन प्रशासन, के त्यस प्रकारले सही र सार्थक भएको छ र? भन्दै प्रश्नसमेत गरे। उनले जनताले रोजेको, जनताले खोजेको र जनताले सोचेको अनुसार जब हुँदैन तब त्यस्तो पद्धति केही समयको विकाउ मात्र हुने टिप्पणी गरे।

‘जनताले रोजेको, जनताले खोजेको र जनताले सोचेको अनुसार जब हुँदैन तब त्यस्तो पद्धति केही समयको विकाउ मात्र हुन्छ, टिकाउको हुँदैन। हामीलाई हाम्रै माटो मलिलो लाग्छ, हामीलाई हाम्रै भेषभूषा सुकिलो लाग्छ,’ उनले भने, ‘अब हामी भन्दछौं मिलऔं, हामी सबै मिलन, त्यसैले हामी भन्दछौं जुटौँ, हामी सबै एक भएर जुटौ त्यसैले हामी भन्दछौँ हामी नफुटी र परस्परमा सहकार्य गरेर विकासका निम्ति डटौं । त्यसैले फेरी पनि भन्छौ जुटौ खटौ र डटी, स्वधर्मबाट हटेर होइन त्यसमै एकजुट भएर राष्ट्रका निम्ति एक साथ अघि बढौँ।’

Comment


Related News

Latest News

Trending News